हमासले बिहीबार आठ जना बन्धक छाड्ने भएको छ।
युद्धविराम सम्झौतामा प्रत्येक सातामा बन्धक रिहा गर्ने सहमति भएपनि हमासले यो साता दुई पटक बन्धहरूलाई छाड्ने भएको हो।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको कार्यकाल सुरू भएपछि मध्यपूर्व हेर्ने उनका दूत स्टिभ विटकफ इसराइलमा छन्। बुधबार उनले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेटवार्ता गरेका थिए।
नेतन्याहूले ४ फेब्रुअरीमा अमेरिका पुगेर ट्रम्पसँग भेट्ने तय भएको छ।
यसअघि ट्रम्पले सहमतिअनुसार बन्धकमुक्त नभए हमासले त्यसको 'नारकीय परिणाम' भोग्नुपर्ने चेतावनी दिएका थिए।
त्यसको प्रभाव र बन्धकको पहिचानलाई लिएर इसराइल र हमासबीच भएको गतिरोधका कारण यो साता दुईपटक बन्धक रिहा हुन लागेको समाचार संस्था एशोसियटेड प्रेसले जनाएको छ।
हमासले बिहीबार तीन इसराइली र ५ जना थाई बन्धक रिहा गर्न लागेको एपीले जनाएको छ।
बन्धकमुक्त हुने इसराइलीहरुमा २० वर्षीया अगाम बर्गर, २० वर्षीया अर्बेल यहुद र ८० वर्षीय गडि मोस मोजेस् छन्। अगाम इसराइली सेना हुन्।
हमासले इजिप्ट र कतारी मध्यस्तकर्तामार्फत रिहा हुने बन्धकको सूची इसराइललाई दिएको छ।
बन्धकमुक्त हुने पाँच थाइ नागरिकहरूको नाम सार्वजनिक भएको छैन। यसअघि पहिलो पटक तीन महिला र दोस्रो पटक चार महिला बन्धकलाई हमासले रिहा गरेको थियो।
बिहीबारपछि शनिबार पनि बन्धकहरू रिहा हुने एपीले जनाएको छ। हमासले बन्धक रिहा गर्ने भएपछि इसराइलले पनि जेलमा रहेका प्यालेस्टिनीहरूलाई छाड्ने तयारी गरेको छ।
४२ दिनको युद्धविराममा ३३ जना बन्धकमुक्त हुनेछन्। नेपालका विपिन जोशी पनि हमासको बन्धकमा छन्। पहिलो चरणको युद्धविराममा इसराइलका नागरिकहरू छाड्ने सम्झौता भएकाले उनी पहिलै चरणमा छुट्ने सम्भावना न्यून देखिएको छ।