अबिच्युरी
२०३८ साल। काठमाडौंमा चैते स्याँठ चल्न सुरू भइसकेको थियो। पात झरेर खङ्ग्रङ्ग भएका बोटविरूवाले पालुवा हाल्न थालेका थिए।
प्रकृतिमा वसन्तको लालित्य फक्रिइरहँदा काठमाडौंमा चुनावी तापमान ह्वात्तै बढेको थियो।
२०३७ पुस १ गते तत्कालीन राजा वीरेन्द्र शाहले २०१९ सालमा जारी भएको संविधान तेस्रोपटक संशोधन गरी बालिग मताधिकारको व्यवस्था गरेका थिए। २०३७ वैशाख २० गते भएको जनमत संग्रहमा पञ्चायती व्यवस्था ५५ प्रतिशत मत प्राप्त गरी जनअनुमोदित भएको घोषणा गरिएको थियो।
त्यसको एक वर्षपछि हुन लागेको राष्ट्रिय पञ्चायत सदस्यको चुनावले रौनक बढाउने नै भयो। तर तापमान ह्वात्तै बढाउन यो मात्र कारण थिएन।
काठमाडौंमा एउटा पात्रको चर्चा चरमचुलीमा पुगेको थियो। जनजनको ओठमा झुन्डिएको थियो- उनको नाम।
उनको चर्चा उम्मेदवारी दर्तापछि झनै झाँगिएको थियो। र काठमाडौंमा उनको पक्षमा नूतन लहर पैदा हुँदै थियो।
उनी थिइन्- नानीमैयाँ दाहाल।
'काठमाडौंमा उनलाई नचिन्ने कोही थिएन। चुनावमा सिंगो काठमाडौंले उनैलाई मत घोप्ट्याउँछ कि जस्तो आभास भएको थियो। एउटा व्यक्तिका पक्षमा न भूतो न भविष्यति जसरी लहर उठेको थियो,' दाहाललाई सम्झँदै जोरपाटीका उपप्रधानपञ्च र अहिले नेपाली कांग्रेसका नेता रहेका माधव खनालले सेतोपाटीसँग भने।
जनमत संग्रहलाई आधार मान्दा त्यति बेला काठमाडौंमा २ लाख १९ हजार ९ सय ६८ मतदाता थिए। तत्कालीन राष्ट्रिय पञ्चायतमा एक सय १२ सदस्य निर्वाचित हुने र २८ जना राजाबाट मनोनीत हुने प्रबन्ध थियो।
दुई जना सदस्य निर्वाचित हुने काठमाडौंमा ७४ जना उम्मेदवार थिए। प्रतिस्पर्धामा तत्कालीन भीरकोटे राजा तारकबहादुर शाहकी छोरी कमल राणा पनि थिइन्। राणा तिनै हुन्, जो २०१६ सालको निर्वाचित पहिलो संसदमा राष्ट्रिय सभाकी उपाध्यक्ष थिइन्।
राणासहित भुवनमान सिंह, प्रयागराज सिंह सुवाल, जोगमेहर श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए। काठमाडौंमा जोगमेहर 'हेभिवेट' मानिन्थे। काठमाडौंको पूर्वी भेग साँखुका रैथाने उनको नेवार समुदायमा राम्रै प्रभाव थियो। पञ्चायतका हर्ताकर्ता भएकाले उनले मनग्गे मत पाउने आकलन हुनु अस्वाभाविक थिएन।
'राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवारका रूपमा नानीमैयाँ दाहालको आगमनपछि जोगमेहर श्रेष्ठको प्रभाव छायामा पर्यो। जताततै नानीमैयाँको मात्र नाम सुनिन थाल्यो,' खनालले भने।
उनले त्यति बेलाको निर्वाचनको माहौल पनि स्मरण गरे।
काठमाडौंको पूर्वी क्षेत्रलाई आधार बनाएर काम गरे पनि नानीमैयाँको चर्चा काँठ क्षेत्र, काठमाडौंका रैथाने समुदायमा मात्र सीमित थिएन। राजधानीलाई कर्मथलो बनाइरहेका काठमाडौं बाहिरका मानिसहरूमा पनि उनको प्रभाव फैलँदो थियो। आश्चर्यजनक ढंगले उनको व्यक्तित्व विस्तारित हुँदै थियो।
चुनावमा नानीमैयाँ दाहाल घडी चिह्न लिएर मैदानमा खडा थिइन्।
'वसन्तपुरका रिक्सा चालकहरू उनको तस्बिर र चुनाव चिह्न अंकित पोस्टर टाँगेर यात्रुहरू ओसारिरहेका हुन्थे। ठेलावालहरू पनि नानीमैयाँकै नाम जप्थे। काठमाडौंका बस चालक र सहचालकले पनि यसपटक नानीमैयाँलाई भोट दिनुपर्छ भन्दै यात्रुसँग मत मागिरहेका हुन्थे। अचम्मैको चुनावी लहर थियो त्यति बेला,' खनालले भने।
निर्वाचन परिणाम पनि त्यस्तै आयो।
२०३८ वैशाख २७ गते भएको राष्ट्रिय पञ्चायत चुनावमा नानीमैयाँ दाहाल ६५ हजार ७ सय ७७ मत ल्याएर निर्वाचित भइन्।
त्यति बेला हेभिवेट भनिएका जोगमेहर श्रेष्ठको ३० हजार पनि मत पुगेन। २९ हजारभन्दा केही बढी मत ल्याएर उनी दोस्रो भए। चर्चामा रहेका अरू उम्मेदवारमध्ये भुवनमान सिंहले १९ हजार मत ल्याए। प्रयागराज सिंह सुवालको १७ हजार र कमल राणाको १६ हजार मात्र मत आयो।
त्यसबेला धेरै मत ल्याउने दुई जना निर्वाचित हुन्थे।
'सडककी विद्रोही' ले एकाएक राष्ट्रिय पञ्चायतको बाटो तताएपछि नानीमैयाँको चर्चा अरू चुलियो। निर्वाचन परिणामपछि काठमाडौंको परिदृश्य अरू रोचक बनेको खनालले सुनाए।
उनकाअनुसार नानीमैयाँ त्यसबेला काठमाडौंको कमलाक्षी बस्थिन्। त्यहीँबाट उनले चुनाव प्रचारप्रसार गरेकी थिइन्।अत्यधिक मतले जितेपछि उनी आमासँग आशीर्वाद लिन जोरपाटीस्थित अर्याल गाउँ गएकी थिइन्। विजय जुलससहित कमलाक्षीबाट जोरपाटी जाँदा उनको स्वागतार्थ उभिएका नागरिकको भीड छिचोल्न दिनभरि नै लागेको थियो।
'त्यति मात्र कहाँ हो र! उनले उभिएर दायाँ हात उठाउँदै मतदातालाई अभिवादन गरेको तस्बिर खुबै चर्चित बनेको थियो। त्यो फोटो न्यूरोडमा फोटो स्टुडियो सञ्चालन गर्ने व्यवसायीहरूले खिचेका रहेछन्। एउटै स्टुडियोबाट १८ हजारभन्दा बढी तस्बिर बिक्री भएको व्यवसायीहरूले बताउने गरेका थिए। यस्तो चर्चित थिइन् उनी!' खनालले भने।
निर्वाचित भएको तीन महिनासम्म सगुन-मिष्ठान्न लिएर उनलाई भेट्न जानेहरूको लर्को लाग्यो। घरघरमा फोटो राखेर मतदाताले 'देवी' कै दर्जा दिएको सम्झने जोरपाटीमा अझै भेटिन्छन्।
चुनावकी रानीको उपमा!
नानीमैयाँ दाहाल पढेलेखेकी थिइनन्। प्राथमिक तहसम्म मात्र पढेको परिवारका सदस्यको जानकारीमा छ। साधारण लेखपढ मात्र भएकाले पढाइको महत्त्व उनलाई जीवनभर खट्किइरह्यो।
त्यसैले हुनुपर्छ, बाटामा केटाकेटी देख्दा पनि उनी 'स्कुल जानुपर्दैन? ठूलो मानिस हुनुपर्दैन?' भनेर सम्झाइबुझाइ गर्थिन्।
उनीहरूका अभिभावकलाई 'छोराछोरी राम्ररी पढाउनू' भन्थिन्।
'उहाँको शिक्षाप्रति ठूलो लगाव थियो। केटोकेटीलाई पढाउनुपर्छ भनिरहनुहुन्थ्यो। विशेष गरेर उहाँलाई छोरीहरूको चिन्ता थियो। छोरीहरूले पढेनन् भने साह्रै दुःख पाउँछन् भनेर भनिरहनु हुन्थ्यो। तर त्यो एजेन्डालाई व्यवस्थित ढंगले राख्न सक्नुभएन,' नाताले नानीमैयाँका भाइ पर्ने गोविन्द दाहालले भने।
साधारण साक्षर भए पनि नानीमैयाँ हुनेखाने परिवारकै हुन्। जोरपाटीमा उनको दसौं रोपनी जग्गा थियो। समाजसेवा हुँदै राजनीतिमा सक्रिय भए पनि उनले जग्गा-जमिन बेचबिखन गरिनन्। आयस्ता बेचेर अरूको उपकार गरिन्। हिंसामा परेका, न्याय-निसाफ नपाएका पीडितको पक्षमा पैरवी गरिरहिन्। उनीहरूका लागि अड्डा-अदालतदेखि अञ्चलाधीशको कार्यालयसम्म धाइन्। झगडै गर्नुपरे पनि पछि परिनन्।
'अञ्चलाधीश कार्यालयमा गएर टेबल ठोक्ने त्यति बेला उहाँ एक्लो महिला हुनुहुन्थ्यो। बहुविवाह गरेर श्रीमतीलाई दुःख दिने पुरूषहरूको त कठालै समात्नुहुन्थ्यो, कतिपयलाई पिट्नु समेत भएको दृष्टान्त छ,' दाहालले भने।
सुकुम्बासीका पक्षमा बोल्ने पनि उनी काठमाडौंकी पहिलो नेता हुन्। तिनताक बागमतीले दुःख दिइरहन्थ्यो। पहुँचवालाले न्याय पाउने, पहुँच नभएका निमुखाहरूलाई तत्कालीन प्रशासनले अनाहक दुःख दिन्थ्यो।
'प्रशासनले नियत राखेरै दुःख दिएका, हिरासतमा राखेका र जेलसमेत चलान गरेकालाई छुटाउन उहाँ रातैभरि धर्ना बस्नु हुन्थ्यो। जोरपाटीका अगुवा महिलाहरूको जुलुसै लिएर जानु हुन्थ्यो। यसरी उहाँले आफ्नो प्रभाव विस्तार गर्नुभएको हो,' दाहालले भने।
यसरी २०३८ को राष्ट्रिय पञ्चायत चुनावसम्म पुग्दा उनको प्रभाव सहरभरि फिँजिइसकेको थियो। मतदाताको ओठैपिच्छे उनको चर्चाको आँधी चलेपछि समाजले उनलाई 'चुनावकी रानी' को उपमा समेत दिएको थियो।
नानीमैयाँ संसद पसे पञ्चायतको कठालो समात्छिन्, इन्साफका लागि धरधरी रूनुपर्दैन भन्ने आशाले घडी चिह्नमा मनग्गे मत पर्यो। उनले राष्ट्रिय पञ्चायत सदस्य जितेपछि तत्कालीन गोरखापत्रले त्यही उपमा टपक्क टिप्यो। उनले हात उठाउँदै गरेको तस्बिर छाप्दै लामो आलेख नै तयार पार्यो– चुनावकी रानी!
काँठकी विद्रोही
विक्रम सम्बत् २०२० को दशकमा चाबहिलपूर्वको काँठ शिक्षादीक्षामा निकै पछाडि थियो। सुधारिएका सडक थिएनन्। आफ्नै आयस्ताले खान पुग्ने परिवार निकै कम थियो। अझ महिलाहरू दीनहीन अवस्थाबाट गुज्रिएका थिए।
'आमा घरभित्र बस्दाबस्दा कुँजिइन्' भन्दै नानीमैयाँले घरको चौघेरो नाघिन् र समाजको सान्निध्यमा पुगिन्।
त्यही बेला हो उनले समाजका बेथिति, अन्याय, अत्याचार, व्यभिचारसँग चिनापर्ची पाएको।
त्यति बेला घरको संघार काटेर बाहिर निस्कनु र सामाजिक मुद्दाहरूमा उपस्थिति जनाउनु विद्रोहकै द्योतक थियो। उनले त्यही बाटो रोजिन् र जीवनपर्यन्त फराकिलो बनाउन लागिपरिन्।
'एकपछि अर्को अन्यायसँग मुकाबिला गर्दै जाँदा उहाँ जब्बर बनिसक्नुभएको थियो। समाजमा भए-गरेका अन्याय-अत्याचारसँग जुध्दै र तिनलाई पाखा लगाउँदै जाँदा काठमाडौंको पूर्वी भेग उहाँको अनुहार देख्नेबित्तिकै तर्सिने भएको थियो,' दाहालले सुनाए।
उनी सुरूमा ग्राम विकास सेवाको स्वयंसेवी कार्यकर्ता थिइन्। त्यसले महिला उत्थानका क्षेत्रमा काम गर्थ्यो। महिलालाई सीपमूलक लगायतका तालिमको पनि प्रबन्ध गर्थ्यो।
'उहाँ साडी–चोलो र त्यसमाथि कोट लगाएर फुर्तिलो बनेर जोरपाटीको बाटो हिँड्नुहुन्थ्यो। ग्राम विकास कार्यालय गोकर्णमा थियो। त्यहाँ जान दिनकै बाटो ओहोरदोहोर गर्दागर्दै जोरपाटीवासीको मनमा नानीमैयाँले केही गर्छिन् भन्ने छाप परिसकेको थियो,' जोरपाटीका पूर्वउपप्रधानपञ्च खनालले भने।
त्यही छापका कारण उनले २०२९ सालको तत्कालीन जोरपाटी गाउँ पञ्चायतको निर्वाचनमा उपप्रधानपञ्च जितिन्।
तिनताक श्रीप्रसाद नेपाल, लक्ष्मण ढुंगाना, तोरणबहादुर सुवेदी लगायत पाँच जना उपप्रधानपञ्चका प्रत्यासी थिए। सबैलाई पाखा लगाएर निर्वाचन जितिन्। प्रधानपञ्च भने मणिराम चालिसे चुनिएका थिए।
व्यवस्थाविरोधी मतको मानक
काँठका छोरीहरूलाई नानीमैयाँ दाहाल हिँडेको बाटो हिँड्न अझै कठिन छ। अझ विवाह गरी पठाएको घर त्यागेर माइतीमै संघर्ष गर्न र विद्रोहको बाटो हिँड्न उनीहरूले पटकपटक सोच्नुपर्छ।
नानीमैयाँले भने अन्याय नसहने र त्यसविरूद्ध प्रतिरोध गर्ने बाटो खनिसकेकी छन्। छोरीहरूले यो बाटो हिँड्ने साहस गर्न सजिलो छ। नानीमैयाँ काठमाडौंका दीनहीन, सुकुम्बासी र अन्यायमा परेकाहरूको न्यायको परिचायक हो। उनले आफ्नो नाममा ट्रेडमार्क नै स्थापित गरिन्।
२०३८ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा उनले पाएको मतलाई 'व्यवस्था' को खिल्ली उडाएको रूपमा बुझ्नेहरू पनि प्रशस्तै छन्।
जोरपाटीवासीहरू यो बुझाइलाई 'अल्पज्ञान' को संज्ञा दिन्छन्।
२०३६ सालको जनमत संग्रहमा बहुदललाई योजनाबद्ध तरिकालाई हराइएको भन्दै नेपाली कांग्रेस र कम्युनिस्टहरू रूष्ट थिए। उनीहरूले राष्ट्रिय पञ्चायतलाई धराशायी बनाउन पात्रहरू नखोजेका पनि होइनन्। पुवातु चौधरी त्यस्तैमध्येका एक हुन्। झापाका साधारण किसान उनी राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए। मकवानपुरबाट रूपचन्द्र विष्ट निर्वाचित भएका थिए। उनी पञ्चायतभित्र बसेर पञ्चायतकै विरोध गर्थे।
नानीमैयाँ दाहालले व्यवस्था विरोधीहरूको मात्रै मत पाएर राष्ट्रिय पञ्चायत सदस्यको यात्रा तय गरेकी होइनन्।
'उनलाई अन्यायमा परेका, न्याय-निसाफ नपाएका र दीनदुःखीहरूले पनि साथ दिएका थिए। उनीहरूले साथ नदिएको भए कसरी प्रचण्ड बहुमत आउँथ्यो त?' दाहाल प्रश्न गर्छन्।
राष्ट्रिय पञ्चायतमा नानीमैयाँको उपस्थिति जे जसरी भए पनि उनले सदनमा दीनदुःखीकै आवाज उठाएको तत्कालीन सदस्य केशरबहादुर विष्टले बताए।
नानीमैयाँले दीनदुःखीको आवाज दीनदुःखीकै भाषा र लवजमा अभिव्यक्त गरेकाले उनी चर्चामा रहेको विष्टको भनाइ छ।
'तत्कालीन व्यवस्थाविरोधी भनिएका मानिसहरूले पञ्चायतलाई खिल्ली उडाउन र हाँसोमा परिणत गर्न पात्रहरू छनोट गर्ने क्रममा देशभरि विभिन्न किसिमका मानिस छानेका थिए। त्यही सिलसिलामा उहाँ निर्वाचित हुनुभएको हो,' विष्टले भने, 'उहाँ घागडान राजनीतिज्ञ होइन, नेतागिरी गर्दै हिँड्ने मानिस पनि होइन। सडकमा सर्वसाधारणले व्यहोरिरहेको पीर-मर्काको भाषा बोल्दै हिँड्ने मानिस हुनुहुन्थ्यो। राष्ट्रिय पञ्चायतमा पनि त्यसैगरी प्रस्तुत हुनुभयो। दीन-दुःखीकै न्यायको कुरा उठाउनुभयो।'
सडकमा मर्कामा परेकाहरूको दुःखको धुन गाउने, समस्याको पोकापन्तुरा बोकेर अड्डा अदालत धाइहिँड्ने मानिस भएकाले उनका अभिव्यक्ति अमिल्दो, ठाडो र रूखो सुनिन्थ्यो।
नानीमैयाँको त्यही शैलीलाई कतिपयले 'मुखाले', 'छुद्र' भनेर टिप्पणी गर्ने गरेको पनि उनले बताए।
हुन पनि नानीमैयाँ कुनै अमुक वादको कारखानामा हुर्किएका, प्रशिक्षणको भट्टीमा खारिएका र राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्ति थिइनन्।
'आमाले पढ्न पाइनन्, आमाले पढ्न नपाउँदा हामीले दुःख पायौं' भनेर आफ्नै बलबुतामा घरबाहिर निस्किएकी विद्रोही थिइन्। अन्यायविरूद्ध जाइलाग्दा लाग्दै उनको स्वर चर्को बन्न पुग्यो। नानीमैयाँ आइसकेपछि मै हुँ भन्ने सभ्य र ठूला राजनीतिक भाषा बोल्नेहरूलाई पछि पार्नुभयो। जनताको मर्का जनताकै आवाजमा बोल्ने स्वभावले उहाँलाई चर्चित बनायो,' उनले भने।
![nanimaiya_birendra-1739265335.jpg](https://www.setopati.com/uploads/posts/nanimaiya_birendra-1739265335.jpg)
२०३८ सालमा उनी जसरी उदाइन् र सडकका आवाज सदनसम्म पुर्याइन्, उनी राजनीतिमा त्यसैगरी ओझेल परिन्।
२०४३ सालमा पनि उनी काठमाडौंबाट उम्मेदवार बनेकी थिइन्। तर त्यो निर्वाचनमा उनको जमानत पनि जोगिएन। जम्मा ४ हजार मत प्राप्त गरिन्। यो चुनावमा जनपक्षीय उम्मेदवार भनेर चिनिएका पद्मरत्न तुलाधर र विमलमान सिंह श्रेष्ठ निर्वाचित भएका थिए।
२०४६ सालमा बहुदलीय व्यवस्था लागू भएपछि पुराना पञ्चहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरे। 'घुस्याहा, भुस्याहाहरूको पार्टीमा जान्नँ' भनेर उनी राप्रपामा पनि लागिनन्।
जीवनभर समाजसेवामै आफूलाई समर्पित गरेकी नानीमैयाँको जीवनको उत्तरार्द्ध भने निकै कष्टप्रद रह्यो। उनका छोराछोरी थिएनन्। बहिनी-ज्वाइँ र छोरालाई घरमा ल्याएर राखेकी थिइन् र आफ्नौ श्रीसम्पत्तिको अंशियार बनाएकी थिइन्।
तिनै बहिनीका छोराको पनि कोभिड कालमा निधन भएपछि उनी परित्यक्ताजस्तै बनेकी थिइन्। आफ्नो दुःख बिसाउने मानिस कोही नभएपछि चिया पसल र चौतारीमा गथासो सुनाउँदै हिँड्ने गरेकी थिइन्।
उनै नानीमैयाँको सोमबार ९२ वर्ष उमेरमा काठमाडौंको दिर्घायु अस्पतालमा निधन भयो। उच्च रक्तचापसम्बन्धी रोगबाट पीडित रहेकी उनलाई सोमबार पक्षघात देखिएको थियो। तत्काल अस्पताल पुर्याएर केही बेर उपचार गरेपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
नानीमैयाँको सोमबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।
'आफ्नो जीवन नै समाजसेवामा खर्चिएकी दिदीको गुमनाम मृत्यु भयो। उहाँको प्रारब्ध नै यस्तो रहेछ,' उनका भाइ गोविन्द दाहालले भने।
***