आणविक हतियार बनाउन नदिन इसराइलले आगामी महिनाहरूमा इरानमाथि हमलाको प्रयास गर्ने अमेरिकी गुप्तचर संस्थाहरूले प्रक्षेपण गरेका छन्।
पछिल्ला महिनामा कमजोर भएको इरानले जतिसक्दो छिटो आणविक हतियार बनाउन प्रयास गर्नेछ भनेर इसराइल मात्रै नभएर अमेरिकाको पनि अनुमान छ।
नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तुलनात्मक रूपमा अघिल्ला राष्ट्रपति जो बाइडेन भन्दा इरानप्रति आक्रामक भए पनि उनको इच्छा भने भरसक वार्ता गरेर इरानको आणविक हतियार कार्यक्रम रोक्नु भएको मानिन्छ।
तर इसराइलले भने इरानको आणविक हतियार कार्यक्रमलाई केही महिनाले पछि धकेल्नका लागि इरानमाथि आक्रमण गर्ने योजना बनाइरहेको भनेर अमेरिकी पत्रिका द वाल स्ट्रीट जर्नलले लेखेको छ।
बाइडेन सरकारको अन्त्यतिर र ट्रम्प सरकारले सत्ता सम्हालेको सुरूका दिनहरूको सूचनाहरूको विश्लेषणका आधारमा अमेरिकी खुफिया संस्थाहरूले त्यस्तो आकलन गरेका हुन्।
अमेरिकाकै द वासिङ्गटन पोस्ट पत्रिकाले पनि अमेरिकी सेना प्रमुखको खुफिया सूचनासम्बन्धी निर्देशनालयले जनवरीको अन्त्यमा जारी गरेको प्रतिवेदनले पनि त्यस्तो आकलन गरेको लेखेको छ। सो प्रतिवेदनका अनुसार सन् २०२५ को पहिलो ६ महिनाभित्र इसराइलले इरानको फर्दो र नतान्जमा रहेका आणविक हतियार कार्यक्रमस्थलमा हमलाको प्रयास गर्नेछ।
सिमाना नजोडिए पनि इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकी देशहरूमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ।
असद वंशले राज गरेको सिरियाको भूमि पनि हिजबुल्लाहलाई हतियार दिन र हमासलाई समर्थन गर्न इरानले प्रयोग गर्दै आएको थियो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को कुर्दस् फोर्सले इसराइल र अमेरिकाविरूद्ध बनाएको विदेशी समूहहरूको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेजिस्टेन्स' भनिन्छ।
इरान आफैले इसराइलमा प्रहार गर्दैन थियो। आफूले चलाएका विभिन्न विदेशी समूहहरूलाई आक्रमण गर्न लगाउँथ्यो। इसराइलले पनि बेला बेला इरानी आणविक वैज्ञानिकको हत्या गर्ने, ह्याक गरेर आणविक भट्टीहरूमा नोक्सान पुर्याउने र विदेशमा रहेका इरानी सैनिकलाई मार्ने गरे पनि प्रत्यक्ष रूपमा इरानी भूमिमा हमला गर्दैनथ्यो।
इरानले दिएको धेरै अत्याधुनिक हतियारले सुसज्जित हिजबुल्लाह इसराइलको उत्तरी सीमामा तरबार जसरी झुण्डिरहेकाले इसराइल इरानमाथि प्रत्यक्ष आक्रमण गर्न डराउँथ्यो।
यसरी दशकौं देखिको इरान-इसराइलको छाया-युद्धमा इरानले परिचालन गर्ने हमासले २०२३ अक्टोबर ७ मा इसराइलमाथि हमला गरेपछि भने परिवर्तन भयो।
हमासले शासन गर्ने गजामा इसराइलले जबाफी हमला गरेपछि युद्ध विस्तार हुँदै अहिले मध्यपूर्वको स्थिति धेरै फेरिएको छ।
इसराइलले अहिले लेबननमा हिजबुल्लाह र गजाको हमासलाई धरासायी पारेको छ। इरानभित्रै पनि आक्रमण गरेर उसका ‘एअर डिफेन्स सिस्टम ध्वस्त’ पारेको छ। सिरियामा बशर-अल असदको सत्ता पनि ढलिसकेको छ।
त्यसैले इरान अहिले धेरै कमजोर छ। असद वंशको सासन ढलेपछि सिरियाको भूमि प्रयोग गर्न नपाउने भएकाले हिजबुल्लाह र हमासलाई हतियार दिएर बलियो बनाउन पनि मुश्किल पर्नेछ।
यस्तो अवस्थामा इसराइललाई रोक्ने इरानी उपाय केही नभएकाले उसले आफ्नो सुरक्षाका लागि आणविक हतियार बनाउन प्रयास गर्ने अनुमान गरिन्छ। इसराइलले भने 'एक्सिस अफ रेजिस्टेन्स' ध्वस्त भएको र इरानको ‘एअर डिफेन्स सिस्टम’ पनि आफूले ध्वस्त पारेकाले इरानमाथि हमला गर्ने योभन्दा उपयुक्त समय अरू नहुने हिसाब गरेको छ।
त्यसैले भरसक ट्रम्पको सहमतिमा अमेरिकाको सहभागितासहित, नभए आफैले मात्रै भए पनि इरानमाथि हमला गर्न लागेको हुनसक्छ।
इरानले आणविक भट्टीका लागि पहाड र जमिनको धेरै मुनि बलिया संरचना बनाएको छ। यसमा धेरै नोक्सान पुर्याउन सक्ने शक्तिशाली बम अमेरिकासँग मात्रै छ। इसराइललाई दिने गरेको त्यस्ता संरचनामा प्रहार गर्नका लागि बनाइएको अलिक कम शक्तिशाली बमको आपूर्ति बाइडेनले आफ्नो कार्यकालको अन्त्यतिर रोकेका थिए। ट्रम्पले अहिले त्यस्ता बम इसराइललाई दिन थालिसकेका छन्।
तर पनि ट्रम्पको पहिलो रोजाइ वार्ता गरेर इरानको आणविक हतियार कार्यक्रम रोक्ने रहेको मानिन्छ।
ट्रम्पको पहिलो कार्यकालभन्दा अघिका राष्ट्रपति बाराक ओबामाले केही नगरी नोबेल पुरस्कार पाएको, आफूले भने मध्यपूर्वमा 'अब्राहम' सम्झौता गराउँदा पनि नपाएको भनेर उनले अहिलेसम्म गुनासो गर्छन्।
त्यसैले नोबेल पुरस्कार पाउनकै लागि पनि उनले इरानसँग सम्झौता गरेर मध्यपूर्वमा स्थायी शान्ति स्थापना गर्न चाहन्छन् भनिन्छ।
इरानले पनि अहिले कमजोर भएको बेलामा वार्ता गर्न तयार रहेको संकेत गरिरहेको छ। यस्तोमा उनले इसराइललाई इरानमाथि आक्रमण गर्नबाट रोक्न सक्नेछन्। तर उनका शर्तहरू इरानले नमानेमा भने इसराइलसँगै लागेर इरानका आणविक भट्टीहरूमा प्रहार गर्न पनि सक्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)