नेकपा एमालेले पार्टी राजनीतिको मञ्चमा विभिन्न प्रयोग गर्छ। पार्टी महाधिवेशनमा आकर्षक मञ्च तयार पार्छ। त्यस्ता मञ्च दर्शकको दृष्टि पुग्ने, अत्याधुनिक मात्रै होइन साजसज्जा पनि सबैको आँखा पर्ने खालका हुन्छन्।
विशेषतः एमालेले 'सौन्दर्यचेत' पाँचौं महाधिवेशन यता यस्तै मञ्च र तिनमा प्रयोग हुने सामग्रीमा झल्किँदै आएको छ। यति मात्र होइन, पछिल्लो समय पार्टीका कार्यक्रमहरूमा पनि फरक प्रयोग गरिरहेको छ।
पार्टीका कार्यक्रममा महँगा ब्याजको सट्टामा प्रमुख, विशिष्ट, विशेष अतिथि लेखिएको पीपलको पात प्रयोग गर्ने, खादा-मालाको सट्टा रूद्राक्षको माला प्रयोग गर्ने, खादामा पनि ढाकाको कपडा प्रयोग गर्ने जस्ता क्रियाकलापमार्फत् आफूलाई फरक र 'प्रयोगधर्मी' देखाउन खोजिरहेको थियो।
एमालेको शुक्रबारको कार्यक्रममा यस्तै फरकपन देखियो।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल एमालेको लोगो (सूर्य) अंकित ढाका टोपीमा देखिए।
महासचिव पोखरेल मात्रै होइन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतम लगायत मञ्चमा बसेका नेताहरूले गाढा कलेजी ढाकामा रातो सूर्यको बुट्टा भएको टोपी लगाएका थिए।
दर्शकदीर्घामा रहेकाहरू नेताहरू पनि यस्तै टोपीमा देखिएपछि हामीले उक्त विभागका सचिव सञ्जीव रोक्कालाई यसबारे सोध्यौं।
रोक्काले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने सोचअनुरूप पार्टीको चुनाव चिह्न (सूर्य) अंकित ढाका टोपी प्रचलनमा ल्याउने अभ्यास सुरू गरेको बताए।
उनले यस्तो टोपी पहिलो पटक बनाएर प्रयोगमा ल्याइएको बताए। आगामी दिनमा संस्कृतिकै रूपमा अवलम्बन गरिने र यसले स्वदेशी उद्यमशीलतालाई हौसला मिल्ने पनि बताए।
'हामी देशभित्रकै उत्पादनलाई प्रवर्द्धन गर्न खोजिरहेका छौं। पार्टीका औपचारिक मञ्चहरूमा स्वदेशी उत्पादन प्रयोग गरियो भने यसको सन्देश बृहत् हुँदो रहेछ। अरूले पनि छिट्टै अनुशरण गर्ने र उद्यमशीलता विस्तार हुने रहेछ,' यसअघि एमालेनिकट प्रगतिशील इन्जिनियर्स एसोसिएसनका सदस्य समेत रहेका रोक्काले भने।
यसअघि गरेका कार्यक्रममा खादा–मालाको सट्टा रूद्राक्षको माला प्रचलनमा ल्याएको उनले बताए।
'पार्टीका नियमित, आवधिक कार्यक्रममा खादा–मालामा धेरै खर्च हुन्छ। त्यसमा पनि हामी आयातित वस्तु, सामग्री प्रयोग गरिरहेका हुन्छौं। त्यसको सट्टा स्वदेशमै उत्पादित, घरेलु सामग्रीलाई प्रयोगमा किन नल्याउने त भनेर थालनी गरेका हौं,' उनले भने।
यसपटक प्रयोग स्वरूप नै पार्टीको चुनाव चिह्नअंकित ढाकाको टोपीको नयाँ प्रयोग सुरू गरेको उनले बताए।
यसले पार्टीको चुनाव चिह्न र स्वदेशी उद्यमशीलता दुवै प्रवर्द्धन हुने उनको भनाइ छ।
'हामीले यस्तो ढाका टोपी पहिलो पटक सुरू गरेका हौं। पार्टी महासचिव लगायत मञ्चमा रहनुभएका नेताहरूले प्रशंसा गर्नुभयो। अहिले पार्टीका अरू नेता–कार्यकर्ताले पनि यसबारे चासो देखाएर कति पर्दो रहेछ, कहाँ बनाउनुभयो भनेर सोधिरहनुभएको छ,' उनले भने।
रोक्काका अनुसार ढाकाको कपडाको थान किनेर विभागले नै टोपी तयार पारेको हो। पहिलो पटक यस्तो टोपी प्रयोगमा ल्याइएकाले यसपालि ३० वटा तयार पारिएको हो।
'हामीले थान कपडा किन्यौं। त्यपछि बालाजुमा रहनुभएका पार्टीकै साथीलाई सिलाइदिन भन्यौं,' उनले भने, 'यसपालि हामीले पार्टीकै साथीहरूमार्फत् टोपी तयार पारेका छौं।'
उनले पार्टीको चुनाव चिह्नअंकित लोगो प्रिन्ट गरेकाले केही सस्तो परेको बताए। लोगोसहितको टोपी तयार पार्न साढे चार सय रूपैयाँ लागेको पनि बताए।
'धागाको सहायताले सूर्य चिह्न भएको बुट्टा बनाउने हो भने अलि महँगो पर्दो रहेछ। त्यसरी टोपी तयार पार्न एक हजार दुई सय रूपैयाँ पर्दो रहेछ। धेरै परिमाणमा तयार पार्दा केही सस्तो पनि पर्नसक्छ,' उनले भने।
रोक्काले अब एमालेको सूर्यअंकित टोपीलाई पहिचानकै रूपमा अघि बढाइने बताए।
'पार्टीकै साथीहरूले ढाका बुन्नुहुन्छ। उहाँले बुनेको कपडामा लोगो राखेर टोपी बनाउने हो भने उद्यमशीलता प्रवर्द्धन हुन्छ,' उनले भने।
