समाचार टिप्पणी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आजकाल देश दौडाहामा छन्। दिनदिनैजसो नयाँ नयाँ ठाउँमा भाषण गर्छन्।
उनका भाषणहरूमा आजकाल एउटा कुरा प्रायः दोहोरिन्छ— अब हामी कसैसँग गठबन्धन गर्दैनौं, आफ्नै बलमा चुनाव लडेर बहुमत ल्याउँछौं।
पछिल्ला दिनहरूमा उनले अर्को कुरा पनि थप्न थालेका छन्— आगामी चुनावमा कांग्रेस-एमाले गठबन्धन गरेर आउँछन् तर हामी डराउँदैनौं!
शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, 'अहिले कांग्रेस र एमालेको गठबन्धन छ। उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु– उनीहरू मिलून्।'
प्रचण्डले अब माओवादी एक्लै चुनावमा जाने कुरा पोखरामा पनि दोहोर्याए।
उनले भने, 'हामी एक्लै जनतामा जान्छौं। हामी जनताको तागतमा विश्वास गर्छौं। जनतालाई मेरो अपील छ– तपाईंहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्।'
ठूलो आत्मविश्वासको भाका बोलिरहेका प्रचण्डको राजनीतिक तागत चाहिँ कति छ?
अर्थात्, कांग्रेस-एमालेलाई गठबन्धन गरेर आउनू भन्ने चुनौती दिने प्रचण्डका राजनीतिक खुट्टा चाहिँ कति बलिया छन्?
आउने चुनावमा मतदाताले के चाहन्छन् भन्ने अहिले नै अनुमान गर्न कठिन हुन्छ। नयाँ राजनीतिक दलहरूबारे त झनै अनुमान गर्न कठिन हुन्छ, जसरी २०६४ सालमा माओवादीबारे अनुमान गर्न कठिन भयो।
पुरानै नेताले नेतृत्व गरेका पुराना राजनीतिक दलहरूको निर्वाचन परिणाम एउटा र अर्को चुनावबीच बिरलै आनका तान फरक पर्छ। त्यसैले कुनै खास राजनीतिक दलको तागत कति छ भनेर हेर्ने एउटा उपाय पछिल्ला केही निर्वाचनमा उसले ल्याएको परिणाम नै हो।
एक पटकको चुनाव परिणामले पनि धेरै कुरा संकेत गर्न सक्दैन। तर विगतका तीन-चार चुनावका परिणामले भने पक्कै धेरै कुराको संकेत गर्छन्।
मूलधारको राजनीतिमा आएपछि माओवादी केन्द्रले चार पटक निर्वाचन लडिसकेको छ।
हेरौं, उसले यी निर्वाचनहरूमा पाएको मत परिणामको 'ट्रेन्ड' कस्तो छ।
२०६४ सालमा नेकपा माओवादीले प्रत्यक्ष चुनावतर्फ २४० सिटमध्ये १२० सिट जितेको थियो। तर २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा पुग्दा यो दल २५ सिटमा खुम्चियो।
२०७४ र २०७९ सालमा माओवादीले एमाले र कांग्रेससँग गठबन्धन गरेर प्रत्यक्षमा ३२ र १८ सिट जित्यो। खासमा उसले आफ्नै तागतमा त्यति सिट जितेको थिएन। एक्लाएक्लै लडेको भए प्रत्यक्षतर्फ कति सिट जित्थ्यो होला?
त्यसको बलियो अनुमान गर्ने एउटा राम्रो आधार हो— सो दलले समानुपातिकतर्फ कति निर्वाचन क्षेत्रमा पहिलो स्थान ल्यायो?
माओवादी २०७४ सालमा जम्मा ९ निर्वाचन क्षेत्रमा मात्र समानुपातिकतर्फ पहिलो नम्बरको दल बनेको थियो। २०७९ सालमा त्यो अझ घट्यो र ६ निर्वाचन क्षेत्रमा मात्र प्रथम भयो।
माओवादी केन्द्रको 'पपुलर मत' पनि लगातार घट्दै गएको छ। २०६४ सालमा झन्डै २९ प्रतिशत ल्याएको उक्त दलको पपुलर मत प्रत्येक निर्वाचनमा लगातार खुम्चिँदै गत निर्वाचनमा १२ प्रतिशतभन्दा तल झरेको छ।
तर गठबन्धनको राजनीतिले प्रचण्ड र उनको दलमाथि जनताको घट्दो जनविश्वासलाई पछिल्ला दुई निर्वाचनमा ढाकछोप गर्यो। संसदमा कांग्रेस र एमालेबीच खेल्ने सिट उनलाई प्राप्त भयो। त्यसलाई नै उनले आफ्नो शक्ति ठाने। पछिल्लो पटक त 'म्याजिक नम्बर' आफूसँग छ भन्दै त्यसको छडी कांग्रेस र एमालेमाथि चलाए।
जबकि उनको दलको लोकप्रियता मात्र होइन, उनको आफ्नै लोकप्रियता पनि लगातार घटेको छ। यहाँसम्म कि, उनको सुरक्षित निर्वाचन क्षेत्र पनि छैन।
शेरबहादुर देउवा र केपी ओली झापा र डडेल्धुराका आफ्ना निर्वाचन क्षेत्रमा २०४८ सालदेखि नै स्थिर र कायम छन्। प्रचण्ड भने सुरूदेखि नै आफूले जित्ने निर्वाचन क्षेत्र खोज्दै र बदल्दै हिँडेका छन्। २०७९ सालको चुनावमा बाबुराम भट्टराईको टेको समातेर चितवनबाट गोरखा सरे। २०८४ सालको चुनावमा रूकुम वा रोल्पा बाहेकबाट उनले लड्ने सुरक्षित निर्वाचन क्षेत्र देखिएको छैन!
कांग्रेस-एमाले अरू कुनै दलसँग गठबन्धन नगर्ने दिशामा अघि बढेपछि मात्रै प्रचण्डले 'अब हामी कसैसँग गठबन्धन गर्दैनौं, आफ्नै बलमा चुनाव लडेर बहुमत ल्याउँछौं' भन्न थालेका हुन्। कांग्रेस-एमालेको अरूदलसँग गठबन्धन नगर्ने नीतिसँगै माओवादी केन्द्र र स्वयं प्रचण्डको राजनीतिक भविष्य संकटमा परेको छ।
प्रचण्ड अहिले त्यही संकट टार्न प्रयत्नरत छन्। त्यसका लागि उनले आफूलाई 'आत्मविश्वासी' देखाउनुपर्ने छ। नत्र पार्टीभित्र थप आस मार्छन्, बाहिरकाले थप हेला गर्छन्।
बाहिर आफू जतिसुकै आत्मविश्वासी देखाए पनि भित्रभित्र प्रचण्डलाई आसन्न संकटको अनुमान छ। त्यसैले उनको प्रयत्न स-साना कम्युनिस्ट घटक जोडेर भए पनि केही बलियो राजनीतिक शक्ति बनाउनेमा छ।
त्यसका लागि उनी प्रयत्नरत् छन्, तर सफलता पाउन भने सकेका छैनन्।
उदाहरणका लागि, उनले आफूसँगै माओवादी युद्ध लडेका नेत्रविक्रम चन्द 'विप्लव' लाई पनि पार्टी एकताका लागि फकाउन सकेका छैनन्। माओवादी केन्द्रको राजनीतिक खुट्टी धेरै नै लुलो भइसकेको थाहा पाएका चन्द त्यस्तो एकताबाट आफूलाई फाइदा नहुने निष्कर्षमा पुगेको देखिन्छ।
प्रचण्डले एकताको प्रस्ताव नेकपा एकीकृत समाजवादीसँग पनि अघि बढाएका थिए। २०७९ असारमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता हुने चर्चा शिखरमा थियो। त्यति बेला नै पार्टी एकता गर्ने भन्दै नेताहरूले कार्यदल बनाउने र २०७९ को मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि दुई पार्टीबीच एकीकरण गर्ने नेताहरूले बताउँदै आएका थिए।
माओवादी केन्द्रले नेताहरू देव गुरूङ र वर्षमान पुन तथा एकीकृत समाजवादी केन्द्रले बेदुराम भुसाल र प्रमेश हमाल सदस्य रहेको कार्यदल बनाएका थिए। त्यस बेला यी दुई पार्टीका नेताहरूबीच एकताबारे बाक्लै कुराकानी हुने गर्थ्यो। तर चुनावमा यी दुई पार्टीले एकता गरेनन्। बरू नेपाली कांग्रेस सहितका पार्टीसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गरे।
त्यसयता पनि यी दुई पार्टीबीच एकता हुने विषय बेलाबेला चर्चामा आयो र त्यत्तिकै सेलायो पनि। एक वर्षयता यी दुई पार्टीहरूबीच एकताको कुराकानी ठप्पप्रायः छ।
तर पनि माओवादीहरूले एकीकृत समाजवादीसँग एकता हुने कुरा सार्वजनिक रूपमा गर्न छाडेका छैनन्। आफ्नो हैसियत उकास्न र निराश कार्यकर्ताको हौसला बढाउन यो पनि सहयोगी हुन्छ भन्ने उनीहरूलाई थाहा छ।
गत फागुन १ गते खोटाङ पुगेका बेला माओवादीका उपमहासचिव वर्षमान पुनले एकीकृत समाजवादीसँग छिट्टै पार्टी एकता हुन सक्ने बताए।
'एकीकृत समाजवादीसँग हाम्रो कार्यनीतिक रूपमा धेरै कुरा मिल्छ। ढिलोचाँडो हामी एकै ठाउँमा हुने सम्भावना छ,' उनले भने, 'युद्ध गर्ने होइन, शान्तिपूर्ण प्रतिस्पर्धाबाटै जान तयार भए वैद्यजी (मोहन वैद्य), विप्लवजीहरूसँग पनि एकता हुन्छ। हिजो सँगै लडेका र जनयुद्धको विरासत बोकेका सबै समूहसँग एकताका लागि हामी खुला छौं।'
उपमहासचिव पुनले एकीकृत समाजवादीसँग पनि एकता हुने अभिव्यक्ति दिए पनि नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष बेदुराम भुसालले सेतोपाटीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुन नसक्ने बताए। त्यसको सम्भावनाहरूको चर्चा पनि सेलाइसकेको उनको दाबी छ।
'उहाँहरू र हाम्रा बीचमा धेरै कुरा मिल्दैन। हामी अहिले हाम्रै पार्टी बलियो बनाउने गरी लागेका छौं,' भुसालले भने, 'एक वर्षभन्दा धेरै भयो होला दुई पार्टीबीच एकताको चर्चासमेत भएको छैन।'
भुसालले पार्टी एकताका लागि यसअघि बनाइएको कार्यदल पनि क्रियाशील नरहेको बताए।
'हामीले पार्टी एकता हुन सक्दैन भन्ने निष्कर्ष निकालेरै समाजवादी मोर्चामार्फत गतिविधि गर्ने निर्णय गरेका हौं,' उनले भने।
कहिले एकीकृत समाजवादीको माओवादीसँग त कहिले एमालेसँग एकता हुने भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रमको पछि नलाग्न समाजवादीका नेता-कार्यकर्तालाई अध्यक्ष माधव नेपालले सचेत गराएका छन्।
उसको घट्दो लोकप्रियताबीच माओवादी पार्टीसँग एकता गरेर चुनावमा फाइदा हुन्छ भन्नेमा साना वामपन्थी घटकहरुमा विश्वास देखिन्न। त्यसैले उनीहरुले माओवादी पार्टीसँगको एकता वार्तालाई टार्दै आएका छन्।
यसरी एकातिर आफ्नो दल र आफ्नो नेतृत्वको लोकप्रियताको घट्दो ग्राफ र अरू स-साना वामपन्थी दलहरूसँग पनि एकताको सम्भावना क्षीण बन्दै गएपछि प्रचण्डका खुट्टा झनै लुला देखिएका छन्।
तिनै लुला खट्टामा उभिएर प्रचण्डले ठूला-ठूला भाषण भने गरिरहेका छन्! दुई ठूला दललाई ठूला हाँक दिइरहेका छन्।