अमेरिका र युक्रेन खनिज सम्झौतामा सहमति नजिक पुगेका छन्।
रूसविरुद्धको युद्धमा अमेरिकाले हालसम्म गर्दै आएको सहायता र त्यस्तो सहायता आगामी दिनहरूमा पनि जारी राख्नका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको आधा खनिजको स्वामित्व अमेरिकालाई दिनुपर्न सर्त राखेका थिए।
त्यो सर्तमा दुवै देश सहमति नजिक पुगेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले समाचार लेखेको छ।
ट्रम्पले ह्वाइट हाउसमा दुई देश उक्त सम्झौताको नजिक पुगेको र यसबाट अमेरिकाले अर्बौं डलर पाउने बताएका छन्।
हामी सम्झौताको नजिक पुगेका छौं,' ट्रम्पले भनेका छन्, ' यसबाट ५ सय अर्ब डलर अमेरिका भित्रनेछ। यो सम्झौता चाँडै नै टुंगोमा पुग्नेछ।'
युक्रेनको आधा खनिजमा अमेरिकालाई दिनुपर्ने प्रस्ताव सुरूमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ठाडै अस्वीकार गरिदिएका थिए।
ट्रम्पका वित्तमन्त्री स्कट बेसेन्टले किभ भ्रमणका क्रममा जेलेन्स्कीसँगको भेटमा उक्त प्रस्ताव राखेका थिए। जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूसँग छलफल गरी त्यसको जबाफ दिने भनेका थिए।
पछि म्युनिख सुरक्षा सम्मेलनमा उनले अमेरिकाको उक्त प्रस्ताव स्वीकार गर्न नसक्ने बताएका थिए। त्यतिबेला उनले किभको सुरक्षा ज्ञारेन्टी अमेरिकाले नगरेको भन्दै प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका थिए।
पछि युक्रेनलाई बाइपास गरेर ट्रम्पले युक्रेनमै जारी युद्ध रोक्ने विषयमा रूससँग वार्ता अघि बढाएका थिए।
यसले किभ र युरोपेली मुलुकहरूहरूमा ट्रम्पले रूसलाई फाइदा हुनेगरी सम्झौता गर्न सक्नेछन् भनेर संशय पैदा भएको थियो।
त्यसपछि युरोपेली नेताहरुले जेलेन्स्कीलाई सम्झौता गर्न दबाब दिएको न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ। उनीहरूले युद्धग्रस्त युक्रेनलाई नभई अमेरिकाले रूसको पक्ष लिन सक्ने खतराबारे जेलेन्स्कीलाई सचेत गराएका थिए।
जेलेन्स्कीले अमेरिकाको प्रस्ताव अस्वीकार गरेपछि पछिल्ला दिनमा ट्रम्पले उनीमाथि दवाब बढाएका थिए। उनले रूसले नभई युक्रेन र जेलेन्स्कीले युद्ध सुरू गरेको सार्वजनिक रुपमा आरोप लगाए्। शुक्रबार फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा पनि उनले युद्ध सुरू हुनुमा रूस दोषी छ भन्ने सुन्दा सुन्दा दिक्क भएको बताएका थिए। उनले त्यतिबेला जेलेन्स्की र जो बाइडेनको कमजोरीका कारण युद्ध सुरू भएको अन्तर्वार्तामा भनेका छन्।
त्यस्तै युक्रेनलाई युद्धमा सघाइरहेका युरोपेलीहरूले फाइदा लुटेको तर युरोपेलीभन्दा २०० अर्ब डलर बढी सहायता गरेको अमेरिकाले अहिलेसम्म केही नपाएको र आगामी दिनहरुमा पनि केही नपाउने निश्चित रहेको बताएका थिए।
ट्रम्पले जे पनि गर्न सक्छन् भन्ने आकलन गरेर युरोपेली सहयोगीहरुको सुझावमा जेलेन्स्की खनिज सम्झौता गर्न तयार भएका हुन्।
उनले दुई देशबीच हुने सम्झौताको मस्यौदा भइरहेको जानकारी दिएका छन्। यसले दुई देशबीच पछिल्लो समय उत्पन्न तनाव कम गर्ने विश्वास पनि जेलेन्स्कीले व्यक्त गरेका छन्।
‘यसले दुई देशको सम्बन्धलाई जोड्ने काम गर्नेछ। मस्यौदा सही तरिकाले बन्नुपर्छ र त्यसले साँच्चिकै काम गर्नेछ भन्ने सुनिश्चित हुनुपर्छ,’ जेलेन्स्कीले भनेका छन्।
पछिल्लो समय ट्रम्प जेलेन्स्कीमाथि व्यक्तिगत रूपमै विरोधमा उत्रिएका छन्।
उनले जेलेन्स्कीलाई निर्वाचन बेगरको तानाशाह र मामूली कमेडियन भनेका थिए। ट्रम्पको उक्त भनाइको युरोपेली मुलुकहरूले आपत्ति जनाएका थिए।
उनले रूस युक्रेन युद्ध अन्त्यका लागि सुरू गरेको वार्तामा पनि लेनदेनलाई नै प्रमुख हतियार बनाएको न्युयोर्क टाइम्सले जनाएको छ।
खनिजको स्वामित्वको विषयमा युक्रेनी अधिकारीहरूले अमेरिकी प्रस्तावको ब्रिफिङमा खनिज पदार्थमा मात्रै नभई अरू प्राकृतिक स्रोत, तेल र ग्यासमा पनि स्वामित्व खोजिएको बताएका छन्। ती अधिकारीले युक्रेनबाट अन्य मुलुकमा हुने निकासीबाट हुने आम्दानीको आधा हिस्सासमेत अमेरिकाले मागेको बताएका थिए।
रूससँगको युद्धपछि युक्रेनले प्राकृतिक स्रोतबाट हुने पूरै आम्दानी देशको सुरक्षामा खर्च गरिरहेको छ। अमेरिकाको प्रस्ताव स्विकार गर्दा सुरक्षामा युक्रेनले गर्दै आएको खर्च घट्ने छ।
प्रस्ताव अस्वीकार गरे अमेरिकाले युक्रेनलाई रूससँगको युद्धमा गर्दै आएको सैन्य र आर्थिक सहायता रोकिन सक्ने चुनौती पनि रहेको बताइएको छ। युरोपेली मुलुकहरूले ह्वाइट हाउसको उक्त प्रस्तावबारे आपत्ति जनाएका छन्।
किभ स्कुल अफ इकोनोमिक्सले संकलन गरेको सूचीअनुसार, तेल र प्राकृतिक ग्यास क्षेत्रहरूबाहेक युक्रेनमा टाइटेनियम, लिथियम र युरेनियमसहित १०९ वटा महत्त्वपूर्ण खनिज भण्डारहरू छन्।
४ फेब्रुअरीमा ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्प आफैले पनि युक्रेनलाई भविष्यमा सहयोग जारी राख्न त्यस्ता खनिज पदार्थहरुमा पहुँच दिनुपर्ने बताएका थिए।
'हामी युक्रेनसँग सम्झौता गर्ने प्रयासमा छौं। उसले त्यहाँ रहेका दुर्लभ खनिजहरूमा स्वामित्व दिएर अमेरिकी सहायता जारी रहने परिस्थितलाई सुरक्षित गर्नेछ,' ट्रम्पले भनेका थिए।
ट्रम्पले युक्रेनमा भएका ती दुर्लभ खनिजहरूको सुरक्षा महत्त्वपूर्ण हुने बताएका थिए।
'उनीहरूसँग महत्त्वपूर्ण र दुर्लभ खनिज छ। हामी त्यसको सुरक्षा चाहन्छौं र युक्रेन त्यसका लागि तयार हुनेछ,' ट्रम्पले भनेका थिए।
आधुनिक प्रविधि विकासका लागि चाहिने ती दुर्लभ खनिज पदार्थ अमेरिकालाई अहिले प्राय: चीनले आपूर्ति गर्छ।
अमेरिकासँगको बढ्दो प्रतिस्पर्धाका कारण चीन र रूसले यी दुर्लभ पदार्थको निर्यातमा रोक लगाए भने अमेरिका लगायत पश्चिमा मुलुकलाई मुस्किल पर्न सक्छ।
यसले आधुनिक हतियारदेखि आर्टिफिसियल इन्टेलिजेन्स लगायत प्रविधि र सर्वसाधारणले प्रयोग गर्ने उपभोग्य वस्तु उत्पादनमा समेत प्रभाव पर्न सक्छ। त्यस्तो सम्भावनाबारे अवगत रहेका ट्रम्पले युक्रेनसँग त्यस्तो सम्झौताको प्रयास गरेका हुन्।