नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले सामाजिक ‘लफंगा’हरूले गणतन्त्रमाथि प्रश्न उठाए पनि त्यो टाट उल्टिएको जमिनदारले आफ्ना पुराना दिन सम्झिएर गरेको रुवावासीजस्तै भएको टिप्पणी गरेका छन्।
दोस्रो केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै उनले सामाजिक ‘लफंगा’को प्रश्नले तात्विक रूपमा कुनै असर नपार्ने बताएका हुन्।
‘अहिले केहीकेही सामाजिक लफङ्गाहरू भन्ने गरेको छु मैले, उनीहरूले गणतन्त्रमाथि प्रश्न उठाए पनि त्यो टाट उल्टिएको जमिनदारले आफ्ना पुराना दिन सम्झिएर गरेको रुवावासीजस्तै हो,’ उनले भने, ‘त्यसले इतिहासको गतिमा, राष्ट्रको भविष्यमा तात्त्विक रूपका कुनै असर पार्नेछैन।’
तर फेरि पनि गणतन्त्रको व्यवस्थापन, गणतान्त्रिक राजनीतिको, गणतान्त्रिक पार्टीहरूको दायित्व भएको पनि उनले बताए।
‘यो दायित्वबाट उनीहरू मुक्त हुन सक्दैनन्। यसको हिसाबकिताब दिने कुराबाट उनीहरू मुक्त हुन सक्दनैनन्। उनीहरू पन्छिन सक्दैनन्,’ उनले भने।