राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरि ढकालले २०४७ सालपछि सरकारमा रहेकाको पार्टी सभापति रवि लामिछानेको झैं सम्पत्ति शुद्धीकरणमा छानबिन गर्ने हो भने टाउको लुकाउने ठाउँ नभेटिने टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै ढकालले भ्रष्टाचारविरूद्ध आवाज उठाउन २०७९ को निर्वाचनले जग बसालेको बताए।
उनले संसदीय छानबिन समितिले सहकारीबाट रकम ल्याउन सभापति लामिछानेको संलग्नता छैन भन्दाभन्दै सम्पत्ति शुद्धीकरण, सहकारी ठगी अभियोगमा छानबिन गरिएको पनि बताए।
‘संसदीय छानबिन समितिको प्रतिवेदन सांसदहरूले अध्ययन गर्नुभएको छैन जस्तो लाग्यो। ४५९ नम्बर पेज पढ्नुहोला। ऋण लिनमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता छैन भनेको छ। गोरखा मिडियामा आएको रकम परिचालन गर्ने सन्दर्भमा त्यहाँ कारबाही गर्नु भनिएको छ। कारबाही पनि प्रचलित कानुनअनुसार भनिएको छ। प्रचलित कानुन भनिएको कम्पनी ऐन २०६३ अन्तर्गत हो मानननीयज्यूहरू, कसरी के कारणले मुद्दा लगाइयो? कतै सम्पत्ति शुद्धीकरण, कतै ठगी यो के? म उहाँहरूपट्टिका (सत्तापक्ष) लाई, २०४७ साल यताका लाई अलिकति हाम्रो पार्टी सभापतिजसरी होइन, अलिकति, अनुसन्धान प्रक्रियामा ल्याऊँ त, तपाईंहरूको यो देशमा टाउको लुकाउने ठाउँ छैन,’ उनले भने।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले माइक समात्नेबित्तिकै म भ्रष्टाचार गर्दिन भन्ने गरेको उल्लेख गर्दै सांसद ढकालले उनकै पालामा सुशासनमा नेपालको अवस्था कमजोर बनेको बताए।
‘प्रधानमन्त्रीज्यू सार्वजनिक कार्यक्रममा माइक समात्नेबित्तिकै म भ्रष्टाचार गर्दिनँ भन्नुहुन्छ। म केही तथ्यांक प्रस्तुत गर्न चाहन्छु। भ्रष्टाचार अवधारणा सूचकांक २०२३ सार्वजनिक भयो। ट्रान्परेन्सी इन्टरनेशनलले सूची प्रकाशन गरेको छ। डेनमार्क ९० अंकसहित कम भ्रष्टाचार हुने देश छ। हाम्रो ३५ अंक छ। नेपालको सन् २०१५ मा २७ अंक, २०१६ मा २८ अंक, २०१७ मा ३१ अंक २०१९ मा ३४, २०२० मा ३३, २०२१ मा ३३ अंक थियो। औसत अंक पनि प्राप्त गरेको छैन। यी वर्षमा सरकार सञ्चालक को थियो। भ्रष्टाचार गर्न दिन्नँ, भएको रहेछ त!,’ उनले भने।
प्रधानमन्त्रीओलीले भ्रष्टाचारसम्बन्धी उजुरीको चाङमा बसेर विधिको कुरा गरिरहेको पनि ढकालले टिप्पणी गरे।