पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रियता बढाएकी छिन्।
२०७९ फागुन २९ गते दुई कार्यकाल राष्ट्रपति व्यतीत गरेर भंगालस्थित आफ्नै निवास फर्किएकी भण्डारी केही समय मौन बसिन्।
पार्टी एवम् राजनीतिक मञ्चहरूमा उपस्थिति देखाइनन्।
बिस्तारै नेकपा (एमाले) फर्कने बाटो खोजिरहेकी भण्डारीले राजनीतिक सक्रियता बढाउन थालेकी छिन्।
गत पुसमा पोखरा पुगेकी उनले त्यहाँ राजनीतिक भेटघाट गरिन्। पोखरामा पुस ४ र ५ गते ‘फेवा संवाद’ आयोजना गरिएको थियो। त्यसमा सहभागी हुन उनी पुसको २ गते नै पोखरा पुगेकी थिइन्।
त्यसमा उनले एमालेका केन्द्रीयदेखि प्रदेशस्तरीय नेतासँग भेटघाट गरिन्। भेटघाटका सन्दर्भमा पार्टीको अवस्था, कार्यकर्ताहरूको मनोदशाबारे उनले चासो राखेको एमालेका नेताहरूले बताएका छन्।
यद्यपि उनले त्यहाँ मुख खोलेर राजनीतिमा फर्कने चाहना भने व्यक्त गरिनन्।
गण्डकी भ्रमणको एक महिनापछि कोशी प्रदेश पुगेकी भण्डारीले त्यहाँ पनि राजनीतिक भेटवार्तामा समय बिताइन्।
इटहरीमा रहेको जनता माविको ६८ औंको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन कोशी प्रदेश गएकी भण्डारीले आफ्ना पुराना सहकर्मीदेखि पार्टीका नेताहरूसँग छलफल गरिन्। त्यसो त उनलाई भेट्न कोशीका एकीकृत समाजवादीका नेताहरू पुगेका थिए।
त्यहाँ उनले आफू राजनीतिक व्यक्ति नै भएको तर अहिले नै पार्टीमा फर्कने, नफर्कनेबारे निर्णय गरिनसकेको आशय व्यक्त गरिन्। तर भण्डारी पार्टीमै फर्कनेबारे सार्वजनिक रूपमै प्रकट भइरहेको विचार, धारणा र विमर्शहरूप्रति भने विमति जनाइनन्।
‘दलीय राजनीतिमा लागेर अब पद जिम्मेवारी लिने कि नलिने भन्नेमा अहिले म प्रवेश गरिसकेको छैन। भोलि कुन दलमा काम गर्ने भन्ने कुरा आउँछ होला, म नेकपा एमालेबाट आएर जन्मिएर, हुर्किएर यो ठाउँमा पुगेको हुनाले जाँदाखेरि त्यहीँ नै कुरा हुन्छ।
‘त्योचाहिँ छलफलको चरणमा प्रवेश गरेको छैन। यो तपाईंहरूजस्तो केही राजनीतिमा चासो राख्ने साथीहरूको छलफलको विषय, समाजको छलफलको विषय भएकोजस्तो मलाई लाग्छ। मेरो चाहिँ छलफलको विषय भएको छैन। त्यो समय आइसकेको छैन,’ उनले भनिन्।
एक साता कोशीमा बिताएर फर्किएकी भण्डारी अब लुम्बिनी र मधेस प्रदेश जाँदैछिन्। लुम्बिनी र मधेस प्रदेश जाने निश्चित भए पनि दिन भने तय भइनसकेको उनका सहयोगी राजकुमार राईले जानकारी दिए।
‘उहाँ लुम्बिनी र मधेस प्रदेश जाँदै हुनुहुन्छ। दिन भने तय भइसकेको छैन। छिट्टै यी दुई प्रदेश जानुहुन्छ,’ उनले भने।
केही कार्यक्रमहरूमा सरिक हुन त्यता जान लागेको उनले बताए। भण्डारीको सचिवालयले यसलाई राजनीतिक सक्रियताकै अर्थमा बुझ्न नहुने बताउँदै आएका छन्।
‘उहाँले राजनीतिमा फर्किन्छु भन्नु भएको पनि छैन। नफर्कने कुरा पनि छैन,’ राईले भने।
नेकपा (एमाले) नेता कृष्ण दाहालले भने यसलाई राजनीतिक सक्रियताकै रूपमा बुझ्नुपर्ने बताए। भण्डारीले पार्टीको नेता–कार्यकर्तासँग अन्तरसंवाद, छलफल गरिरहेकाले लुम्बिनी र मधेस भ्रमणलाई पनि त्यही अर्थमा बुझ्नुपर्ने उनले बताए।
‘यो राजनीतिक भ्रमण नै हो। यसलाई त्यही रूपमा बुझ्नुपर्छ,’ उनले भने।
उनले पार्टीमा नीतिगत रूपमै समस्या देखिएकाले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सक्रियता बढाएको बताए। दाहालले एमालेको मूल नीति जनताको बहुदलीय जनवाद (जबज) लाई कार्यान्वयन गर्ने सन्दर्भमा पार्टीभित्र समस्या देखिएको बताए।
‘अहिले पार्टीभित्र नीतिमै समस्या छ। जबजको दृष्टिकोण, मूल्य, मान्यताको कार्यान्वयनमै समस्या देखिएपछि पार्टीमा समस्या हुने नै भयो। कार्यशैलीमा पनि केही प्रश्न उठ्ने भयो। त्यही कारण उहाँ सक्रिय हुन खोज्नुभएको हो,’ उनले भने।
उनले विद्या भण्डारीको सक्रियताले एमालेभित्र ध्रुवीकरण बढ्ने सम्भावना पनि देखाए। अहिले एमालेभित्र अध्यक्ष ओलीलाई ‘क्रस’ गर्न सक्ने व्यक्तित्व नदेखिएकाले ध्रुवीकरण नभएको बताए।
‘जब उहाँलाई क्रस गर्न सक्ने कोही देखापर्छ, त्यसपछि ध्रुवीकरण देखापर्छ। एमालेभित्र नसोचेको ध्रुवीकरणको सम्भावना देखेको छु,’ उनले भने।
उनले भण्डारीको सक्रियतालाई पार्टी नेतृत्वले नरूचाइरहेको पनि बताए।
एमालेका नेताहरू मदन भण्डारी फाउन्डेसनको सक्रियता बढेको बताउँछन्। भण्डारीले फाउन्डेसनका गतिविधिमार्फत् सक्रियता बढाइरहेको उनीहरूको बुझाइ छ।
‘हिजो त्यही फाउन्डेसनको सक्रियताले केपी ओली पार्टी सत्तामा पुग्नुभयो। आज फेरि फाउन्डेसन सक्रिय छ भने त्यसलाई राजनीतिक रूपमै बुझ्नुपर्छ,’ एमालेका एक नेताले भने।
तर फाउन्डेसनका केन्द्रीय सदस्य मिलन धरेलले संस्थाले मदन भण्डारीका विचार र दृष्टिकोणबारे विमर्श, छलफल चलाउने, जर्नल प्रकाशित गर्नेबाहेक थप गतिविधि नभएको बताए।
उनले चैत, वैशाखभित्र फाउन्डेसनका जिल्ला भेला, सम्मेलनहरू हुने जानकारी दिए। फाउन्डेसनको अहिले ५५ जिल्लामा कमिटी छ। केही जिल्लामा पालिका तहसम्म कमिटी बनेका छन्।
फाउन्डेसनको अध्यक्ष नेकपा (एमाले) ले नै तोक्ने गरेको छ। पार्टीले महेन्द्र पाण्डेलाई अध्यक्ष तोकेको थियो। पाण्डे निजी कामले मुलुक बाहिर रहेकाले अहिले उषाकिरण भण्डारी कार्यवाहक अध्यक्ष छिन्। उनी विद्या भण्डारीकी छोरी पनि हुन्।
त्यस्तै, सचिव सन्तोष रावल पनि मुलुक बाहिर नै भएकाले डेगेन्द्र पाण्डे कार्यबाहक तोकिएका छन्।