प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्दैछन्।
कार्यव्यवस्था परामर्श समितिको सोमबार बसेको बैठकमा प्रतिपक्षी दल नेता प्रचण्ड बोल्ने कार्यसूची राख्ने तय भएको थियो।
संसदमा प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री र प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दल नेता उपस्थित हुने सामान्य अभ्यास हो।
तर मंगलबार पनि प्रधानमन्त्री केपी शर्मा ओली भने प्रतिनिधि सभा बैठकमा उपस्थित हुने छैनन्। प्रधानमन्त्री ओली मंगलबार कोशी जाने कार्यक्रम छ।
प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ। सोही समयमा प्रधानमन्त्री ओली कोशी प्रदेश जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।
‘प्रधानमन्त्रीले कोशी प्रदेशलाई सम्बोधन गर्ने कार्यक्रम छ। उहाँ मंगलबार दिउँसो १ बजे विराटनगर जाने कार्यक्रम तय भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो।
यसअघि माघ २४ गते प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डले प्रतिनिधि सभामा बोल्दा प्रधानमन्त्री अनुपस्थित थिए। त्यतिबेला प्रचण्डले प्रधानमन्त्री बैठकमा नदेखिएको भन्दै रोस्टमबाटै असन्तुष्टि जनाएका थिए।
‘संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी नेता उपस्थित रहने र प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने परम्परा छ। मलाई प्रधानमन्त्री आउँदै हुनुहुन्छ होला भन्ने लागेको थियो। तर अहिलेसम्म आउनुभएन,’ उनले भनेका थिए।
त्यतिबेला प्रधानमन्त्रीको सचिवालयले औपचारिक जानकारी प्राप्त नभएकाले उनी अनुपस्थित रहेको बताएका थिए।
मंगलबारको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने कार्यसूची छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।