स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस, नेकपा (एमाले) का नेताबाट लोकतन्त्रलाई खतरा रहेको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले राजावादी देखाएर कांग्रेस र एमालेले देश लुटिरहेको आरोप लगाए।
‘नेपाली जनता लोकतन्त्रप्रेमी रहन्छ, लोकतन्त्रप्रेमी रहन्छ। लोकतन्त्रको नाउँमा नेतातन्त्र जुन चलिरहेछ, त्यसको विरूद्ध आवाज उठाउँछन्। नेपालमा आजको दिनमा लोकतन्त्र छैन, नेतातन्त्र छ। नेताहरूको संरक्षणमा सम्पूर्ण बिचौलिया र भ्रष्टाचारीहरू संरक्षित छन्,’ उनले भने।
त्रिभुवन विश्वविद्यालयमा राजावादीले गएर रेक्टरको कुर्सी तोडेका हुन् कि, कांग्रेस-एमालेका कार्यकर्ताले भन्दै उनले प्रश्न गरे।
‘अहिले भर्खरै एउटा महामन्त्रीको उपदेश सुन्दैथिएँ। उहाँ दक्षिण भारतीय फिल्मको शैलीमा दुई–चार सय गाडी लिएर कहिले वीरगञ्ज पुग्नुभएको छ। कहिले सिमरा त कहिले सिन्धुली पुग्नुहुन्छ। त्यो लोकतन्त्र हो? बिचौलिया, दलाल र तस्करले मात्रै दुई सयवटा गाडीको व्यवस्था गर्नसक्छ। कुनै नेपाली जनताले गर्न सक्दैन! लोकतन्त्रलाई खतरा यस्ता महामन्त्रीबाट छ!,’ उनले भने।
जनताले कुलमानलाई दुःख दिने, त्रिभुवन विश्वविद्यालयको जग्गा कब्जा गर्ने? ललिता निवासको जग्गा कब्जा गर्ने? भनेर सोधिरहेको पनि उनले बताए।
लोकतन्त्रको नाममा १८ वर्ष जोजो विभिन्न पदमा पुगे उनीहरू नै रक्षामा उत्रनुपर्ने उनले बताए।
‘हामी त लोकतन्त्रको रक्षाका लागि लास्ट लाइन अफ् डिफेन्स हो। न हामीले जनता लुटेका छौं न लुट्नेवाला छौं! जसले लुटेर अर्ती उपदेश दिइराख्नुभएको छ। आज फेरि राजावादी देखाएर देश लुट्न पाइँदैन। तपाईंहरूले देश लुट्नुभयो। देशको २६ खर्ब ऋण बढाइदिनुभयो। त्यसकारण लोकतन्त्र खतरामा छ भने कांग्रेस एमालेको नेताबाट छ, जनताबाट छैन। नेपालको जनता जहिले लोकतन्त्रको पक्षमा छ,’ उनले आरोप लगाए।
विगतका दिनमा कांग्रेस, एमालेले बहुदल मासेको पनि आरोप लगाए।
‘हिजोको दिनमा कांग्रेस, एमालेले बहुदल खाएकै हो, आज गणतन्त्र खानै लागेको हो। यो यथार्थ हो। २०६१ माघ १९ अगाडि कसको सरकार थियो? कांग्रेस एमालेको होइन? बहुदलको अन्तिम श्राद्ध माघ १९ को दिन भएको हो। आज पनि गणतन्त्रको श्राद्ध नगरिदिनुस्, जनताको पक्षमा काम गरिदिनुस्,’ उनले भने।