अर्बपति व्यापारी इलन मस्कलाई मे महिनापछि डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (डोज) बाट हटाउन डेमोक्र्याटिक पार्टीका प्रतिनिधिसभा सांसदहरूले पहल सुरू गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट रहेर राजनीतिमा होमिएका कारण ठूलो आर्थिक नोक्सानी हुन थालेपछि मस्क आफैले पनि मेपछि डोज छाड्ने भनेका छन्।
यसबीच ट्रम्पले आफ्ना मन्त्री र सल्लाहकारहरूलाई मे महिनापछि मस्कले डोज छाड्ने जानकारी गराएको भनेर समाचारहरू आएका छन्।
उनी मेपछि पनि डोज प्रमुख रहिरहने सम्भावना कम गर्न ७० जना डेमोक्र्याटिक पार्टीका संघीय सांसदले ट्रम्पलाई पत्र लेखेको अमेरिकी अनलाइन एक्सियसले उल्लेख गरेको छ।
मस्क जस्ता विशेष सरकारी कर्मचारी भनेर नियुक्त गरिएका अधिकारीले १३० दिनभन्दा बढी काम गर्न नपाउने कानुनी प्रावधान छ। उक्त प्रावधान औंल्याउँदै उनीहरूले मस्कले मे ३० सम्म राजीनामा दिनेछन् भनेर घोषणा गर्न ट्रम्पलाई आग्रह गरेका हुन्।
पछिल्लो समय ट्रम्पले कानुन मात्र नभएर संविधानकै पालना गरिरहेका छैनन्। यस्तो बेला पूर्वराष्ट्रपति जो बाइडेन सरकारले जारी गरेको एउटा सूचनाका आधारमा उनले मे महिनापछि मस्कलाई काम गर्न देलान् भनेर ती डेमोक्र्याटिक सांसदहरूले पत्र लेखेको मानिन्छ।
बाइडेन सरकारले गत वर्ष जारी गरेको सूचनाले विशेष सरकारी कर्मचारीले वेतन नलिई भ्रमण गरेका दिनहरू १३० दिनमा नगनिने जनाएको थियो। त्यसैलाई आधार बनाएर मस्कको कार्यकाल लम्बिएला भन्ने डेमोक्र्याटिक नेताहरूलाई चिन्ता छ।
पछिल्ला दिनमा मस्कले ट्रम्पले सुरू गरेको भन्सार युद्धको सार्वजनिक विरोध गरेका छन्। उनले सबै देशलाई भन्सार लगाउने नीतिको विरोध गरेका हुन्। त्यस्तै, उच्च भन्सार महसुल लगाउन सल्लाह दिने ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोलाई आफ्नो सामाजिक सञ्जाल एक्समा गालीगलौज पनि गरेका छन्।
मस्कले सार्वजनिक रूपमै ट्रम्पको नीतिको विरोध गरे पनि ट्रम्प उनीसँग नरिसाएको मानिन्छ।
गत बिहीबार मन्त्रिपरिषद बैठकमा ट्रम्पले मस्क र उनको डोज टोलीको तारिफ गरेको समाचार आएका छन्। उक्त बैठकमा डोजका कर्मचारीले राम्रो काम गरेको भन्दै उनीहरू लामो समय रहने आशा ट्रम्पले व्यक्त गरेका थिए।
जनवरी २० मा दोस्रो कार्यकाल सुरू गरेका ट्रम्पले मस्कलाई डोज प्रमुख बनाउँदा खर्च कटौतीका लागि १३० दिनको सीमा तोकेका थिए। यसको मतलब उनको कार्यकाल मेको अन्त्यमा समाप्त हुन्छ।
मस्कले ट्रम्पलाई चुनाव जिताउन २५ करोड डलरभन्दा बढी खर्च गरेका थिए। उनले एक्सलाई पनि ट्रम्पको समर्थनमा परिचालन गरेका थिए। मस्कको यही गुन तिर्न ट्रम्पले उनलाई डोज प्रमुखमा नियुक्त गरेका हुन्।
ट्रम्पको मन्त्री चयनदेखि विदेशी सरकार प्रमुखहरूसँगको छलफलमा पनि मस्क सहभागी भएका थिए। चुनावअघि नै ट्रम्पले सरकारी सेवा चुस्त बनाउन मस्कको नेतृत्वमा एउटा निकाय बनाउने घोषणा गरेका थिए।
चुनाव जितेपछि नोभेम्बरमै उक्त विभाग घोषणा गर्दा मस्क त्यसको प्रमुख हुने भनेर खुलाएका थिए। उक्त विभागले युएसएआइडी लगायत धेरै अमेरिकी सरकारी कार्यालयमा आतंक मच्चाएको छ। हजारौं सरकारी कर्मचारीलाई निष्कासन गरेको छ भने अर्बौं डलरको सरकारी बजेट रोकेको छ।
त्यसैले अहिले डोज र मस्कविरूद्ध धेरै मुद्दा परेका छन्। यसरी ट्रम्पलाई समर्थन गर्दै र उनको शासनमा संलग्न हुँदै अमेरिका र युरोपको राजनीतिमा समेत हस्तक्षेप गर्न थालेपछि मस्कलाई आर्थिक नोक्सानी समेत हुन थालेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)