चीनसहित विश्वका प्राय:जसो सबै देशसँग युद्ध छेडेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्रै हार्वर्ड विश्वविद्यालयविरूद्ध पनि युद्ध छेडेका छन्।
हार्वर्डले उनले भने अनुसार प्रशासन र विद्यार्थी अनुशासन कायम गर्न सुधार नथालेको भनेर ट्रम्पले युद्ध छेडेका हुन्।
संघीय सरकारले दिने दुई अर्ब २० करोड डलरभन्दा बढी रोक्का मात्रै नगरेर उनले हार्वर्ड विश्वविद्यालयलाई दिइएको कर छुट बन्द गरेर उसको आम्दानीमा कर लगाउने धम्की समेत दिएका छन्।
यसका साथै हार्वर्डले कथित यहूदी विरोधी भावनाको सामना गर्न चासो नदेखाएको र उदारवादी राजनीति गरेको भन्दै ट्रम्पले धावा बोलेका छन्।
'यदि हार्वर्डले राजनीतिक, वैचारिक र आतंकवादी प्रेरित/समर्थन गर्ने 'रोग' लाई प्रोत्साहन गरिरह्यो भने सायद उसले कर-मुक्त स्थिति गुमाउनु पर्छ र राजनीतिक संस्थाको रूपमा कर तिर्नुपर्छ? याद राख्नुस्, कर-मुक्त स्थिति पूर्ण रूपमा सार्वजनिक हितमा काम गर्ने शर्तमा निर्भर हुन्छ!,' ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्।
ट्रम्पको प्रशासनले केही हप्ताअघि हार्वर्ड विश्वविद्यालयलाई संघीय सरकारले दिने नौ अर्ब डलरसम्म रोकिने गरी त्यहाँ रहेको कथित यहूदी विरोधी भावनाको सामना गर्न अपनाइरहेको उपायहरूको समीक्षा सुरू गरेको थियो।
संघीय सरकार अन्तर्गतका निकायहरूले 'हार्वर्ड विश्वविद्यालय र यसका सम्बद्ध संस्थाहरूमा संघीय सम्झौता र अनुदानहरूको व्यापक समीक्षा' सुरू भएको बताएका थिए।
शिक्षा मन्त्री लिन्डा म्याकमहोनले एक विज्ञप्ति निकाल्दै 'हार्वर्डले क्याम्पसमा विद्यार्थीहरूलाई यहूदी विरोधी भेदभावबाट जोगाउन असफल भएको र स्वतन्त्र शिक्षाभन्दा विभाजनकारी विचारधारालाई प्रोत्साहन दिँदा यसको प्रतिष्ठा गम्भीर संकटमा परेको' भनेकी थिइन्।
'सरकारले सम्बन्धित सम्झौता गर्ने निकायहरूसँग सहकार्य गरेर रोक्का आदेश जारी गर्नुपर्ने कि नपर्ने मूल्यांकन गर्नेछ,' उनले थपेकी थिइन्।
सो समीक्षाले २५ करोड ६० लाख डलरका सम्झौता र आठ अर्ब ७० करोड डलरको बहुवर्षीय अनुदान प्रतिबद्धताहरू समेट्ने जानकारी उनले दिएकी थिइन्।
विश्वविद्यालयले नागरिक अधिकारबारे जिम्मेवारी लगायत संघीय नियमहरूको पालना गरेको छ कि छैन भनेर समीक्षा गरिने उनले बताएकी थिइन्।
हार्वर्डले ट्रम्पको कोपभाजनबाट बच्न हालै केही कदम चाले पनि सरकारले समीक्षा सुरू गरेको थियो।
ट्रम्पले भने जसरी विश्वविद्यालय चलाउन नमानेपछि उनले हार्वर्डमाथि हमला गरेका हुन्।
ट्रम्प सरकार र रिपब्लिकन पार्टीले अमेरिकाका प्रख्यात विश्वविद्यालयहरूमा उग्र उदारवादीहरू हावी भएको र पछिल्ला वर्षमा फरक विचारलाई निषेध गरिएको भनेर निरन्तर आक्रमण गरिरहेका छन्।
ती विश्वविद्यालयहरूमा प्यालेस्टिनीको समर्थनमा भएका इसराइल विरोधी प्रदर्शनमा सहभागी विदेशी विद्यार्थीलाई ट्रम्प सरकारले देश निकाला गरिरहेको छ।
कोलम्बिया विश्वविद्यालयलाई संघीय सरकारले दिने ४० करोड डलर रोक्ने ट्रम्पले धम्की दिएपछि हालै उक्त विश्वविद्यालयका उनका कैयौं मागहरू मानेको थियो।
कोलम्बिया मात्रै नभएर ६० वटा विश्वविद्यालयलाई त्यहाँ रहेको भनिएको यहूदी विरोधी भावनाको सम्बोधन नगरे संघीय अनुदान रोक्ने ट्रम्प सरकारले धम्की दिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)