रूस र युक्रेनको युद्धको फाइदा उठाउँदै भारतले हतियार निर्यात बढाउन नीति बनाउन थालेको छ।
रूसले २०२२ फेब्रुअरीमा युक्रेनमाथि हमला गरेपछि धेरैजसो अमेरिकी हतियार अमेरिका र युरोपेली देशले युक्रेनलाई दिइरहेका छन्। त्यस्तै रूसले पनि आफ्ना हतियार युक्रेनसँगको युद्धमा खपत गरिरहेको छ। आफ्ना हतियारले मात्रै नपुगेर रूसले त झन् इरान र उत्तर कोरियासँग पनि हतियार र गोलाबारूद किनिरहेको छ।
यसरी विश्वका दुई प्रमुख हतियार निर्माताहरूको उत्पादन रूस र युक्रेनको युद्धमा खपत भइरहेकाले अरू देशले चाहे जति हतियार किन्न सकिरहेका छैनन्। त्यसैले उनीहरूलाई हतियार बेच्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योजना बनाएका छन्।
छिमेकमा चीन र पाकिस्तानसँग राम्रो सम्बन्ध नभएकाले भारतलाई दुवै तर्फबाट खतरा छ। त्यसैले भारतले आफूले हतियार बनाउने मात्रै नभएर ठूलो परिमाणमा हतियार किन्छ। पछिल्ला वर्षमा रूससँग युद्ध लडिरहेको युक्रेनपछि भारत दोस्रो ठूलो हतियार खरिदकर्ता बनेको छ।
यस्तो स्थितिमा चीन र अमेरिकाको कटुताको फाइदा उठाउँदै आइफोन र औषधिहरू भारतमा उत्पादन गर्न थाले जस्तै रूस र युक्रेनको युद्धको फाइदा उठाउँदै हतियार बनाएर बेच्नेमा भारतले ध्यान केन्द्रित गर्न थालेको छ।
आफ्ना हतियार बिकाउन मोदीले सरकारद्वारा सञ्चालित एक्जिम बैंकबाट खरिदकर्तालाई ऋण दिएर भए पनि हतियार बेच्ने नीति अपनाएको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ। त्यस्तै आफ्ना हतियारको बजार विस्तार गर्नका लागि अरू देशमा रहेका भारतीय नियोगमा रहने रक्षा अधिकारीको संख्या पनि भारतले उल्लेख्य रूपमा बढाउन लागेको छ।
रूस र युक्रेनको युद्धको कारण अमेरिकी हतियारको व्यापारमा व्यापक वृद्धि भएको छ।
स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानले (सिप्री) गत फागुनमा जारी गरेको प्रतिवेदन अनुसार सन् २०२० देखि २०२४ सम्मको पाँच वर्षमा अमेरिकाको हतियार निर्यात अघिल्लो पाँच वर्षको तुलनामा २० प्रतिशतभन्दा धेरैले बढेको छ।
रूसले २०२२ फेब्रुअरीमा युक्रेनमाथि हमला गरेका कारणले पछिल्लो पाँच वर्षमा अन्तर्राष्ट्रिय हतियार व्यापारको ४३ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको भनेर सिप्रीको प्रतिवेदनलाई उद्दृत गर्दै विभिन्न पश्चिमा मिडियाले लेखेका थिए।
रूससँग लड्न अमेरिकाले आफ्ना हतियार दिएको र युरोपेली देशहरूले पनि धेरैजसो अमेरिकी हतियार नै किनेर दिएकाले अमेरिकी हतियारको व्यापार बढेको हो।
त्यस्तै, अरू बेलाको विश्वको दोस्रो ठूलो हतियार निर्यातकर्ता रूसको सबै हतियार युक्रेनमाथि प्रहार गर्न नै खर्चेको कारण पनि रूसले अरू देशलाई हतियार बेच्न पाएन। त्यसैले पनि अमेरिकी हतियारको व्यापार हिस्सा यो अवधिमा बढेको हो।
तर अमेरिकी हतियारको ठूलो हिस्सा रूस-युक्रेन युद्धमा खर्च भइरहेको र युद्ध लडिरहेको रूसले पनि हतियार बेच्न नसकेकाले बजारमा हतियारको पर्याप्त उपलब्धता छैन। त्यसैले भारतले हतियार व्यापार बढाउने नीति अंगालेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)