नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (माअोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई अर्ली चुनाव (मध्यावधि) माग्न सुझाव दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्ट्याटस लेख्दै ज्ञवालीले आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरूले ‘अर्ली चुनाव’ माग्ने तर कतिबेला सरकार ढल्ला र कुँदिहालौंला नभन्ने बताएका हुन्।
‘हङ पार्लियामेन्टभित्र संख्या जुटाउनेले सरकार बनाउँछन्। यसलाई असाध्यै धेरै सैद्धान्तिकरण गर्नु वाञ्छनीय हुँदैन। निःसन्देह, आफूले बनाउने समीकरणबाट सम्बन्धित पार्टीहरूले आफ्ना लक्ष्य र उद्देश्यहरू हासिल गर्ने अधिकतम कोसिस गर्छन्,’ उनले भनेका छन्, ‘यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरुले ‘अर्लि चुनाव’ माग्छन्, कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन्।’
प्रचण्डले एमाले–कांग्रेस सहकार्यलाई दुई तिहाईको होइन, ‘षडयन्त्रको सरकार’ भन्न भ्याएको बताउँदै २०७४ सालमा कांग्रेससँग सरकारमा रहँदारहँदै एमालेसँग वाम तालमेल गर्नु पनि एकदमै ‘नैतिक’ थियो भन्दै कटाक्ष गरेका छन्।
‘नेकपाको दुई तिहाइको सरकार ढालेर नेपाली कांग्रेसलाई सत्तामा पुर्याउन अदालतमा हालिएको मुद्दा पनि ‘सैद्धान्तिक’ नै थियो, पाँच दलीय गठबन्धनका आधारमा चुनाव लडेर २०७९ पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पनि एकदमै ‘संगतिपूर्ण’ थियो र त्यसै अवधिमा तीन–तीन पटक सत्ता– सहयात्री फेर्नु पनि ‘शुद्ध राजनीतिक परिघटना’ थियो। किनभने त्यहाँ ‘पारसमणि’ का रुपमा यहाँ हुनुहुन्थ्यो, सरले छोएपछि त फलाम पनि सुन नै बन्ने भयो नि!,’ ज्ञवालीले भनेका छन्।