नेकपा (एमाले) निकट अनेरास्ववियुले जारी शिक्षक आन्दोलनलाई आड बनाएर केही निजी शिक्षण संस्थानिकट स्वार्थ समूहले सरकारी विद्यालय कमजोर पार्न र विद्यार्थीलाई निजीमा लैजान षड्यन्त्र गरिरहेको आरोप लगाएको छ।
अनेरास्ववियुका अध्यक्ष समिककुमार बडालले आइतबार विज्ञप्ति जारी गर्दै पछिल्लो पाँच वर्षमा निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वार्षिक ८ प्रतिशतले बढेको तथ्यांकसमेत प्रस्तुत गरेका छन्।
‘जबकि सार्वजनिक विद्यालयहरूबाट वार्षिक झन्डै ७ लाख विद्यार्थी बाहिरिएका छन्। विद्यालय बन्द हुनेबित्तिकै निजी विद्यालयहरू भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेका छन्,’ अनेरास्ववियुले भनेको छ, ‘शिक्षा राजनीति होइन, अधिकार हो, विद्यार्थीको भविष्यमा खेलबाड असह्य छ!’
अनेरास्ववियुले शिक्षक आन्दोलनको न्यायपूर्ण माग तुरून्त सम्बोधन गरी शिक्षा ऐन संसदमा टेबल गरेर पारित हुने सुनिश्चितता प्रदान गर्न सरकारसँग माग गरेको छ।
शिक्षक महासंघले पनि आन्दोलनलाई अनिश्चितकालीन बनाउँदै विद्यार्थीकै भविष्यमा आँच पुर्याउने काम बन्द गर्न पनि आग्रह गरेको छ। जिम्मेवार पेशागत संगठन भएर समाधानमुखी वार्ताको बाटो समात्न पनि भनेको छ।
‘वैशाख १२ गते सुरू हुने संसद अधिवेशनमा शिक्षा ऐन टेबल गरी दीर्घकालीन संस्थागत निकासको खाका प्रस्तुत गरियोस्,’ अनेरास्ववियुले भनेको छ।