राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लुम्बिनी प्रदेश सभापति देवराज पाठकले राजतन्त्रको विषयमा सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर अहिले पार्टीभित्र तरंग पैदा भएको छ।
पाठकले गत वैशाख ५ गते लेखेको फेसबुक स्ट्याटसको विषयलाई लिएर रास्वपा नेतृत्वले उनको धारणा समेत मागेको छ।
लुम्बिनी प्रदेश सभापति पाठकले अहिले गणतन्त्रवादीप्रतिको वितृष्णाको कारण सडकमा राजतन्त्रको चर्चा सुरू भएको र जनताले विवेकपूर्ण तरिकाले सही जनप्रतिनिधि छान्ने अवस्था नआउँदासम्म देश र जनताको संरक्षकको रूपमा राजा चाहिने भन्दै वैशाख ५ गते बिहान पौने आठ बजे फेसबुकमा स्ट्याटस लेखेका थिए।
सोही स्ट्याटसको विषयमा पार्टी नेतृत्वले उनीसँग धारणा मागेको हो। पाठकले पनि आफूले राजतन्त्रको पक्षमा नभई जनताको भावना बोलेको र गणतन्त्रवादीहरू सच्चिनुपर्ने आग्रहस्वरूप लेखेको बताएका छन्। उनले पार्टी नेतृत्वलाई पनि सोही जबाफ दिएको बताए।
‘२०६२/०६३ को जनआन्दोलनबाट आएको गणतन्त्रलाई राजनीतिक नेतृत्वले थिलथिलो पारे। देशमा सुशासन छैन, भ्रष्टाचार छ त्यही कारण जनतामा वितृष्ण पैदा भएको छ। राजावादीहरू गणतन्त्रको विरूद्धमा सडकमा उत्रिन थाले, त्यसैले गणतन्त्रवादी हौं भन्नेहरू सच्चिनुपर्छ भन्ने सन्दर्भमा फेसबुकमा लेखेको हुँ,’ पाठकले भने।
पाठकले आफूले राजतन्त्रको पक्षमा कुनै पनि वकालत नगरेको बरु वंशको आधारमा राजा बनाउने व्यवस्थाको वकालत गरेकाहरूले पनि विरेन्द्रका नातिनीहरू छन् उनीहरूको बारेमा किन नबोलेका होलान् भनेर प्रश्न गरेको बताए।
उनले आफू पार्टीको लाइन जे हो अहिले पनि त्यहीँ रहेको प्रतिक्रिया दिए। जलेश्वर बैठकले बहुलवादमा आधारित संघीय गणतान्त्रिक व्यवस्थाको पक्षमा निर्णय गरेको र आफू त्यो बैठकको निर्णयभन्दा बाहिर नगएको उनको भनाइ छ।
‘म पार्टी लाइनमै छु। पार्टीको नीति विचार र निर्णयभन्दा म बाहिर छैन,’ उनले भने।
उनले आफूलाई पार्टी नेतृत्वबाट तपाईंको विषय के हो भनेर सोधिएको र जबाफमा राजनीतिमा लाग्नेहरू दलका नेता कार्यकर्ता मात्र नभएर त्यही समाजमा बस्ने नागरिक र सामाजिक प्राणी भएकोले समाजमा र गाउँघरमा जनताले के बोल्छन्, के सोच्छन् भनेर पनि बुझ्नुपर्ने बेला आएको भन्दै जबाफ दिएको बताए।
पाठकले फेसबुक स्टाटस लेख्दै उन्नत भनिएको गणतन्त्रमा लुट, भ्रष्टाचार, बेतिथि, अराजकता, अन्याय र सत्ताको चरम दुरूपयोग हुन्छ भन्ने लागेको भए ०६२/०६३ मा जनता सडकमा नउत्रिने भन्दै रक्षकहरू नै भक्षक भएपछि नेता, नेतृत्व र व्यवस्थामाथि मात्र माथी होइन जनता माथिपनि प्रश्न उठेको उल्लेख गरेका छन्।
उनले राजतन्त्रमा पनि महिलालाई न्याय नगरेको भन्दै राजतन्त्रको विरासत राजा विरेन्द्रको विरासत वंश भित्रबाट हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
‘यदि अवस्था यही नै हो भने राजतन्त्रको विरासत राजा वीरेन्द्रको विरासत वंशभित्र हुनुपर्छ, छोरा होस वा छोरी। यो बहसमा फेरि पनि पुरुषप्रधान दृष्टिकोणले न्याय गरेन। राजा विरेन्द्रको छोरी श्रुतीका दुई सन्तान ग्रिवाणी र सुरांगना छन्। किन वेलायतझैंराजाको ठाउँमा महारानी नराख्ने? यो प्रश्न उठनु पथ्र्यो कि पर्थेन,’ उनले लेखेका छन्।