आइतबार नयाँ बानेश्वरमा प्रहरी र शिक्षकबीच भएको झडपको विषय सोमबारको प्रतिनिधि सभा बैठकमा उठेको छ।
सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले आइतबार शिक्षकहरुको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको विरोध जनाएका हुन्।
बानेश्वरमा शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि आइतबार बानेश्वरमा प्रहरी र शिक्षकहरूबीच झडप भएको थियो। त्यस क्रममा प्रहरीले लाठी चार्ज र पानीको फोहरा प्रहार गरेको थियो भने शिक्षकहरूले ढुंगामुढा गरेका थिए।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले शिक्षकहरूको माग सम्बोधन गर्नुको सट्टा सरकारले उनीहरूमाथि दमन गरेको बताएका छन्।
उनले शिक्षकहरूलाई सरकारले काठमाडौंमै रोकेर राख्दा गाउँघरमा बालबच्चाहरू चोट लिएर हिँड्न बाध्य भएको पनि बताए। आफू गाउँघरमा जाँदा दुई दर्जन बालबालिकाहरू कसैको हातमा चोट र कसैको टाउकामा टाँका देखेको शर्माले बताए।
'सोध्दाखेरि अभिभावकहरूले हाम्रा मास्टरहरू सबैलाई सरकारले लगेर काठमाडौंमा राखिदिएको छ। अब हाम्रा केटाकेटी कहिले भिर पाखा रूखमा जान्छन्। पढ्ने कुरा त हरायो अब इनको उपचार गर्न नै थप ऋण बोक्नुपर्ने भनेर दुखेसो पोख्दै हुनुहुन्थ्यो,' उनले भने।
मलुक संघीयतामा गएको अवस्थामा राज्यले ऐन बनाएर दिनुपर्ने बेलामा शिक्षकले नै हामीलाई ऐन बनाएर देऊ भनेर माग्न आइरहेको बेलामा उनीहरूको मागलाई सम्बोधन गरेर जायज मागहरू पूरा गर्नुपर्ने शर्माको भनाइ थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सरकारले शिक्षकहरूमाथि दमन गरेको बताइन्। यसले सरकार अधिनायकवादतर्फ अगाडि बढेको भान हुने उनले बताइन्।
सांसद श्रेष्ठले शिक्षकहरूको जायज र न्यायोचित मागहरू सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताइन्।
'शिक्षाको बजेट कति छ सरकारले आएर भन्नुपर्यो। शिक्षकहरूलाई पनि भन्नुपर्यो र पठनपाठनको वातावरण बनाउनुपर्यो। बच्चाहरुको पढ्ने अधिकार गुमिरहेको छ,' उनले भनिन्।
उनले शिक्षकहरूले पनि राजनीतिकि दलको सदस्यता लिन नहुने बताइन्।
'जबसम्म नेपाली जनता मात्रै भएर बस्नुहुन्छ यो राजनीतिक दल सदन सबैको मालिक बनेर बस्नुहुन्छ। तर जुनबेला राजनीतिक दलको सदस्यता लिएर कार्यकर्ता बन्नुहुन्छ कुनै नेताको उठ बस भन्ने किसिमको उठबस दास मात्रै बन्नुहुन्छ,' सांसद श्रेष्ठले भनिन्।
शिक्षक ऐनमा लेखिएको कुरा शिक्षकहरूले र शिक्षकहरूलाई राजनीति दलको सदस्यता दिन हुँदैन भनेर राजनीतिक दलसम्बन्धी कानुनले भनेको कुरालाई दलहरूले पालना गर्नुपर्ने श्रेष्ठले बताइन्।
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले आइतबार शान्तिपूर्ण भइरहेको शिक्षकहरुको आन्दोलनमा सरकारले नै घुसपैठ गराएको आरोप लगाइन्।
'घुसपैठ गराएर शिक्षकहरूमाथि निर्मम रूपबाट लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहार गरेर ६२ जना शिक्षकहरुलाई घाइते बनाएको छ। साथै महिला शिक्षिकाहरूमाथि दुर्व्यहार र लाठी चार्ज भयो। सरकाले के चाहेको हो? त्यही घटनामा पत्रकार घाइते भयो। चैत १५ गते त एउटा पत्रकारलाई यो सरकारले मार्यो। अर्को पत्रकारलाई घाइते बनाएर राखेको छ,' उनले भनिन्।
उनले शिक्षा ऐन दिएर शिक्षकहरूलाई विद्यालयमा पठाउने वातावरण तयार गर्न र आवासीय चिकित्सकहरूको जायज माग पूरा गरेर उनीहरूलाई अस्पताल पठाउने व्यवस्था गर्न सरकारसँग माग गरिन्।
सत्तापक्ष नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले आमाको मुख हेर्ने दिनमा सरकारले गुरूहरूमाथि दमन गरेको बताइन्।
'आमाको मुख हेर्ने दिनमा गुरूबा र गुरू आमा पिटिएको देख्दाखेरि मर्माहित भएको छु,' उनले भनिन्।
सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्य थापाले पनि आइतबार शिक्षकहरूको आन्दोलनमा भएको घटना दुःखद रहेको बताए।
'सुरक्षाकर्मी र शिक्षक दुवै राष्ट्रसेवक हुन्। राष्ट्रसेवकहरूमाथि आन्दोलनका नाममा गरिने व्यवसहार होस् वा अरू जुनसुकै होस्। त्यो गर्नु उचित होइन,' उनले भने।
थापाले आन्दोलनरत शिक्षक र सुरक्षाकर्मी दुवैले संयमता अपनाउनुपर्ने बताए।
'शिक्षकहरूलाई संयमित भएर आफ्ना घोषित आन्दोलनका कार्यक्रमअनुसार नै सरकारको संसदको र सिंगो देशको ध्यानाकर्षण गराइरहनुभएको छ त्यो प्रक्रियालाई नै अगाडि बढाउन आग्रह गर्न चाहन्छु। सुरक्षाकर्मीलाई पनि संयमित हुन ध्यानाकर्षण गराउँछु,' उनले भने।
थापाले शिक्षा विधेयकलाई टुंग्याउने विषयमा सिंगो संसद गम्भीर छ भन्ने अनुभूति दिलाउन पनि शिक्षामन्त्रीले संसदमा आएर त्यसबारे बोल्नुपर्ने बताए। उनले उपसमितिमा भएका छलफल , त्यसमा मिलेका कुरा र मिल्नबाँकी कुराहरूबारे सरकारले सिंगो देशलाई जानकारी गराउनुपर्ने बताए।
'आफ्नो कार्यकालाभरि कानमा तेल हालेर सुत्ने । कुनै काम नगर्ने सरकारहरूले अहिले आएर शिक्षा विधेयक दिएर मात्रै जाने कुराकानी भइरहेको छ। उपसमितिमा भइरहेको कामलाई सरकारले, शिक्षा मन्त्रालयले शिक्षकहरू र सिंगो देशलाई जानकारी गराउनुर्छ,' उनले भने।