नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बन्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा शुभकामना दिँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान भएको बताएका हुन्।
‘आज भ्रष्टाचार, बेथिति, अनियमितता, बिचौलिया र दलाल पुँजीवादसँग निरन्तर संघर्ष गर्नुपरिरहेको अवस्था छ। यो सन्दर्भमा निरन्तर श्रमजीवी वर्गको नेतृत्वदायी प्रतिनिधित्व गर्दै सबै खाले बेथितिका विरुद्ध संघर्ष गर्दै निरन्तर अघि बढ्नु हाम्रो आधारभूत कार्यभार हो। अहिले एकातिर प्रतिगामी तत्वहरुसँग संघर्ष गर्नुपर्ने अवस्था छ भने अर्कोतिर यथास्थितिवादका विरुद्ध श्रमजीवी वर्ग आफ्नो मौलिक पहिचानसहित अघि बढ्नुपर्ने अवस्था आवश्यकता छ,’ उनले शुभकामना सन्देशमा भनेका छन्।
नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र बलिदानका अनेकौं कीर्तिमान कायम गरेको पनि उनले स्मरण गरेका छन्।
‘किसान, मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिंग र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम छ। सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको ऐतिहासिक कार्यभार हो,’ उनले भनेका छन्।