संघीय संसद् अन्तर्गत् आइतबार लेखा समितिको बैठक बस्दैछ।
सार्वजनिक लेखा समितिको ४० औं बैठक आइतबार दिउँसो साढे १ बजे बस्दैछ। समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा सार्वजनिक लेखा समितिको २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनबारे छलफल हुनेछ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले प्रतिवेदन बुझाएको छ। त्यही प्रतिवेदनमाथि छलफल हुन लागेको हो। त्यस्तै उजुरी तथा बेरूजु छलफलको प्रगतिबारे पनि लेखा समितिमा छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ।
त्यस्तै आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनबारे आन्तरिक छलफल हुनेछ।
संघीय संसदकै अर्थ समितिको बैठक पनि आइतबार बस्दैछ। अर्थ समितिको बैठक कक्षमा बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची छ।
आजै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पनि बैठक बस्दैछ। आज बिहान साढे १० बजे सिंहदरबारमा बस्ने उक्त समितिको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको बिकासमा सिँचाई, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, उर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ।