नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा फेरि तनाव सिर्जना भएको छ।
पार्टीका सांसद लालवीर चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठको भूमिकामाथि प्रश्न उठाएपछि तनावको स्थिति पैदा भएको हो।
रेशम चौधरीका बाबुसमेत रहेका सांसद लालवीरले प्रतिनिधि सभामा गृहमन्त्री रमेश लेखकलाई १७ गतेको घटनाबारे जबाफ दिन रोक्ने भूमिका अध्यक्ष रञ्जिताले खेलेको आरोप लगाएपछि पार्टीभित्रको विवाद पुनः सतहमा आएको हो।
गत वैशाख १७ गते जनमत र नागरिक उन्मुक्ति पार्टी एकताको दिन रेशम चौधरी पक्राउ परेका थिए। उनी चार घन्टापछि रिहा त भए तर पार्टी एकता भने भाँडियो। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका कर्मचारी महिमानसिंह विष्टको अनधिकृत पत्रपछि चौधरी पक्राउ परेका थिए।
सोही विषयमा जबाफ दिन माग गर्दै नाउपाले संसदमा उठेर विरोध जनाएको थियो। गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते जबाफ दिने भनेर सभामुख देवराज घिमिरेलाई जानकारी गराएका थिए। जोही जानकारी सभामुख घिमिरेले सदनमा बताएपछि नाउपाले प्रतिनिधि सभाको कामकारबाही अघि बढाउन दिएको थियो।
त्यहीअनुसार गृहमन्त्री लेखकले बिहीबार सदनमा जबाफ त दिए त्यसपछि नाउपाभित्र भने नयाँ विवाद देखिएको छ।
सांसद चौधरीले बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै अध्यक्ष रञ्जिता श्रेष्ठले 'संसदमा जबाफ नै दिनुपर्दैन संरक्षक रेशम चौधरीसँग कुरा मिलाइसकेको छु' भनेर षड्यन्त्र गर्न खोजेको आरोप लगाएका छन्।
त्यसबारे नागरिक उन्मुक्तिका अर्का सांसद गंगाराम चौधरीले पनि लालवीरकै शैलीमा जबाफ मागेका छन्।
‘२०८२ वैशाख १७ गते सम्मानित सर्वोच्च अदालतको शाखा प्रमुख महिमान सिंह विष्टले अनिधिकृत पत्र तयार गरी पार्टी संरक्षक रेशमलाल चौधरीज्यूलाई नागरिक हक अधिकार उल्लङ्घन गरी पाँच घन्टा कारागारमा कैद गरिएको जबाफ हामीहरूले सदन मार्फत मागेकोमा वैशाख २५ गते गृहमन्त्रीज्यूले जबाफ दिने तयारीमा रहँदा पार्टी अध्यक्षले जबाफ दिनुपर्दैन मैले संरक्षकज्यूसँग कुरा मिलाइसकेकोछु भन्नु कस्तो खालको षड्यन्त्र हो?,’ उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्।
यसका साथै सांसद लालवीर चौधरीले यसको जबाफ पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले दिनुपर्ने बताएका छन्। ‘यसको जबाफ पार्टी अध्यक्षज्यूले दिनुपर्छ। पुनः हाम्रो मागलाई सम्बोधन गर्दै गृहमन्त्रीज्यूले आजै जबाफ दिनुभएकोमा धन्यवाद!,’ लालवीर चौधरीले लेखेका छन्।
पार्टीका अर्का सांसद गंगाराम चौधरीले पनि अध्यक्षसँग जबाफको माग गरेका छन्।
यसबारे हामीले अध्यक्ष रञ्जिता श्रेष्ठसँग सोधेका छौं।
उनले गृहमन्त्री रमेश लेखकलाई जबाफ दिन रोक्न सक्ने सामर्थ्य आफ्नो नरहेको बताइन्।
‘गृहमन्त्री मेरो पकेटको मानिस हो र! मैले जबाफ दिनुभन्दा दिने, नदिनुभन्दा नदिने। हामीले जबाफ मागेका थियौं। उहाँले दिनुभयो। यत्ति हो,’ उनले भनिन्।
सांसद लालवीर चौधरीले लेखेको प्रसंग आफूलाई थाहा नभएको बताइन्।
‘गृहमन्त्रीज्यूले जबाफ दिँदा उहाँ सदनमा हुनुहुन्नथ्यो। उहाँ बिरामी हुनुहुन्थ्यो। स्ट्याटसबारे उहाँलाई नै सोध्दा राम्रो हुन्छ,’ उनले भनिन्।
यो पनि:
रेशम चौधरीलाई फेरि पक्राउ पर्ने डर, जनमत-नाउपा एकता अनिश्चित