भारत र पाकिस्तान शनिबार युद्ध रोक्न सहमत भएका छन्। भारतले जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफ बुधबार पाकिस्तानमाथि आक्रमण गरेर दिएपछि दुई देशबीच युद्ध सुरू भएको थियो।
सबभन्दा सुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकी मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान तत्कालै युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए।
त्यसपछि अमेरिकी विदेशमन्त्री मार्को रूबिओले एक्स (पहिले ट्विटर) मा लेख्दै आफू र उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानका प्रधानमन्त्री, विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र पाकिस्तानका सेना प्रमुखसँग पछिल्ला ४८ घण्टामा कुरा गरेको र दुई देश तत्कालै युद्धविरामका लागि सहमत भएको जानकारी दिएका थिए।
दुई देश तटस्थ ठाउँमा रहेर बृहत विषयमा छलफल सुरू गर्न पनि सहमत भएको रूबिओले घोषणा गरेका थिए।
त्यसपछि पाकिस्तानले पनि आधिकारिक रूपमा युद्धविरामको घोषणा गर्यो। अनि भारतले सबभन्दा अन्त्यमा त्यसको पुष्टि गरेको हो।
भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रेस वक्तव्य पढ्दै पाकिस्तानका सैन्य अपरेसनका महानिर्देशकले भारतीय समकक्षीलाई फोन गरेपछि दुवै देश शनिबार भारतीय समय अनुसार साँझ ५ बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका गोलीबारी तथा सैन्य कारबाही बन्द गर्न सहमत भएको घोषणा गरेका थिए।
पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा आतंककारी हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो। त्यसको दुई हप्ता पछि बुधबार पाकिस्तानभित्र आक्रमण गरेर भारतले जबाफ दिएको थियो।
त्यसपछि दुवै देशले एक अर्काका सैन्य संरचनामा समेत लगातार प्रहार गरिरहेका थिए। त्यसले आणविक हतियार भएका दुई छिमेकी राष्ट्रबीच 'पूर्ण' युद्ध हुने खतरा बढेको थियो।
सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि भएको लडाइँपछि भारत र पाकिस्तान पूर्ण युद्धमा गएका छैनन्। सन् १९९९ मा पाकिस्तानले कश्मिरको कारगिलमा हमला गरेपछि युद्ध भए पनि त्यो त्यही क्षेत्रमा सीमित रह्यो। दुई देशको अरू ठाउँमा युद्ध फैलिन पाएन।
यस पटक भने आ–आफ्नो नियन्त्रणमा रहेको कश्मिर बाहेक अन्य स्थानमा रहेका सैन्य संरचना पनि दुवैले प्रहार गरिरहेका थिए। त्यसैले 'पूर्ण' युद्ध हुने खतरा थियो। शनिबार दुवै देश युद्ध रोक्न सहमत भएपछि त्यो खतरा टरेको छ।
भारत र पाकिस्तान किन युद्ध रोक्न सहमत भए त?
मुख्य कुरा भारत र पाकिस्तान दुवै यो युद्ध सुरू गर्नै चाहन्थेनन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी सेना प्रमुख जनरल सइद असिम मुनिर दुवै आ–आफ्ना जनतासामु आफूलाई बलियो देखाउन चाहने भएकाले पनि पछिल्लो लडाइँ सुरू भएको थियो।
सन् २०१६ मा कश्मिरको उरीमा रहेको सैनिक क्याम्पमा आतंकवादी हमलामा १९ भारतीय सैनिकको ज्यान गएको थियो। त्यसपछि भारतले 'सर्जिकल स्ट्राइक' भन्दै पाकिस्तान नियन्त्रित कश्मिरमा रहेका आतंकवादी शिविरमा प्रहार गरेको थियो।
त्यस्तै सन् २०१९ मा पुलवामामा भएको आतंकवादी हमलामा ४० भारतीय अर्धसैनिकको ज्यान गएपछि भारतले बालाकोटमा हमला गरेको थियो। पाकिस्तान नियन्त्रित कश्मिरभन्दा बाहिर भए पनि बालाकोट खाइबर पख्तुनख्वा प्रान्तको दुर्गम क्षेत्रमा पर्छ।
यस पटक भने भारतले पाकिस्तानको मुटु मानिने पन्जाब प्रान्तमा समेत प्रहार गरेको थियो। पाकिस्तान नियन्त्रित कश्मिरका पाँच र पाकिस्तानका चार स्थानमा आक्रमण गरेको भारतले पुष्टि गरेको थियो।
जनताका सामु आफू बलियो प्रधानमन्त्री भएको देखाउन र पाकिस्तानबाट आतंककारी आएर फेरि भारतमा हमला नगरून् भनेर मोदीले यसपालि पन्जाब प्रान्तमा समेत प्रहार गरेका थिए।
यसरी बलियो देखिन पाकिस्तानभित्र प्रहार गरे पनि भारतले सुरूदेखि नै युद्ध नचाहेको प्रस्ट सन्देश दिएको थियो। भारतले सेना र सर्वसाधारणलाई निशाना नबनाई आतंकवादीमाथि मात्रै प्रहार गरेको भनेर जोड दिएको थियो। आफ्नो कारबाही केही स्थानमा केन्द्रित भएको र ध्यानपूर्वक नापतौल गरेर, तनाव थप नबढ्ने गरी प्रहार गरिएको भनेको थियो।
अर्कोतर्फ हमला गर्ने क्रममा रहेका केही भारतीय लडाकु विमान खसालेको दाबी पाकिस्तानले गरेको थियो। यस्तोमा भारतको हमला विफल भएको र उसका महँगा लडाकु विमान खसालेर आफूले विजय हासिल गरेको भनेर तनाव त्यहीँ रोक्ने विकल्प पाकिस्तानलाई थियो।
त्यसो गरे हौसिएर भविष्यमा भारतले फेरि पाकिस्तानभित्र प्रहार गर्ला भन्ने खतरा उसलाई हुन्थ्यो। तर सँगसँगै बलियो छवि बनाएका सेना प्रमुख मुनिर कमजोर देखिन्थे। त्यसैले उनले भारतलाई जबाफ दिने निर्णय गरे। भारतीय सैन्य संरचनामा समेत प्रहार गर्न थाले।
यसरी दुवै देशले नचाहे पनि युद्ध सुरू भएको थियो तर दुवैले पूर्ण युद्ध चाहेका थिएनन्। तर अहिलेकै आकारमा युद्ध चलाइराख्न पनि दुवै देशलाई धेरै खर्चिलो थियो।
पछिल्ला दिनमा दुवै देशले प्रयोग गरेका मिसाइल र ड्रोनहरू धेरै महँगा छन्। युद्ध नचाहँदा-नचाहँदै यति खर्चिला हतियार तिहारमा पटाका पड्काएजस्तो पड्काइरहन नोक्सानदायी थियो। फेरि युद्धको समयमा दुवै देशमा आर्थिक क्रियाकलाप ठप्प जस्तै भएको थियो। यसरी धेरै दिनसम्म अर्थतन्त्र ठप्प पार्नु दुवै देशको हितको विपरीत थियो।
भारत पछिल्ला सातामा अमेरिकासँग व्यापार वार्तामा व्यस्त थियो। ट्रम्पले चीनसँग व्यापार युद्ध सुरू गरेको बेलामा त्यसबाट फाइदा उठाउनुपर्ने समयमा नचाहेको युद्ध तन्काइरहनु भारतको हितमा थिएन।
अर्थतन्त्र तुलनात्मक रूपमा बलियो भएकाले केही समयका लागि भारतले धेरै खर्चिलो युद्ध धान्न सक्थ्यो। अर्थतन्त्र धराशायी भएको पाकिस्तानले त युद्ध धान्न पनि सक्दैन थियो।
बिहीबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले संकटग्रस्त पाकिस्तानको अर्थतन्त्र उकास्न दुई अर्ब ४० करोड डलर दिने निर्णय गरेको थियो। संकटग्रस्त अर्थतन्त्र उकास्न यसरी सहायता खोजिरहेको पाकिस्तानका लागि दैनिक अर्बौं खर्च गरेर युद्ध धान्न सम्भव थिएन।
आइएमएफमा अमेरिकाको बढी प्रभाव हुने भएकाले युद्धविरामका लागि मध्यस्थता गरिरहेको अमेरिकाले युद्ध चलाइरहे सहायता रोक्ने भनेर पाकिस्तानमाथि दबाब हालेको पनि हुन सक्छ। दबाबै नहाले पनि ऋण गरेर नचाहेको युद्ध तन्काइरहन पाकिस्तानका लागि हितकर थिएन।
त्यस्तै भारत र पाकिस्तान दुवैसँग आणविक हतियार भएकाले उनीहरू कसैले यो युद्ध जित्न सक्दैन थिए। परम्परागत हतियार मात्रै भएको भए दुईमध्ये एकले अर्को देशभित्र पसेर युद्ध जित्न सम्भव पनि हुन्थ्यो होला। तर अहिले युद्ध हार्ने स्थिति आए दुवै देशलाई आणविक हतियार प्रयोग गर्ने विकल्प थियो।
यसरी आणविक हतियार प्रयोग भए दुवै देश ध्वस्त हुन्थे। त्यसैले पूर्ण युद्ध नै चाहे पनि कसैले जित्नै नसक्ने भएकाले त्यत्रो खर्च गरेर तन्काइरहनु मूर्खता मात्रै हुन्थ्यो।
यो युद्धविरामको अर्को रोचक पाटो पनि छ।
अमेरिकी राष्ट्रपति ट्रम्प र विदेश मन्त्री अमेरिकी मध्यस्थतामा युद्ध रोक्ने सहमति भएको भने पनि भारतले अहिलेसम्म आधिकारिक रूपमा त्यो स्वीकार गरेको छैन। भारतीय विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेसनका महानिर्देशकले भारतीय समकक्षीलाई फोन गरेपछि युद्ध रोकिएको भन्दै पाकिस्तानले पहिले पहल गरेको सन्देश दिन खोजेका छन्।
त्यति मात्रै नभएर भारतीय मिडियाले विभिन्न सरकारी स्रोतको हवाला दिँदै युद्ध रोक्नेमा दुई देश मात्रै संलग्न भएको दाबी गरिरहेका छन्। झन् रूबिओले भने जस्तो दुई देश तटस्थ ठाउँमा बृहत विषयमा छलफल सुरू गर्न सहमत भएको त हुँदै होइन भनिरहेका छन्।
अमेरिकाको राष्ट्रपति र विदेशमन्त्रीले सार्वजनिक रूपमा घोषणा गरेको कुरा कुनै बेनामे सरकारी स्रोतले भन्दैमा खण्डन हुँदैन। भारत सरकारले आधिकारिक रूपमा नभनेसम्म अमेरिकाले मध्यस्थता गरेकै मान्नुपर्छ।
यस्तोमा भारतले किन अमेरिका वा अरू कसैले मध्यस्थता भएको स्वीकार नगरेको भन्ने कुरा उठ्छ।
यसका लागि सन् १९७१ मा बंगलादेश स्वतन्त्रताका लागि भएको युद्धपछि सन् १९७२ मा दुई देशले गरेको शिम्ला सम्झौतामा जानुपर्छ। त्यसका विभिन्न बुँदामध्ये एउटा बुँदामा दुई देशले आफूहरूबीचका असमझदारी शान्तिपूर्ण रूपमा द्विपक्षीय रूपमा वार्ता गरेर हल गर्ने भन्ने छ। आफूले जितेको युद्धपछि भएको शिम्ला सम्झौताका प्रावधानबारे भारत अडिग छ।
त्यसपछि पाकिस्तानले कश्मिरको मुद्दा अन्तर्राष्ट्रियकरण गर्न खोजे पनि भारतले सो सम्झौता अनुसार द्विपक्षीय रूपमै समाधान गर्नुपर्ने भनिरहेको छ।
त्यसैले भारतले अहिले अमेरिकी मध्यस्थतामा युद्धविराम भएको स्वीकार नगरेको हुन सक्छ।
त्यसो त युद्धविरामका लागि मध्यस्थता स्वीकार गर्दैमा शिम्ला सम्झौता उल्लंघन हुँदैन। पछि अरू विषयमा हुने छलफलमा तेस्रो पक्षको संलग्नता हुनु हुँदैन भनेर अहिलेको युद्धविरामका लागि अमेरिकाले मध्यस्थता गरेको स्वीकार गर्दा हुन्थ्यो। तर परम्परागत रूपमा रहेको भारतको अडान छोड्दा आफू कमजोर देखिने भएकाले मोदीले स्वीकार नगरेका हुन सक्छन्।
सन् २०१९ को बालाकोट हमलापछि बढेको तनाव पनि अमेरिका र साउदी अरेबियाले मध्यस्थता गरेपछि घटेको थियो। त्यसपछि भारतीय लडाकु विमान खसालेर एक जना पाइलट कब्जामा लिएको पाकिस्तानले रिहा गरेर भारत फिर्ता पठाएको थियो।
त्यति बेला अमेरिका वा साउदी अरेबिया कसैले पनि आफूले मध्यस्थता गरेको भनेर जस भने लिएका थिएनन्। त्यसैले दुई देशले आफ्नै पहलमा सम्बन्ध सुधारेको देखिएको थियो। अझ भारतीय मिडियाले त भारतले कडा प्रहार गर्छ भनेर डराएर पाकिस्तानले आफ्नो पाइलट फिर्ता गरेको भन्ने खालको दाबी गरेका थिए।
अहिले भने ट्रम्पले मध्यस्थताको जस मात्र नलिएर, युद्धविरामको घोषणा समेत सबभन्दा पहिले आफै गरेका छन्।
चुनाव जितेको २४ घण्टामै रूस–युक्रेन युद्ध रोक्ने घोषणा गरेका ट्रम्पले दोस्रो कार्यकाल सुरू गरेको चार महिना हुन लाग्दा पनि युद्धविराम गर्न सकेका छैनन्। यस्तो बेलामा भारत–पाकिस्तान युद्ध रोकेको पगरी गुथेर आफूले दाबी गरेजस्तै साँच्चै अब्बल सौदागर भएको भन्न पाएका छन्।
अर्कोतर्फ ट्रम्पले मध्यस्थता गरेको भनेपछि मोदीलाई अप्ठ्यारो परेको छ। ट्रम्पले झुट बोलेको भनेर सार्वजनिक रूपमा भने रिसाएर ट्रम्पले व्यापार वार्ता नै रोक्लान्, चीनलाई जस्तो भारतलाई पनि चर्को भन्सार महसुल लगाउलान् भन्ने डर मोदीलाई छ। त्यसैले भारतीय मिडियामा स्रोतको हवाला दिएर कसैको मध्यस्थतामा युद्धविराम नभएको भन्दै आफ्ना जनतालाई सम्झाउने कोसिसमा उनी लागेको देखिन्छ।
***