पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।
विशेषगरी राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेका राप्रपा र राप्रपा नेपालका नेताहरूसँग पूर्वराजाले पछिल्लो समय बाक्लो भेटघाट गरेका हुन्।
उनी नगरकोट क्षेत्रमा १२ दिन बसेर शुक्रबार निर्मल निवास फर्केका छन्।
यसबीचमा नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले जेठ १५ गतेदेखि 'जनआन्दोलन' घोषणा गरेको छ।
यो पनि: पहिला नमानेका राजावादीहरू नवराज सुवेदीकै नेतृत्वमा एकत्रित हुन कसरी भए सहमत?
उक्त घोषणाअघि पूर्वराजाले सुवेदीलगायतसँग नगरकोटमै भेटवार्ता गरेका थिए। सुवेदीको नेतृत्वमा 'जनआन्दोलन' गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि राजी हुँदै 'जनआन्दोलन' घोषणा सभामा उपस्थित भएका थिए।
त्यसअघि लिङ्देन र थापासँग पनि नगरकोटमा पूर्वराजाले बेग्लाबेग्लै भेटघाट गरेका थिए।
राजावादीहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरेका छन्। तर चैत १५ गतेको छाया त्यसमा पनि पर्ने राजावादीको आशंका छ।
यही सन्दर्भ र परिप्रेक्ष्यमा पूर्वराजा ज्ञानेन्द्र शाह आफै सक्रिय भएका हुन्।
तीनकुने विध्वंशको ठीक एक महिना अर्थात् वैशाख १५ गतेदेखि झन्डै दुई साता नगरकोट बसेर पूर्वराजा शाहले राजावादी समर्थक विभिन्न व्यक्तिहरूसँग भेटघाट, छलफल गरेको खुलेको छ।
पूर्वराजा ज्ञानेन्द्र वैशाख वैशाख १५ देखि २६ गते शुक्रबारसम्म भक्तपुर चाँगुनारायण नगरपालिकास्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा बसेर राप्रपालगायत राजसंस्था समर्थक पार्टीका नेताहरूसँगको भेटघाट, विमर्श तीव्र बनाएका थिए।
पूर्वराजा ज्ञानेन्द्र सात जना परिवारका सदस्य र आफ्नो सुरक्षामा खटिएका टोलीसहित त्यहाँ बसेका थिए।
पारिवारिक रिफ्रेसमेन्टका लागि गएको भनिए पनि उनले त्यहाँ राजनीतिक भेटघाट र छलफललाई नै प्रसस्त समय दिएका थिए।
उच्च सुरक्षा स्रोतबाट आएको जानकारीअनुसार पूर्वराजा ज्ञानेन्द्रले वैशाख १९ गतेबाहेक वैशाख २६ गतेसम्म राजनीतिक भेटघाट र छलफल नै गरे।
वैशाख १९ गते उनको विवाह वर्षगाँठ भएकाले उनले त्यस दिन राजनीतिक संवाद गरेनन्। भेटघाटलाई पनि महत्त्व दिएनन्।
वैशाख २३ गतेसम्मको अवधिमा भने उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति'का संयोजक नवराज सुवेदी, एभिन्युज टेलिभिजनका प्रमुख भाष्करराज राजकर्णिकार, 'संयुक्त जनआन्दोलन समिति' का सल्लाहकार जगमान गुरूङ, नेपाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्नेतलगायतसँग भेटघाट गरेका थिए।
उनीहरूसँग पूर्वराजाले एक्लाएक्लै नै भेटघाट गरेका थिए।
त्यति मात्र नभई पूर्वराजाले राप्रपाका दोस्रो तहका नेतासँग पनि छलफल गरेका थिए।
त्यसक्रममा उनले राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहसँग पनि भेटघाट गरेका थिए। नगरकोट बसाइका क्रममा उनले सहमहामन्त्री शाहसँग ज्यादा भेटघाट गरेको सुरक्षासम्बद्ध स्रोत बताउँछ।
रवीन्द्रप्रताप राप्रपामा मनोनीत सहमहामन्त्री हुन्। उनको घर नगरकोट क्षेत्रमा छ। उनी राप्रपाबाट भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरका उम्मेदवार पनि थिए।
त्यस्तै पूर्वराजाले राप्रपा सांसद दीपक सिंहसँग भेटघाट गर्नुका साथै काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिकामा हिमानी ट्रष्टको नाममा रहेको ४२ रोपनी जग्गासमेत निरीक्षण गरेका थिए।
मण्डन देउपुरमा रहेको हिमानी ट्रष्टको जग्गा निरीक्षणका क्रममा पूर्वराजा ज्ञानेन्द्र। तस्बिरः सामाजिक सञ्जाल।१२ दिन नगरकोटमा बिताएका पूर्वराजा ज्ञानेन्द्रले त्यहाँ बसेर राजसंस्था समर्थकलाई एक ठाउँमा ल्याउन भूमिका खेलेका थिए।
त्यसको प्रभाव देखिन थालिसकेको छ। आगामी दिनमा अझ टड्कारो ढंगले प्रकट हुने राजावादीहरू बताउँछन्।
चैत १५ पछिको परिदृश्यमा राजावादीहरू प्रायः एकै मञ्चमा देखिन थालेका छन्। वैशाख १५ गते रत्नपार्कको शान्तिवाटिकामा कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि केशरबहादुर विष्टसम्म सँगै देखिएका थिए।
वैशाख २५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आन्दोलन घोषणामा राजावादीहरूको एकजुट निकै कसिलो देखिएको थियो।
राजेन्द्र लिङ्देन, कमल थापा, केशरबहादुर विष्ट, प्रकाशचन्द्र लोहनी लगायत नेताले हातेमालो गर्दै एकताको सन्देश दिन खोजेका थिए।
गत चैत ४ गते नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति घोषणा हुँदा लिङ्देन गएका थिएनन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि गएका थिएनन्।
त्यही भेलाले रवीन्द्र मिश्रलाई संयुक्त जनआन्दोलन समितिको सदस्य सचिव तोकेको थियो।
वयोवृद्ध तथा गुमनामजस्तै बनिसकेका पञ्च नेता नवराज सुवेदीलाई हठात् मञ्चमा ल्याइएको भन्दै लिङ्देन लगायतले उनको नेतृत्व स्वीकार्न सकेका थिएनन्। राप्रपा आफैले आन्दोलन गर्ने निर्णय गरेको थियो।
पूर्वराजासँगको भेटमा सुवेदीलाई कसले अघि सारेको हो भनेर राप्रपाका नेताहरूले चासो पनि राखेका थिए।
अहिले छिन्नभिन्न भएका राजावादीहरूलाई एक ठाउँमा आउन पूर्वराजा ज्ञानेन्द्र आफै उत्प्रेरित गरिरहेका छन्। यसबाट पूर्वराजावादी उत्साहित पनि देखिएका छन्।
पूर्वराजासँगको राजावादीहरूको देशको राजनीति र भूराजनीतिमै केन्द्रित रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
नगरकोटमा नेताहरूसँगको भेटमा पूर्वराजाले भारत–पाकिस्तानबीचको तनाब, मुलुकको राजनीतिक, आर्थिक अवस्था, देशको आन्तरिक राजनीतिप्रति चिन्ता र चासो प्रकट गरेको बर्तौलाले बताए।
छलफलकै क्रममा पूर्वराजाले राजसंस्था समर्थकहरू सँगै मिलेर जान सक्ने अवस्था छ कि छैन भनेर पनि चासो राखेको बर्तौलाको भनाइ छ।
‘समान विचार भएकाहरू सँगै जानसक्ने अवस्था छ कि छैन? पार्टीका गतिविधि कसरी अगाडि बढिरहेको छ भनेर चासो राख्नुभएको थियो,’ बर्तौलाले भने, ‘देशको राजनीति, भूराजनीतिक अवस्था विशेष गरेर भारत–पाकिस्तानबीच देखिएको तनाब, त्यसल ल्याउन सक्ने परिस्थितिबारे पनि चासो राख्नुभएको थियो।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने ४४ दिनदेखि प्रहरी हिरासतमा छन्।
'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमान्डर' दुर्गा प्रसाईंको आह्वानमा गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि त्यही दिन पक्राउ परेका मिश्रविरूद्ध राज्यविरूद्धको कसुर, संगठित अपराधमा म्याद थप लिई जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।
सरकारी वकिलको कार्यालयले मिश्रविरूद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरिरहँदा उनको हिरासत बसाइ लम्बिने संकेत देखिएको छ। संगठित अपराधसम्बन्धी कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।
चैत १५ गतेको राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको थियो।
प्रदर्शनकारीले निजी घरमा आगजनी गर्दा त्यही आगोमा परेर एभिन्युज टेलिभिजनका सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको थियो।
प्रदर्शनकारीले १५ भन्दा बढी सरकारी गाडी, जडिबुटीमा रहेको सञ्चो कारखानामा आगजनी, भाटभटेनी सुपरमार्केटलगायत निजी घरहरूमा लुटपाट र तोडफोडसमेत गरेका थिए।
त्यस प्रकारको विध्वंशपछि राजावादी आन्दोलनले गति लिन सकेको छैन।
यसबीचमा उनीहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरेका छन्। यही सन्दर्भ र परिप्रेक्ष्यमा पूर्वराजा ज्ञानेन्द्र शाह आफै सक्रिय भएका छन्।