प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जे आउँछ मजाले पचाउँछ’ भनेझैं जे छ त्यसैमा रम्ने सरकारको नीति नरहेको बताएका छन्।
प्रतिनिधि सभा बैठकमा आइतबार सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री ओलीले विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको बताएका हुन्।
‘जे आउँछ मजाले पचाउँछ भनेझैं जे छ, त्यसैमा रम्ने हैन, काम लाग्ने जे छ, त्यसलाई सकेसम्म निरन्तरता दिने, जे असान्दर्भिक छ, त्यसलाई त्याग्ने नीतिमा हामी जानुपर्छ। त्यसैले, विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको हो,’ उनले भने।
प्रधानमन्त्री ओलीले थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरवलोकन गर्ने, चालु परियोजनाहरूलाई ‘आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुने र प्रतिनिधि सभाको यस अवधिभित्र सम्पन्न हुने’ गरी वर्गीकरण गरी निर्धारण गरिएको समयतालिकामा सम्पन्न गर्ने नीति नयाँ भएको बताएका छन्।
निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारेज समेत गर्ने पनि नयाँ नीति भएको बताएका छन्।