नेपाली कांग्रेस र नेकपा (एमाले) ले ७ बुँदे सहमति गरेर सत्ता सहयात्रा थालेपछि नेकपा (माओवादी केन्द्र) विपक्षमा पुग्यो, त्यसपछि माओवादीका नेताहरूले ‘टोन’ फेरे।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री छँदासम्म पार्टीले ‘देश र जनताका लागि’ दिनरात काम गरिरहेको दाबी गर्ने नेताहरू आफूहरूले जनतातिर फर्कन छाडेर गल्ती गरेको बताउन थालेका थिए।
अध्यक्ष प्रचण्डदेखि बहुसंख्यक नेताहरूले गरेको त्यही बोधको परिणाम थियो, माओवादीको हुलाकी राजमार्गकेन्द्रित तराई-मधेस जागरण अभियान।
सरकारबाट बाहिरिएको ८ महिनापछि माओवादीले फागुन १२ गतेदेखि झापाबाट यो अभियान सुरू गरेको थियो। वैशाख १७ गते कञ्चनपुरमा अभियान समापन गरेको माओवादीले त्यसको महिना दिन नबित्दै शुक्रबारबाट मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरू गरेको छ।
हुलाकी राजमार्गकेन्द्रित अभियानबाट उत्साही बनेको बताइरहेको माओवादीले लगत्तै अर्को अभियान थाल्ने निर्णय वैशाख २१ को पदाधिकारी बैठकबाट गरेको थियो।
अध्यक्ष प्रचण्डले हुलाकी राजमार्गको अभियानमा पनि माओवादीले विगतमा जनतालाई बेवास्ता गरेको, आधारभूत वर्गसँगको सम्बन्धलाई जीवन्त बनाइराख्न नसकेको भन्दै ठाउँठाउँमा ‘आत्मालोचना’ गरेका थिए। र, यस्तो गल्ती सच्याउने बताएका थिए।
शुक्रबारबाट सुरू हुने मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानमा पनि ‘विगतका गल्तीप्रति माफी माग्दै जनतामा माओवादीप्रति आशा जगाउने गरी अभियान हुने’ प्रवक्ता अग्निप्रसाद सापकोटाको भनाइ छ। पहिलेका अभियानहरू कार्यकर्ता केन्द्रित भए पनि हुलाकी र मध्यपहाडी अभियान जनतासम्मै केन्द्रित हुने उनको भनाइ छ।
‘शुक्रबार बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान गर्दैछौं,’ उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाले भने।
यसका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू नन्दबहादुर पुन, पम्फा भुसाल, महासचिव देव गुरूङसहितको टिम सुदुरपश्चिम पुगिसकेका छन्।
अभियान थालनी हुँदै गर्दा शुक्रबार बैतडीमा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा भने अनुपस्थित रहने भएका छन्। ‘उहाँहरू रूकुम र रोल्पाबाट सहभागी बन्ने कार्यक्रम छ’, सापकोटाले भने, ‘हामी चाहिँ आइपुगिसकेका छौं।’
हुलाकी राजमार्गको अभियानमा झैं मध्यपहाडी लोकमार्गको अभियानमा पनि माओवादीले मोटर, पैदल यात्रा गर्दै जनसभा, अन्तरक्रिया, जनसंवाद गर्ने तयारी गरेको छ। मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको पहिलो चरण जेठ १० मा पोखरा पुगेर सकिने सापकोटाले जानकारी दिए।
यसरी तराई–मधेसकेन्द्रित अभियानको लगत्तै मध्यपहाडी अभियानमा जुटेको माओवादीका नेताहरू ‘अब आफूहरू जनतातिर साँच्चै नै फर्किएको’ बताउँछन्। यसले २०८४ मा एक्लै चुनावमा होमिन सहयोग पुग्ने विश्वास नेताहरू देखाउँछन्।
दशक लामो सशस्त्र विद्रोहबाट खुला राजनीतिमा आएको माओवादीले २०६४ को पहिलो संविधानसभा चुनावमा आफूलाई पहिलो दल बनाएको थियो।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो बनेको माओवादीले त्यसपछि एक्लै निर्वाचन लडेको छैन। २०७४ मा एमालेसँग र २०७९ मा कांग्रेससहितका दलहरूसँग मिलेर चुनाव लड्दा पार्टीले क्षति ब्यहोरेको अनुभव पार्टीले गरेको नेताहरूको ठहर छ।
पार्टी केन्द्रीय सदस्य ईन्द्र आङ्बो हालसम्मको चुनावी अनुभवले पनि अब एक्लै अघि बढ्नुपर्ने आवश्यकता देखाएको ठहर पार्टीले गरिसकेको बताउँछन्। लगालगको अभियान त्यसैको तयारी भएको उनको भनाइ छ।
उनका अनुसार ०७४ मा एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्यसहित एमाले–माओवादीले बाम गठबन्धन बनाएर चुनाव लड्दा प्राप्त झन्डै दुइतिहाई शक्ति नेकपा विभाजनसँगै असफल बन्यो।
‘त्यो प्रयोग असफल भयो। ०७९ मा कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्यौं अपेक्षित परिणाम पनि आएन र सत्ता सहकार्य पनि सफल र सुखद रहेन। २०७४ र २०७९ को चुनावमा माओवादीको मतले एमाले र कांग्रेस देशको ठूलो पार्टी बने,’ उनको दाबी छ, ‘दुई प्रमुख दलसँगको चुनावी गठबन्धन र सत्ता सहकार्यले माओवादीको आफ्नो एजेन्डा र जनतासँगको सम्बन्ध दुवै कमजोर भयो।’
अब चाहिँ आफ्नै एजेन्डा र तागतमा बलियो पार्टी र जनाधार तयार गर्न जनतातर्फ फर्किएको र अहिलेका अभियानहरू त्यसकै परिणाम भएको आङ्बो बताउँछन्।
सरकारबाट बाहिरिएर पार्टीले जनतामाझ पुग्ने अभियान चलाएको र त्यसले पार्टी र जनतामा उत्साह सञ्चार गराएको अध्यक्ष प्रचण्डले बारम्बार दोहोर्याएका छन्। उनको उत्साह अरू नेताहरूले पनि देखेका छन्।
‘अभियानले व्यापक जनपरिचालन, पार्टी प्रवेश उपनिर्वाचन स्ववियु निर्वाचन र विभिन्न सघ सस्थामा माओवादीले प्राप्त विजयले उत्साह बढेको पुष्टि गरिरहेको छ’, आङ्बोले थपे, ‘अभियानमार्फत भएको जनपरिचालन र सभाहरूले एकातिर सरकारलाई खबरदारी र नागरिकप्रति जिम्मेवार र जबाफदेही बनाउने काम भइरहेको छ भने अर्कातिर पार्टी सुदृढीकरणको काम भइरहेको छ । यो उपलब्धिले अध्यक्ष प्रचण्ड लगायत पार्टी उत्साही छ।’
त्यसो त बहुसंख्यक पदाधिकारी र केन्द्रीय नेताहरूले हुलाकी अभियानलाई ज्यादै सफल भनेर प्रचार गरिरहे पनि सचिव राम कार्की लगायतका आलोचनात्मक चेत बोकेका नेताहरूले भने उत्ति निको मानेका छैनन्। पार्टीले केबल चुनावलाई मात्रै मुख्य लक्ष्य बनाएको भन्दै कार्कीले सार्वजनिक रूपमै आलोचना गर्दै आएका छन्।
उपाध्यक्ष सापकोटा चाहिँ पार्टीको ‘रणनीतिक उद्देश्य समाजवादको आधार तयार पार्ने’ भए पनि ०८४ को चुनाव कार्यनीतिक लक्ष्य भएको बताउँछन्। ‘लक्ष्य त समाजवादी क्रान्तिमै पुग्ने हो तर अहिले हाम्रो कार्यनीतिक लक्ष्य ०८४ को चुनाव नै हो,’ उनले भने, ‘हाम्रा यी अभियानहरू चुनावकेन्द्रित अभियान हुन् भन्न सकिन्छ।’
चुनाव आउन दुई वर्षभन्दा केही बढी समय बाँकी रहँदा नै त्यसको तयारीमा जुटेकै कारण अध्यक्ष प्रचण्ड पनि देश दौडाहामा व्यस्त छन्। ललितपुरको टेरेस रिसोर्टको बाथरूममा लडेर घाइते हुनुअघि होस् अथवा स्वास्थ्यलाभ गरिसकेपछि, प्रचण्ड म्याराथन अभियानमा छन्।
बितेको साता शनिबार पाँचथरको फिदिम र आइतबार सुनसरीको धरानमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पहिचानको आन्दोलनदेखि कोशी नामकरणको सन्दर्भसम्मै माफी मागेका थिए।
राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल दलहरू यस्तो अभियानमा जुट्नु सकारात्मक भएको बताउँछन्।
‘माओवादीले अहिले चलाएको र चलाउने अभियानबाट नेतालाई आफ्नो यथार्थ धरातल थाहा हुन्छ, कार्यकर्तालाई क्रियाशील र ऊर्जावान बनाउने, निराश जनतालाई कुरा सुन्ने नेता पनि रहेछन् भन्ने प्रभाव पर्नसक्छ,' उनले भने, ‘यसले जनता र नेतृत्वको दुरी पनि घटाउन सक्छ। मुख्य कुरा हिजो जनतासँगको सम्बन्धको कडी कहाँ चुँडियो भन्ने समीक्षा इमान्दार रूपमा गर्न सक्नुपर्छ।’