जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सांसद गीता गुरूङले पदबाट राजीनामा दिएको पत्र प्रदेश सचिवालयमा फरक इमेलबाट प्राप्त भएपछि आधिकारितामाथि आशंका उब्जिएको छ।
सांसद गुरूङले प्रदेश सभामा यसअघि बुझाएको इमेलभन्दा फरक इमेलबाट राजीनामा पत्र आएको भन्दै उनको राजीनामा पत्रबारे थप प्रक्रिया अघि नबढेको हो।
सांसद गुरूङ केही समयदेखि बेलायत छिन्।
उनले सांसद पदबाट राजीनामा दिएको भन्दै वैशाख ३० गते पत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो। फरक इमेलबाट राजीनामा पत्र प्रदेश सभा सचिवालयमा प्राप्त भएको भन्दै सचिवालयले यसको आधिकारिकतामा आशंका गर्दै गुरूङ भौतिक रूपमा उपस्थित भएर राजीनामा दिए मात्रै स्वीकृत प्रक्रियामा अघि बढाइने प्रतिक्रिया दिएको छ।
सांसद गुरूङले सभामुख तुलाराम घर्ती मगरलाई सम्बोधन गरेको हस्तलिखित राजीनामा पत्र बाहिरिएको थियो। उक्त पत्र सांसद गुरूङकै श्रीमान् कैलाश गुरूङले सामाजिक सञ्जालबाट वैशाख ३० गते सार्वजनिक गरेका थिए भने भोलिपल्ट मात्रै प्रदेश सभा सचिवालयमा इमेल गरिएको थियो।
तर प्रदेशसभा सचिवालयले सांसद गुरूङले यसअघि पठाउने गरेको इमेल र राजीनामा पत्र पठाएको इमेल ठेगाना फरक रहेकोले पनि राजीनामाको आधिकारिकतामा आशंका गरेको छ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सांसद गुरूङले यसअघि उपलब्ध गराएको इमेल ठेगाना, हस्ताक्षर र पत्रको व्यहोरासमेत नमिलेकोले उनी उपस्थित नहुँदासम्म प्रक्रिया अघि नबढाइने बताए।
सांसद गुरूङको आफ्नै लेटरप्याडमा हस्तलिखित स्क्यान गरेको राजीनामा पत्र सार्वजनिक भएको थियो।
सभामुख घर्तीमगरले राजीनामा पत्रमाथि नै आशंका देखिएकाले गुरूङ आफै उपस्थित भएपछि मात्र राजीनामा पत्र स्वीकृतिको प्रक्रिया अगाडि बढाउन भनेको सचिव पुनले जानकारी दिए।
कैलाशले सांसद गुरूङको स्वकीय शारदा चौधरीको इमेलबाट राजीनामा पत्र पठाएको बताएका थिए।
तर प्रदेश सभामा गीताको अर्को आइडीबाट इमेल गएको छ। यसअघि गीताले Gita Gurung... नामको इमेल उपलब्ध गराएकोमा अहिले Geeta gurung.... इमेल ठेगानाबाटबाट आएको प्रदेशसभाले जनाएको छ।
सांसद गुरूङको नाममा सार्वजनिक भएको राजीनामा पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर आफूले राजीनामा दिएको उल्लेख छ।
´राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो, जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन. तसर्थ आजैको मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु,’ पत्रमा उल्लेख छ।
सांसद गुरूङले जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको भन्दै राजीनामा बुझाए पनि उनले २०८२ साल वैशाख महिनाको समेत तलब भत्ता बुझिसकेकी छन्।
प्रदेशसभा सचिवालयका अनुसार तलब ५२ हजार २ सय, आवास १७ हजार, बिजुली एक हजार पाँच सय, सञ्चार दुई हजार गरी मासिक ७२ हजार ७ सय रुपैयाँ बुझ्दै आएकी थिइन्।
प्रदेश सभा सदस्यमा चयन भएदेखि उनले यो सुविधा बुझ्दै आएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठक भत्ता भने एक हजार रुपैयाँ रहेको छ। बैठकमा सहभागी भएपछि मात्रै यो सुविधा पाउने गरेकी थिइन्।
पाँच वटा अधिवेशनसम्म ८३ वटा बैठक बसेमध्ये उनी जम्मा ३४ वटा बैठकमा सहभागी भएकी थिइन्।
यसअघि जनमत पार्टीको केन्द्रीय सदस्य रहेका उनका श्रीमान् कैलाश गुरूङ गत चैत ९ गते उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेसँगै गुरूङको पार्टीसँग दूरी बढेको नेताहरुको भनाइ छ। जनमतका नेताहरू गीता र कैलाशले पटक-पटक मन्त्री बनाउन दबाब दिएको चर्चा जनमतभित्र हुने गर्छ।
लुम्बिनी प्रदेशसभामा जनमतबाट गीतासँगै चन्द्रकेश गुप्ता ‘सिके` र सुमन शर्मा रायमाझी गरी तीन जना सांसद छन्।
जनमतका संसदीय दलका नेता समेत रहेका गुप्ताले सांसद गुरूङ लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र दलको बैठकमा बोलाउँदा पनि नआएको बताए।
‘उहाँ प्रदेश सभा बैठकमा पनि २५ प्रतिशत उपस्थित हुनुहुन्न पार्टी र जनताप्रति सम्पर्कमा नरहने मान्छे जनप्रतिनिधि कसरी बन्न सक्नुहुन्छ,’ उनले भने।