अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा आइफोनको उत्पादन बढाउन लागेको भनेर एप्पल कम्पनीको कडा आलोचना गर्दै अमेरिकामै उत्पादन गर्न दबाव दिएका छन्।
ट्रम्पले चीनसँग व्यापार युद्ध सुरू गरेकाले एप्पल कम्पनीले आगामी वर्ष सम्ममा अमेरिकीमा बिक्री हुने सबैजसो आइफोन भारतमा बनाउने घोषणा केही समय अघि गरेको थियो।
अमेरिकामा वर्षमा छ करोडभन्दा बढी आइफोन बिक्री हुन्छ। त्यसमध्ये धेरै जसो हाल चीनमा बन्छन्।
चीनसँगको व्यापार युद्धका कारण २०२६ को अन्त्य सम्ममा अमेरिकामा बिक्री हुने सबैजसो आइफोन भारतमा बनाउने लक्ष्य एप्पल कम्पनीले लिएको हो भनेर फाइनान्सियल टाइम्सले लेखेको थियो। त्यसको मतलब अहिले भारतमा भइरहेको उत्पादन बढाएर झण्डै दोब्बर पुर्याउनु पर्ने हुन्छ।
मध्यपूर्वको भ्रमणको क्रममा कतारमा रहेका ट्रम्पले प्रमुख व्यापारीहरूसँगको एक कार्यक्रममा त्यसबारे बिहीबार बोल्दै एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकसँग आफू रिसाएको बताएका थिए।
'हामी तिमीलाई वास्तवमै राम्रो व्यवहार गर्दैछौं। तिमीले चीनमा वर्षौंसम्म त्यत्रा कारखानाहरू बनाउँदा पनि हामीले सह्यौं। तिमीले भारतमा निर्माण गर भन्ने हामी चाहँदैनौं,' ट्रम्पले कुकलाई भनेको कुरा उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको थियो।
ट्रम्पका सामु नझुकेपछि चीनलाई लगाएको उच्च भन्सार दर घटाएको देखेर भारतले पनि उनको प्रतिकार गर्ने नीति अंगालेपछि उनको यस्तो टिप्पणी आएको हो।
भारत अमेरिकाविरूद्ध विश्व व्यापार संगठन (डब्लूटिओ) गएको छ। अमेरिकाले भारतको स्टिल र आलमिनियममा लगाएको २५ प्रतिशतको भन्सारको बदलामा भारतले अमेरिकी वस्तुमा भन्सार लगाउने भनेर डब्लुटिओलाई जानकारी गराएको छ।
अमेरिकाले लगाएको भन्सारले भारतको सात अर्ब ६० करोड डलरको स्टिल र आलमिनियम निर्यातमा प्रभाव पारेको भन्दै त्यति नै मूल्यको अमेरिकी उत्पादनमा भन्सार लगाउने भनेर भारतले डब्लुटिओमा विवाद समाधान प्रक्रिया सुरू गरेको हो।
कतारको सोही कार्यक्रममा भारतले व्यापार वार्ताको क्रममा अमेरिकी वस्तुमा लगाएको भन्सार शुल्क पूरै हटाउने प्रस्ताव गरेको भनेर पनि ट्रम्पले दाबी गरेका थिए।
ट्रम्पले कुकलाई अमेरिकामै आइफोन बनाउन भने पनि त्यो काम त्यति सजिलो छैन।
फेब्रुअरीमा एप्पलले ट्रम्पको चार वर्षको कार्यकालमा अमेरिकामा पाँच खर्ब डलर खर्च गर्ने प्रतिबद्धता जनाएको थियो। तर आइफोन बनाउन नभएर एप्पलले त्यो लगानी आर्टिफिसियल इन्टेलिजेन्सका (एआई) लागि चिप्स र सर्भरहरू उत्पादन गर्नका लागि गर्न लागेको हो।
एप्पलले चाहेर पनि तुरून्तै अमेरिकामा आइफोन बनाउन सम्भव छैन।
अमेरिकामा विशाल चिनियाँ आपूर्ति शृंखला र कारखानाहरू खडा गर्न एप्पलका लागि ठूलो चुनौती हुनेछ। त्यसका लागि चाहिने धेरै दक्ष प्राविधिक कामदार पनि अमेरिकामा उपलब्ध नभएर एशियामा केन्द्रित छन् भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
एप्पलले हाल अमेरिकामा केही उत्पादन, त्यो पनि सीमित संख्यामा मात्रै बनाउँछ। विश्लेषकहरूका अनुसार अमेरिकामा आइफोन उत्पादन बढाउन अर्बौं डलर खर्च गरे पनि एप्पललाई वर्षौं लाग्नेछ।
ट्रम्प सरकारका अधिकारीले हजारौं अमेरिकीले पेच कस्दै अमेरिकामै आइफोन बनाउने छन् भन्दै आएका छन्। तर त्यो सम्भव छैन। वाणिज्य मन्त्री हावर्ड लट्निकले गत महिना मात्रै चीनमा जत्तिकै परिमाणमा अमेरिकामा आइफोन बनाउन रोबोटहरू चाहिन्छ भनेर कुकले आफूलाई भनेको बताएका थिए।
त्यसपछि लट्निकले अझै पनि अमेरिकीले नै आइफोन बनाउने, तर पेच कसेर नभएर रोबोट चलाएर बनाउने दावी गरेका थिए।
ठूलो लगानी गरेर कारखानाहरू लगाएर केही वर्षमा ट्रम्पले भने जसरी अमेरिकामै बनाउन थाले पनि आइफोन लगायत एप्पलका उत्पादन ज्यादै महँगा हुनेछन्।
एप्पलको सबभन्दा कमाइ हुने आइफोन मात्रै नभएर आइप्याड र म्याकबुकहरू पनि मुख्यतः चीनमै बन्छन्।
ब्लुमबर्गका अनुसार करिब ८७ प्रतिशत आइफोन, ८० प्रतिशत आइप्याड र ६० प्रतिशत म्याकबुक चीनमा बन्छन्।
चीनमा दक्ष कामदार उपलब्ध हुने मात्रै नभएर अमेरिकाको तुलनामा ज्यादै कम तलबमा तिनले काम गर्छन्। अमेरिकामा कानुनले अनुमति दिनेभन्दा धेरै घण्टासम्म कारखानामा खटिन्छन्।
त्यही भएर चीनबाट त्यत्रो टाढा अमेरिका ढुवानी गरेर लैजाँदा पनि ती उत्पादन अमेरिकामा बन्ने भन्दा धेरै सस्ता हुन्छन्।
भारतमा पनि कामदारको ज्यालादर चीनको जस्तै सस्तो छ। चीनको छिमेकी भएकाले उत्पादन गर्न चाहिने पार्टपुर्जाहरू पनि भारत पुर्याउन तुलनात्मक रूपमा सजिलो हुनेछ। अमेरिका टाढा भएकाले उत्पादनका लागि चाहिने पार्टपुर्जाहरू जुटाउनै पनि मुश्किल हुनेछ।
यी विभिन्न कारणले ट्रम्पले दबाव हाले पनि अमेरिकामै आइफोन उत्पादन तत्काल बढाउन सम्भव छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)