नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले कांग्रेस र एमालेको संयुक्त सरकार गठन भए पनि सरकार ‘सरकार जसरी’ सञ्चालनमा नआएको बताए।
‘सरकार हाम्रो छ, कांग्रेस र एमाले मिलेर सरकार बनाएको छ तर सरकार सरकार जसरी चलिरहेको अनुभूति मैले गरेको छैन। संसद पनि जसरी चल्नुपर्ने हो त्यसरी चलिरहेको छैन। न्यायपालिकातिर पनि जनताको आशा, भरोसा पैदा नभएको जस्तो लाग्छ। जनता निराश छन्,’ उनले भने।
जनतामा आशा र भरोसा पैदा गर्न नसकिएको पनि उनले बताए।
‘एक किसिमको नयाँ सोच र नयाँ सम्भावना सिर्जना गर्न सकिरहेका छैनौं। एकपल्ट सबै शीर्षस्थ नेताहरू टाउको जोड्नुस्, अब मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता म देख्छु,’ उनले भने।
राष्ट्रिय सहमति निर्माण गरेर मात्र मुलुकलाई गन्तव्यमा पुगाउन सकिने उनले बताए।
राष्ट्रिय सहमतिमा अगाडि बढ्न अझै ढिला गरे व्यवस्था, संघीयता र सरकारको औचित्य सकिने उनले बताए।
(न्युज एजेन्सी नेपाल)