अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि विदेशी राष्ट्र प्रमुखलाई ह्वाइट हाउसमा झपारेका छन्।
गत फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग चर्काचर्की गर्दा जस्तै ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसालाई बुधबार ह्वाइट हाउसमा टेलिभिजन क्यामराकै अगाडि अशोभनीय व्यवहार गरे।
ट्रम्पले शताब्दियौंसम्म श्वेत (गोरो छाला भएका) हरूको दमन सहेर तीन दशकअघि मात्रै मुक्ति पाएको अश्वेत बहुल दक्षिण अफ्रिकामा श्वेतहरूको नरसंहार (जेनोसाइड) भएको भन्दै गलत दाबी गरे।
दक्षिण अफ्रिकामा जन्मेका विश्वका सबभन्दा धनी व्यक्ति इलन मस्कसँग निकट ट्रम्पले केही समय अघिदेखि नै त्यहाँ श्वेतहरूको नरसंहार भएको भन्दै झुटो बोलिरहेका थिए।
त्यसैका आधारमा आफ्नो दोस्रो कार्यकालमा सबै आप्रवासीप्रति आक्रामक रहेका ट्रम्पले कार्यकारी आदेश नै ल्याएर सरकारको नश्लीय विभेदको शिकार भएका श्वेत दक्षिण अफ्रिकीलाई शरणार्थीका रूपमा स्वीकार गर्ने निर्णय गरेका थिए।
यस्तो माहोलमा गल्फप्रेमी ट्रम्पलाई श्वेतहरूको नरसंहार भएको होइन भनेर सम्झाउन श्वेत दक्षिण अफ्रिकी गल्फ खेलाडी अर्नी एल्स र रिटिफ गुसेनसहित रामापोसा ह्वाइट हाउस पुगेका थिए।
श्वेत धनाढ्य योहान रूपर्ट र आफ्नो नेतृत्वको गठबन्धन सरकारमा रहेको डेमोक्र्याटिक अलायन्सका कृषिमन्त्री पनि सो प्रतिनिधि मण्डलमा थिए। डेमोक्र्याटिक अलायन्सलाई धेरैजसो श्वेतहरूले समर्थन गर्ने भएकाले श्वेतहरूको दलका रूपमा चिनिन्छ।
मस्कको उपस्थितिमा भएको सो भेटघाटमा अश्वेत राष्ट्रपति रामापोसा भन्दा श्वेत व्यापारी, गल्फ खेलाडी र मन्त्रीले बोल्दा ट्रम्पले अलिक ध्यान दिएर सुन्थे। श्वेतहरूले बोलेको ध्यान दिएर सुने पनि उनीहरूले दक्षिण अफ्रिकामा श्वेतहरूको नरसंहार भएको छैन भन्दा ट्रम्पले पत्याएनन्।
नरसंहार भएको प्रमाण भन्दै ट्रम्पले पेस गरेको भिडिओले त्यसको पुष्टि गरेको जिकिर गरे। त्यो भिडिओको कुनै आधिकारिकता भने थिएन।
त्यो बेला जेलेन्स्कीले जस्तो कडा शैलीमा रामापोसाले प्रतिवाद गरेको भए जेलेन्स्कीसँग जस्तै चर्काचर्की हुन्थ्यो। तर रामापोसाले शान्तसँग सम्झाउन खोजे।
दोस्रो कार्यकालमा ट्रम्पले दक्षिण अफ्रिकालाई अमेरिकाले दिएको सबै सहायता बन्द गरेका छन्। ट्रम्पको विरोध गरेको भन्दै मार्चमा उनका विदेशमन्त्री मार्को रूबिओले अमेरिकाका लागि दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसुललाई देश निकाला गरेका थिए।
अब ट्रम्पले दक्षिण अफ्रिकामा श्वेतहरू प्रति भेदभाव र उनीहरूको नरसंहार भइरहेको छ भन्ने झुटो कुरा किन बोले भनेर चर्चा गरौं।
ट्रम्पले मुख्यतः अवैध आप्रवासी र अमेरिकाले अँगालेको समावेशी नीतिको विरोध गरेर दोस्रो कार्यकाल जितेका हुन्। इतिहासमा दास प्रथाका कारण अश्वेतहरूमाथि भएको अन्यायको क्षतिपूर्ति स्वरूप अमेरिकाले अँगालेको समावेशी नीतिका बारेमा उनी सुन्न समेत चाहँदैनन्। समावेशी नीति अपनाएका धेरै संस्था र कार्यक्रममा संघीय पैसा रोकेका छन्।
शताब्दियौंदेखि अश्वेत बहुल दक्षिण अफ्रिकामा श्वेतहरूले शासन गरे। सन् १९४८ देखि झन्डै आधा शताब्दी त अश्वेतलाई साधारण अधिकार समेत नदिएर रंगभेदी शासन (अपार्थेड) चलाए।
सन् १९९४ मा नेल्सन मण्डेलाको नेतृत्वमा बनेको पहिलो निर्वाचित सरकारको पालादेखि नै अश्वेतलाई भएको अन्यायको क्षतिपूर्ति स्वरूप दक्षिण अफ्रिकामा पनि समावेशी नीति लागू गरिएको छ। त्यसैले ट्रम्पलाई त्यो मनपर्ने कुरै भएन।
पछिल्लो समय ट्रम्पले दक्षिण अफ्रिकी सरकारको विरोध गर्नुको दुइटा मुख्य कारण छन्।
एउटा भनेको जमिन अधिग्रहण सम्बन्धी दक्षिण अफ्रिकी सरकारले जनवरीमा ल्याएको नयाँ कानुन हो। सो कानुनले केही अवस्थामा क्षतिपूर्ति बेगर पनि जमिन अधिग्रहण गर्ने अधिकार राज्यलाई दिन्छ। शताब्दियौंदेखि शासन गरेका श्वेतहरूको स्वामित्वमा धेरै जमिन भएकाले उनीहरूको जग्गा खोस्न नयाँ कानुन ल्याएको डर श्वेतहरूलाई छ।
रंगभेदी शासनको तीन दशकअघि अन्त्य नभइन्जेल अश्वेतहरू दक्षिण अफ्रिकामा जग्गाधनी हुन समेत पाउँदैन थिए। रंगभेदी शासन सकिएपछि पनि जिम्बावेमा रोबर्ट मुगावेले श्वेत किसानहरूको जग्गा खोसे जसरी दक्षिण अफ्रिकामा खोसिएको छैन।
फ्याक्ट चेक ओआरजीका अनुसार सन् २०१७ मा दक्षिण अफ्रिकी सरकारले एक अध्ययन गरेको थियो। जस अनुसार विशेषतः नेदरल्यान्ड्सबाट बसाइ सरेर आएका श्वेतहरूको जनसंख्या सात प्रतिशत मात्रै भए पनि उनीहरूको स्वामित्वमा अझै पनि ७२ प्रतिशत कृषियोग्य जमिन छ।
यस्तो भए पनि सो कानुनले जथाभावी जग्गा अधिग्रहण गर्ने अधिकार दिने होइन। संरचना नबनाई र खेती पनि नगरी जग्गाधनीले त्यत्तिकै ओगटेर राखेमा मात्रै त्यस्तो जग्गा अधिग्रहण गर्ने अधिकार सो कानुनले दिन्छ।
ट्रम्पले श्वेतहरूको सम्पत्ति कब्जा गरेको भनेर आरोप लगाए पनि अहिलेसम्म सो कानुन अनुसार एक इन्च जमिन पनि अधिग्रहण नगरिएको भनेर दक्षिण अफ्रिकी सरकारले बारम्बार बताउँदै आएको छ।
ट्रम्पले दक्षिण अफ्रिकी सरकारको विरोध गर्नुको अर्को मुख्य कारण 'ब्ल्याक इकोनोमिक इम्पावरमेन्ट' को नीति हो। सो नीतिका अनुसार दक्षिण अफ्रिकामा लगानी गर्ने विदेशी कम्पनीले अश्वेतहरूको स्वामित्वमा रहेका स्थानीय कम्पनीलाई केही सेयर दिनुपर्छ।
सोही नीतिका कारण ट्रम्पले डिपार्टमेन्ट अफ गभर्न्मेन्ट इफिसियन्सी (डोज) को प्रमुख बनाएका मस्कले आफू जन्मेको देशमा दुरसञ्चार कम्पनी स्टारलिंक विस्तार गर्न पाएका छैनन्। सो नीतिलाई मस्कले खुला नश्लीय कानुन भनेर विरोध गरिरहेका छन्।
लामो समयदेखि अन्यायमा परेका सर्वसाधारण अश्वेतहरूलाई भन्दा सो नीतिले केही धनी अश्वेत व्यापारीलाई मात्रै फाइदा भएको भनेर त्यसको दक्षिण अफ्रिकामै पनि विरोध भइरहेको छ।
राष्ट्रपति रामापोसा मस्कको स्टारलिंक कम्पनीका लागि सो नीति खुकुलो पार्ने र उनको टेस्ला कारलाई भन्सार महसुल पनि घटाउने प्रस्ताव सहित अमेरिका गएको मानिन्छ।
कतिले जेलेन्स्कीको ट्रम्पले गरेको बेइज्जत देखाउँदै रामापोसालाई पनि त्यस्तै गर्न सक्छन् भनेर उनलाई अमेरिका नजान सल्लाह पनि दिएका थिए। तर श्वेत मन्त्री, व्यापारी र गल्फ खेलाडी सहित गएर नरम शैलीमा सम्झाउँदा ट्रम्पलाई बुझाउन सकिएला भनेर रामापोसा गएका हुन्।
ट्रम्प निकट मस्कलाई दक्षिण अफ्रिकामा व्यापार गर्न सजिलो पारे ट्रम्प खुसी होलान् भन्ने पनि उनको अपेक्षा हुन सक्छ।
तर ट्रम्पले रामापोसाको कुरै सुनेनन्, श्वेतहरूले भनेको पनि पत्याएनन्। दक्षिण अफ्रिकामा श्वेतहरूको नरसंहार भएको, उनीहरूको सम्पत्ति जफत गरिएको र श्वेत किसानहरूको हत्या भएको झुटो दाबी छाडेनन्।
ट्रम्पले दक्षिण अफ्रिकामा श्वेत किसानहरूको नरसंहार भएको आरोप लगाएका छन्। द न्यूयोर्क टाइम्सले भने विगत चार वर्षमा त्यहाँ कृषि फार्ममा दुई सय २५ जनाको मात्रै हत्या भएको लेखेको छ। त्यसमध्ये पनि एक सय एक जना अश्वेत कामदार नै थिए। र, ५३ जना मुख्यतः श्वेत किसान थिए।
फ्याक्ट चेक ओआरजीका अनुसार सन् २०२४ मा दक्षिण अफ्रिकामा भएका करिब २७ हजार हत्यामध्ये ४४ वटा मात्रै कृषि फार्मसँग सम्बन्धित थिए। त्यसमा मारिएका आठ जना मात्रै श्वेत किसान थिए।
दक्षिण अफ्रिका विश्वमै सबभन्दा धेरै अपराध हुने देशहरूमध्ये पर्छ। त्यहाँ जातका आधारमा अपराधको तथ्यांक उपलब्ध नभए पनि हत्या लगायत अपराधको सिकार अश्वेत जनता नै धेरै हुन्छन्। रामापोसाले यो कुरा भन्दा पनि ट्रम्पले मानेनन्।
ट्रम्पले भर्खरै तानाशाही शासन रहेको मध्यपूर्वका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) र कतारको भ्रमण गरेका थिए।
त्यहाँ रहँदा उनले विगतका अमेरिकी सरकारले ती देशसँगै इराक, अफगानिस्तान लगायत मुस्लिम देशलाई मानव अधिकारको पाठ पढाएको भनेर विरोध गरेका थिए। आफूले त्यस्तो मानव अधिकारको कुरा नगर्ने भन्दै ती तीन देश अमेरिका लगायत पश्चिमाका कारण नभएर आफ्नै मौलिक कारणले विकसित भएको दाबी गरेका थिए।
तर मध्यपूर्वबाट फर्केको एक साता नबित्दै उनले दक्षिण अफ्रिकामा जातीय विभेद भएको झुटो आरोप रामापोसालाई लगाए।
दक्षिण अफ्रिकाको पछिल्लो समय जो बाइडेन सरकारसँग पनि राम्रो सम्बन्ध थिएन। रामापोसा नेतृत्वको दक्षिण अफ्रिकाले बाइडेनकै पालामा अमेरिकासँग धेरै निकट सम्बन्ध भएको इसराइल विरूद्ध इन्टरनेसनल कोर्ट अफ जस्टिसमा (आइसिजे) मा नरसंहारको मुद्दा हालेको थियो।
ट्रम्पले सो मुद्दा र नयाँ जमिन अधिग्रहण कानुन देखाउँदै दक्षिण अफ्रिकाले अमेरिकाबाट पाइरहेको करिब ४४ करोड डलरको सहायता रोकेका थिए। त्यसका साथै अमेरिकी बजारमा दक्षिण अफ्रिकी सामानले भन्साररहित पाउने पहुँच समेत बन्द गरेका थिए।
रंगभेदी दक्षिण अफ्रिकी राज्यका विरूद्ध संघर्ष गर्दाताका तत्कालीन सोभियत संघसँग राम्रो सम्बन्ध रहेको रामापोसाको सत्तारूढ अफ्रिकन नेसनल कंग्रेसले युक्रेनमाथि रूसले हमला गरेपछि पनि रूससँग सुमधुर सम्बन्ध राखेको छ। त्यसैले पनि पछिल्ला वर्षमा अमेरिका र दक्षिण अफ्रिकाको सम्बन्ध तनावपूर्ण छ।
इसराइलले गजामा प्यालेस्टिनीको नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाले आइसिजेमा एक वर्षअघि मुद्दा चलाएपछि सम्बन्ध झन् बिग्रिएको थियो।
दोस्रो विश्व युद्धताका हिटलरको नाजी जर्मनीले दसौं लाख निहत्था यहुदीको नरसंहार गरेजस्तो कुनै जातिको फेरि पनि नरसंहार नहोस् भनेर आइसिजेको स्थापना भएको हो। हिटलरले गरेको नरसंहारबाट जोगिएका संसारभरिका यहुदीलाई सुरक्षित राख्न बनाइएको देश इसराइलमाथि नै नरसंहार गरेको आइसिमा मुद्दा चलेपछि इसराइल मात्रै नभएर अमेरिका पनि रिसाएको छ।
रूससँग मात्रै नभएर अमेरिकाको मुख्य प्रतिस्पर्धी चीनसँग पनि दक्षिण अफ्रिकाको राम्रो सम्बन्ध छ।
ब्राजिल, रूस, भारत र चीनले सुरू गरेको संगठनमा दक्षिण अफ्रिका सन् २०१० मा जोडिएपछि त्यसको नाम ब्रिक्स भएको हो। रूस र चीन मात्रै नभएर अमेरिकाले आतंककारीको प्रायोजक भन्ने इरानसँग पनि दक्षिण अफ्रिकाको सम्बन्ध राम्रो छ।
यसरी ठूलो परिमाणमा अमेरिकी सहायता र विशेष सहुलियत लिएर पनि अमेरिकाका दुश्मनसँग राम्रो सम्बन्ध राखेको भनेर बाइडेन सरकार नै पनि रूष्ट थियो। त्यसैले दक्षिण अफ्रिकासँग अमेरिका कडा रूपमा प्रस्तुत हुने अपेक्षित थियो।
तर युक्रेनमा नरसंहार गरेका रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनन्य मित्र ठान्ने ट्रम्पले भने रूस-युक्रेन युद्धका कारण नभएर श्वेतहरूको नरसंहार गरेको झुटो र लाजमर्दो आरोप लगाएर रामापोसालाई झपारेका छन्।
***