राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएर छानबिनमा सघाउन माग गरेको छ।
पार्टीको शनिबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकपछि रास्वपाले विज्ञप्तिमार्फत् प्रश्न उठेपछि राजीनामा दिएर छानबिन सघाउनुपर्ने लेखकको विगतको आफ्नै भनाइ सम्झाएको हो।
‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं। साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौं,’ रास्वपाले भनेको छ।
बैठकले पार्टीका सभापति सभापति रवि लामिछानेको हकमा सम्मानित सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गर्ने निर्णय गरेको छ।
तर सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐनअनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशंका पनि पार्टीको रहेको रास्वपाले बताएको छ।
‘राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत चिन्ता व्यक्त गर्दछौं,’ रास्वपाले भनेको छ।
दुई ठूलो दलको १० महिने गठबन्धन सरकार बनेको ७ बुँदे आधारमा फिटिक्कै केही काम नभएको रास्वपाको तर्क छ।
देशमा व्याप्त निराशालाई झन् बढावा दिने, सुशासनको धज्जी उडाउने, काम गर्नेहरूलाई लखेट्ने र हरेक संवैधानिक निकाय र राज्य संयन्त्रलाई दलीयकरण गर्ने गैरराजनीतिक अभ्यास गरिरहेको सरकारको गृहमन्त्री र उनका सचिवालय नै भिजिट भिसामार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले बताएको छ।
आज भौतिक उपस्थितिमै दिउँसो २ बजे पार्टी केन्द्रीय समितिको बैठक बस्ने रास्वपाले जानकारी दिएको छ।