नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले दुई लाख किलो आलु उद्योगपति विनोद चौधरीलाई बेचेका छन्।
जुम्लामा स्याउदेखि इलाममा चिया खेती गर्न थालेका विप्लवले घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले सोमबार आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिएका हुन्।
'आलु त हामीले विनोद चौधरीलाई नै दियौं। अस्ति उहाँसँग काठमाडौंमा भेट पनि भयो,' उनले भने, 'उहाँले मेरो लागि त चमत्कार (मिरेकल) जस्तै हो भन्नुभयो। हामीले बढीमा २०-३० हजार किलो उत्पादन गर्ने हो भन्ने उहाँलाई लागेको हुँदो हो, तर हामीले लक्ष्यभन्दा बढी उपलब्ध गरायौं।'
पार्टीको निम्ति पुँजी निर्माण गर्न काठमाडौंसहित देशका तीन ठाउँमा साना उद्योग र खेती सुरू गरेको विप्लवले बताएका छन्। ती सबै नाफामा चलिरहेको उनको भनाइ छ।
उद्योगपति विनोद चौधरीलाई एकै सिजनमा दुई लाख किलो आलु बेच्न सक्षम हुने गरी कम्युनिस्ट नेता विप्लवले कहाँ र कसरी खेती गरिरहेका छन् त? उनको यो उद्यमशीलताको कथा के हो?
यो स्टोरीमा हामी यसैबारे चर्चा गर्नेछौं।
विप्लव अचेल अर्घाखाँचीको शितगंगा नगरपालिका–११ स्थित मान्द्रेको बाँझो जमिनमा भेटिन्छन्। वर्षौं खेती नगरिएको खोरियातुल्य बाँझो जमिनमा उनी कहिले फरूवा नचाउँछन्, कहिले हँसियाको सहायताले झाडी तह लगाउँछन्। त्यसरी आवादी तुल्याउन खोजिएको जमिनमा हाते ट्याक्टर कुदाउँछन्।
मान्द्रेमा नेकपाकै अधिनमा पाँच बिगाहा हाराहारी जमिन छ। वर्षौंदेखि आवादी नगरिएको जमिन रूख–बुट्यानले ढाकेर जंगलमा परिणत भएको थियो।
आयस्ता नहुने र वनकरहरूले दुःख दिने भएपछि त्यहाँका रैथाने झिटीगुन्टा बोकेर सहर पसेका थिए। त्यसरी बसाइँ जानेहरूसँग पार्टीले सस्तोमा जग्गा लिएको नेकपाका कार्यालय सचिव असल क्षेत्रीको दाबी छ।
गाउँ पसेका विप्लव अहिले तिनै बाँझो जमिन स्याहारिरहेका छन्। महासचिवकै नेतृत्वमा 'उत्पादन कम्युन' ले खोरिया फाँडेर आँप, लिची, सुन्तला र कागती हराभरा तुल्याएको छ। अमिलो र गुलियो जातका फलफूलले आकार लिँदै गएपछि हौसिएका विप्लव अहिले अकबरे खुर्सानी फलाउने ध्याउन्नमा छन्।
'आत्मनिर्भरताका लागि यो हाम्रो व्यावसायिक उत्पादन हो,' विप्लवले शीतगंगाको खेतीबारे भने, 'हामीले आलुको व्यावसायिक उत्पादन सुरू गरेका छौं।'
फरूवा उज्याउँदै हातमा ठेला उठाइरहेका विप्लव तिनै हुन्, जो कुनै समय युद्धबाट समाज र राज्यसत्ता बदल्न चाहन्थे। हतियार बोक्दाबोक्दा काँधमा ठेला उठाएका थिए।

उनी दसवर्षे माओवादी सशस्त्र संघर्षमा आधार इलाका (रूकुम–रोल्पा क्षेत्र) का कमान्डर, भेरी कर्णाली इन्चार्जको भूमिकामा रहे।
कालिकोटको सान्नीगाड, दाङको भालुबाङ, सदबरिया म्याग्दीको बेनी, रोल्पाको लिस्ने, रूकुमको खारा उनी संलग्न भएका प्रतिनिधिमूलक आक्रमण हुन्।
२०६३ को शान्ति प्रक्रियाताक उनी माओवादी स्थायी कमिटी सदस्य थिए।
तत्कालीन नेकपा (एकीकृत माओवादी) ले २०६९ सालमा हेटौंडामा सातौं महाधिवेशन गर्यो। त्यही महाधिवेशनले 'उत्पादन बिग्रेड' को अवधारणा अघि सार्यो। कार्यकर्तासँगै मुलुकलाई पनि यही बाटोबाट आत्मनिर्भर बनाउन सकिने उसको तात्पर्य थियो।
सत्ता राजनीतिको स्वाद चाखिसकेको तत्कालीन एकीकृत माओवादीको उत्पादन बिग्रेडको अवधारणा अघि बढेन। 'बेवारिसे' नै बन्यो। तथापि त्यसपूर्व नै माओवादी आन्दोलनभित्र समाजवादको अभ्यास हुनुपर्ने र त्यसका लागि उत्पादन बिग्रेडको अवधारणामा जानुपर्ने बहस उठिसकेको थियो।
सगोलमै छँदा; २०६४ सालमा आफूले युद्धकालमा स्थापना गरेर सञ्चालनमा रहेका १९ वटा सहकारी, ५ वटा जनकम्युन विद्यालय र अस्पताललाई जनस्तरबाट सञ्चालन गर्ने प्रस्ताव गरेको विप्लवले दाबी गरेका छन्।
२०६४ सालको चर्चित शंखमूल बैठकमै उनले त्यो प्रस्ताव गरेका थिए। त्यति बेला उनले पार्टीका सबै नेता चुनाव र सरकारमा जान नहुने, एउटा तहले चुनाव र सरकारको 'मोर्चा' सम्हाल्ने र अर्को तहले पार्टी संगठन सम्हाल्ने प्रस्ताव गरेका थिए।
उनको उक्त प्रस्तावमाथि ठूलो छलफल भएन। फरक मतका रूपमा दर्ज भएको विप्लवले बताए।
शंखमूल बैठकको निर्णयानुसार उनी सेती–महाकालीको जिम्मेवारी लिएर कार्यक्षेत्र हानिए। तर उनी धेरै समय मूल पार्टीमा रहेनन्।
संगठनको काममा विमति बढ्दै गएपछि उनले अलग पार्टी गठनको अभ्यास थाले।
विप्लवले माओवादी आन्दोलनको मूलधारबाट अलग भएर पुनः सशस्त्र संघर्षको बाटो नखोजेका होइनन्। हतियार उठाउँदै त्यसको नेतृत्व गरेका पनि हुन्। तर आफैलाई बदल्दै हिँडेका प्रयोगधर्मी विप्लव अहिले शंखमूलको आफ्नै प्रस्ताव उत्पादन कम्युनमा आइपुगेका छन्।
हिजो राज्यसत्ता बदल्न आफैले हतियार थमाएका हातहरूमा आज कुटो–कोदालो थमाएका छन्। बलपूर्वक चन्दा उठाउन सिकाएका हातहरूलाई माटो खोस्रन र त्यही माटोमा सपना मुस्कुराएको देख्न अभ्यस्त तुल्याइरहेका छन्।
यसले माओवादी आन्दोलनभित्र नयाँ धार र आयाम कोरेको नेकपाका नेता–कार्यकर्ता बताउँछन्।
'पार्टी आन्दोलनमा लागेपछि त्यसै समृद्ध होइन्छ भन्ने भान परेको छ। पार्टीको मुख्य आयस्रोत नै चन्दा भएको छ। हाम्रै पार्टीमा पनि त्यही अभ्यास थियो। हाम्रा साथीहरू चन्दा उठाउँदै हिँड्थे! त्यसलाई बदल्न श्रम संस्कृतिलाई पार्टीको संस्कृतिका रूपमा अंगीकार गरेका हौं,' नेकपाका कार्यालय सचिव क्षेत्रीले सेतोपाटीसँग भने।
२०७७ फागुन २१ विप्लवको राजनीति यात्राको घुम्ती थियो। त्यही दिन सरकारसँग तीनबुँदे सहमति भयो, जसले विप्लवको राजनीतिलाई शान्तिपूर्ण बाटोमा अवतरण गरेको हो।
विप्लव नेतृत्वको नेकपाले हिंसात्मक गतिविधि बढाएपछि २०७५ फागुन २८ गते तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो। त्यसबीच केन्द्रीय सदस्यसहित १३ जनाको हताहतीसमेत भयो।
२०७७ फागुनपछि भने शान्तिपूर्ण बाटोसँगै राजनीतिलाई उत्पादन सम्बन्धसँग गाँसे। र, उनी सामूहिक उत्पादन कर्ममा लागे।
सामूहिक खेतीमा पार्टी, नेताहरूलाई क्रमशः जोड्दै लैजान थाले। यसरी उत्पादन कम्युनले बिस्तारै, बिस्तारै आकार र गति लिन थाल्यो।

फस्टाउँदैछ गाई फार्मदेखि भेडापालनसम्म!
२०७१ सालमा नेकपा गठन गरी अध्यक्ष बनेका विप्लव सत्ता राजनीतिमा अहिलेसम्म देखिएका छैनन्। यसप्रति उनको मोह पनि प्रकट भइसकेको छैन।
अहिले उनी उत्पादनको सामूहिकीकरणलाई देशव्यापी बनाउँदैछन्। पार्टीले शान्तिपूर्ण राजनीतिको पथ समातेदेखि नै विप्लवले उत्पादनमा हात हालेका थिए। तर २०७९ सालपछि मात्र यसले चिनापर्ची पाएको कार्यालय सचिव क्षेत्री बताउँछन्।
२०७९ कात्तिकमा कात्तिकमा नेकपाले नवौं महाधिवेशन गरेको थियो। त्यही बैठकले जनकम्युन अर्थात् उत्पादन कम्युनले परिचय पाएको हो।
'नवौं महाधिवेशनपछि हामीले एक संगठन एक उत्पादनको नीति लिएका छौं। केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यहरूलाई एक बिगाहा उत्पादनको नेतृत्व गर्नैपर्ने गरी कृषिमा सबलीकरण र आत्मनिर्भरताको बाटो देखाएका छौं,' कार्यालय सचिव क्षेत्रीले भने।
नेकपामा अहिले ३५१ सदस्यीय केन्द्रीय कमिटी छ। ३४ सदस्यीय पोलिटब्युरो र ७ सदस्यीय स्थायी कमिटी छ। यी सबै कुनै न कुनै हिसाबले पार्टीको श्रम र उत्पादन संस्कृतिको अंग बनिरहेको क्षेत्रीको भनाइ छ।
'श्रम बगाउन नसक्ने र उत्पादनसँग गाँसिन नसक्ने कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता हुनै सक्दैनन् भन्ने हाम्रो विश्वास हो,' क्षेत्रीले भने, 'हामीले समाजवादको आधार बनाउँदैछौं भनिरहेका छौं तर हाम्रो कृषि आत्मनिर्भर छैन। उत्पादनशील जनशक्ति स्वदेशमा छैनन्। स्वदेशी उत्पादन र स्वदेशी श्रम–संस्कृति नै आत्मनिर्भर अर्थतन्त्रको आधारशीला हो भन्ने हाम्रो बुझाइ छ।'
गत वर्षसम्म नेकपाको उत्पादन पनि निर्वाहमुखी मात्र थियो। २०७७ यता उनीहरूले धान, मकै, गहुँ लगायत अन्नबाली उत्पादनमा जोड दिएका थिए। तर नेता–कार्यकर्ता श्रममा अभ्यस्त नभइसकेकाले र बजारीकरणको प्रबन्ध नमिलिसकेकाले उत्पादन बढ्न नसकेको विप्लवले बताएका छन्।
यस वर्षदेखि उनीहरूले व्यावसायिक उत्पादनमा जोड दिएका छन्। सामूहिकता र एकीकृत खेती प्रणाली त्यसको औजार हो। अहिले 'एक जिल्ला, एक उत्पादन' को अवधारणाअनुरूप उनीहरूले कृषि कम्युन विस्तार गरिरहेका छन्। कृषि कम्युन नेकपा संस्कृतिको आधार पनि बनेको छ।
गत वर्ष नेकपाले देशका विभिन्न जिल्लामा डेढ सय बिगाहामा धान खेती गरेको थियो। त्यसमा करिब १ हजार ७ सय क्विन्टल धान उत्पादन भएको कार्यालय सचिव क्षेत्रीले बताए। पोखराको जेठो बूढो, कपिलवस्तुको जिरा मसिनो, जुम्लाको मार्सी लगायत धानका प्रजाति थिए। त्यसलाई ब्रान्डिङ गरेर बजारीकरण गरेको क्षेत्रीले बताए।
गत वर्ष दुई सय टन हाराहारी आलु उत्पादन भएको विप्लवले बताएका छन्। यो फसललाई पनि बजारीकरण गरेको उनले बताए। 'अब हामी अकबरे खुर्सानीको बजारीकरण गर्दै छौं,' उनले भने।
नेकपाले हिमाल, पहाड, तराईसम्मै उत्पादन विस्तारको योजना बनाएको छ। नेकपाले गत वर्षबाट जुम्लाको हिमा गाउँपालिकामा स्याउ खेती सुरू गरेको छ। त्यहाँ उसले तीन सय रोपनीमा स्याउका बिरूवा लगाएको छ। केही वर्षबाटै त्यसले उत्पादन थाल्नेछ। कालिकोटको फोइमा चार सय रोपनी जमिनमा स्याउ खेती गरिरहेको कार्यालय सचिव क्षेत्रीले जानकारी दिए।
'अहिले हामीले पाँच हजार स्याउका बिरूवा लगाएका छौं। अब केही वर्षमै यसले उत्पादन थाल्नेछ,' क्षेत्रीले भने।
कालिकोटकै रूप्सामा उनीहरूले भेडापालन सुरू गरेका छन्। त्यो भेडीगोठमा डेढ सय भेडा छन्। बिस्तारै संख्या बढाउँदै जाने नीति लिएको उनले बताए।
सुनसरीको चार बिगाहा जमिन र झापामा पनि धान खेतीको तयारी भइरहेको क्षेत्रीको भनाइ छ। मोरङमा गत वर्षदेखि उनीहरूले गाईपालन सुरू गरेका छन्। मोरङको फार्ममा ११ वटा गाई छन्। दैनिक ६० लिटर दूध उत्पादन भइरहेको छ। स्थानीय बजारमा खपत हुने क्षेत्रीले बताए।
'अब केही समयभित्रै हामी इलाममा चियाखेती सुरू गर्दै छौं र आफ्नै नाममा ब्रान्डिङ गर्छौं,' क्षेत्रीले भने।
यसबाहेक उनीहरूले कपिलवस्तुमा छाडा गाईगोरू पालिरहेका छन्। सहरी क्षेत्र र ग्रामीण इलाकामा समेत अहिले पशु–चौपाया, विशेषतः गाई छाडा छाड्ने प्रचलन बढेको छ। दूध सुकेका थारा, बेत बसेका र दूध चुस्ने उमेरका गाई र हुर्किएका गोरूसमेत ल्याएर बाटा–जंगल, चउर–चौरस्तामा ल्याएर छाडिदिनाले सवारी दुर्घटनाको जोखिम बढिरहेका छन्। वन क्षेत्रमा जंगली जनावरले आक्रमण गरेर अंगभंग भएका त्यस्ता पशुचौपाया कारूणिक अवस्थामा भेटिन्छन्।
नेकपाले तिनै पशु चौपायाको उद्धार र संरक्षण दुवै गरिरहेको क्षेत्रीले बताए।
'हामीले कपिलवस्तुमा दुई सय त्यस्ता गाई पालेका छौं। कोही दुधालू छन्। कोही ब्याउने छन्। दूध नदिने, बेत बसेका गाईहरू मलका लागि काम लाग्छन्। ती पशु चौपायाको मल हामीले खेतबारीमा प्रयोग गरिरहेका छौं,' उनले भने।
अहिले उनीहरू एकीकृत स्वामित्व प्रणाली अन्तर्गत उत्पादनलाई विविधीकरण र विस्तृतीकरण गरिरहेका छन्। उनीहरूको कम्युनमा कसैले निजी र सामूहिक ढंगले खेती गर्न सक्छ। निजी उत्पादनबाट आर्जन भएको मुनाफा ४० प्रतिशत मात्र व्यक्तिको हुन्छ। ६० प्रतिशत पार्टीको कोषमा दाखिला हुन्छ।
महासचिव विप्लव आफै संलग्न भएर गरेको उत्पादनको स्वामित्व पूर्णतः पार्टीको रहने क्षेत्रीले बताए।
पार्टीले बिनाज्याला कसैलाई श्रममा लगाउन नहुने नीति पनि अघि सारेको छ। यसअनुसार पार्टीले खडा गरेको उत्पादन कम्युनमा पार्टी सदस्य जो कोही पसिना बगाउन सक्छन्। त्यसबापत ज्यालाबाट विमुख हुनुपर्दैन।
'त्यसरी श्रम गर्नेलाई हामीले दैनिक पाँच सयदेखि सात सय रूपैयाँसम्म दिने गरेका छौं। काम गर्ने समय पनि तोकिदिने गरेका छौं,' क्षेत्रीले भने।
नेकपाले आफ्नो कम्युनमा उत्पादित वस्तुको बजारीकरण गर्न कसरत गरिरहेको छ। नेकपाले काठमाडौं, बूढानीलकण्ठस्थित तल्लो पासिकोटमा सी व्यापार केन्द्र स्थापना गरेको छ। गत माघबाट सञ्चालनमा ल्याइएको सी व्यापार केन्द्रमा एकीकृत तथा लघु उद्यमबाट उत्पादित वस्तु बिक्री गरिनेछ।
'जसले स्वाधीन, आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र समाजवादको आधारशील तयार पार्न मद्दत पुर्याउनेछ,' क्षेत्रीले पार्टीले अवलम्बन गरेको सामूहिक उत्पादन नीतिलाई सैद्धान्तीकरण गरे।
विनोद चौधरीलाई बिक्री गरेको दुई लाख किलो आलु त्यही सामूहिक उत्पादन नीतिको परिणाम भएको उनी बताउँछन्।
(दाङबाट नारायण खड्काको सहयोगमा)
***