काठमाडौं महानगरपालिकाका नगर सभा सदस्यहरूले मेयर बालेन शाहलाई जतिसक्दो छिटो कार्यपालिका र नगर सभा बैठक डाक्न दबाब दिएका छन्।
नगर सभा सदस्यहरूको बुधबार बसेको अनौपचारिक भेलाले लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा नयाँ आर्थिक वर्षको बजेट कार्यक्रममाथि छलफल हुन नसकेको भन्दै तत्काल डाक्न दबाब दिएको हो।
यसअघि कार्यपालिकाका ४२ मध्ये ४१ सदस्यको अनौपचारिक भेलाले पनि छिटो बैठक डाक्न मेयर शाहलाई दबाब दिएको थियो।
बुधबारको भेलामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट निर्वाचित काठमाडौं महानगरका १५० भन्दा बढी जनप्रतिनिधिको उपस्थिति रहेको वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले जानकारी दिए।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कम्तिमा महिनाको एकपटक कार्यपालिका बैठक बस्ने व्यवस्था गरेको छ। तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन।
त्यस्तै, नगर सभा बैठक ६ महिनामा एकपटक अनिवार्य बस्नुपर्ने व्यवस्था छ। बजेटको मुखमा त नगर सभा बैठक बस्नैपर्ने महर्जनले बताए।
मेयर शाहले कार्यपालिका र नगर सभा दुवै बैठक छल्दै हिँडेपछि विकास निर्माण, नीतिगत लगायत कुनै पनि निर्णय हुन नसकेको उनको भनाइ छ।
'स्थानीय तहले असार १५ सम्म बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ। मेयर शाहले बैठक नबोलाएर महानगरलाई अन्यौलमा पारेपछि हामीले छलफल अघि बढाएका हौं,' महर्जनले भने, 'उहाँ (मेयरज्यू) कहिले नेतालाई गाड्ने भन्नुहुन्छ, कहिले सिंहदरबारमा आगो लगाउँछु भन्नुहुन्छ। महानगरभित्र चाहिँ उहाँले अभिभावकीय भूमिका खेल्न नसक्दा एकपछि अर्को समस्या देखिएको छ।'
मेयर शाहकै कारण आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको प्राथमिकताबारे छलफल गर्न नपाएको उनले बताए।
'बजेट कत्रो आउने, कस्तो आउने, आउने कि नआउने भन्नेमा समेत हामी जनप्रतिनिधिहरू अन्यौलमा छौं,' उनले भने, 'मेयर शाहलाई हाम्रो आग्रह छ– जनप्रतिनिधिहरूसँग भाग्न छाड्नूस्, जतिसक्दो छिटो बैठक डाकेर समस्या समाधानको बाटो खोज्नूस्।'
***