दक्षिण कोरियामा विपक्षी दलका नेता ली जे म्युङ राष्ट्रपति निर्वाचित भएका छन्।
मंगलबार भएको राष्ट्रपति निर्वाचनमा ४९ प्रतिशत मत प्राप्त गर्दै डेमोक्र्याटिक पार्टी अफ कोरियाका उम्मेदवार रहेका ली राष्ट्रपति निर्वाचित भएका हुन्।
यसअघिको सत्तामा रहेको पिपुल्स पावर पार्टी (पिपिपी)का उम्मेदवार किम मुन सोले ४२ प्रतिशत मत पाएका छन्।
राष्ट्रपति निर्वाचनसँगै दक्षिण कोरियामा यो वर्षको प्रारम्भदेखि नै सुरू भएको संक्रमणकालीन अवस्थाको अन्त्य हुने आकलन गरिएको छ।
गएको डिसेम्बर महिनामा राष्ट्रपति युन सुक योलले मुलुकमा सैनिक शासन लागूको प्रयत्न गरेका थिए। उनको प्रयत्न बिफल भएपछि झन्डै ६ महिना दक्षिण कोरियाले राजनीतिक उतारचढाव ब्यहोर्नुपरेको थियो।
सैनिक शासन जारी गर्न खोजेका योलविरूद्ध मुद्दा चलिरहेको छ। उनीमाथिको महाभियोग संवैधानिक अदालतले सदर गरेपछि त्यहाँ चुनाव भएको हो।
सैनिक शासन लाँद्न खोज्ने योल र उनको पार्टी पिपिपीलाई यसपालि जनताले उत्तर दिएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
राष्ट्रपति निर्वाचित भएका लीले मुलुकमा प्रजातन्त्रको रक्षा गर्दै देशलाई एकताबद्ध र अर्थतन्त्राई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको दल नेश्नल एसेब्लीमा सबैभन्दा ठूलो दल भएका कारण पनि आफ्ना नीतिहरू लागु गर्नका लागि लीलाई सहज हुनेछ।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ प्रतिशत भन्सार लगाएका कारण दक्षिण कोरियाको अर्थतन्त्र संकटग्रस्त बनेको छ। ट्रम्पसँग संवाद गरी अर्थतन्त्रलाई पुन लयमा ल्याउनुपर्ने चुनौती पनि लीसामु छ।