नेकपा (माओवादी) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को तेस्रो राष्ट्रिय सम्मेलन चार दिनदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा चलिरहेको छ।
जेठ १८ गतेदेखि चलेको सम्मेलन नयाँ नेतृत्व चयनसहित जेठ २० गते सक्ने कार्यसूची थियो। तर जेठ २२ गतेसम्म पनि नेतृत्व चयन प्रक्रिया सुरू भएको छैन।
सम्मेलनले २५१ सदस्यीय केन्द्रीय कमिटी, ३५ सदस्यीय पदाधिकारी, तीन वटा आयोग चयन गर्नुपर्ने हुन्छ।
आगामी अध्यक्षका लागि १३ जना आकांक्षी हुँदा अध्यक्ष मण्डललाई नेतृत्व चयन प्रक्रिया टुंग्याउन सकस भइरहेको छ।
बिहीबार नै नेतृत्व चयन प्रक्रिया टुंग्याउने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरिएको निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले जानकारी दिए।
‘अध्यक्षलगायत विभिन्न पदमा आकांक्षी बढेकाले प्रक्रिया सुरू गर्न ढिलाइ भएको हो। हिजोसम्म १३ जना अध्यक्षका आकांक्षी हुनुहुन्थ्यो, आजसम्म आइपुग्दा आकांक्षी ६ जना हुनुहुन्छ,’ उनले भने, ‘६ जनाका बीचमा सहमतिमै अध्यक्ष छान्न अहिले छलफल भइरहेको छ। आकांक्षीहरू सबैलाई एकै ठाउँमा राखेर कुराकानी भइरहेको छ। सहमतिका लागि दुई घन्टाको समय दिएका छौं, त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्छ।’
निर्वाचन समितिले अहिले उम्मेदवारको नामावली प्रकाशित गरेको छ। वाइसिएलको तेस्रो अधिवेशनका लागि १ हजार ५२२ जना प्रतिनिधि छन्।
बिहीबार बिहान १० बजेसम्म नामावलीमाथि दाबी विरोधको समय छुट्टयाइएको छ। बिहीबार बिहान ११ बजे मतदाताको अन्तिम नामावली टाँसेर मध्याह्न १२ बजेदेखि उम्मेदवारी दर्ताको कार्यसूची राखिएको भए पनि एक–डेढ घन्टा ढिलो हुने निवर्तमान अध्यक्ष शेर्पालीले जानकारी दिए।
‘निर्वाचन समितिले उम्मेदवारी दर्ता एक–घन्टा ढिलो हुन्छ भन्नुभएको छ,’ उनले भने, ‘तर आजै प्रक्रिया सुरू हुन्छ।’
उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमै जोड दिएका छन्। त्यसैले राष्ट्रिय सम्मेलन लम्बिएको हो। अहिले पनि उम्मेदवारहरूका बीचमा छलफल भइरहेको उनले बताए।
‘सहमतिमै नेतृत्व चयन गरे पनि निर्वाचनकै विधिबाट जानुपर्ने हुनाले मतदाता नामावली, उम्मेदवारी दर्ता र मतदानको समय छुट्टयाएर कार्यतालिका निकालिएको हो। सहमति पनि निर्वाचनकै अंग भएकाले त्यहीअनुसार तयारी गरेका छौं,’ उनले भने।
अध्यक्षमा केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामी, गणेश शाही, नवराज ऐर लगायतको नाम चर्चामा छ। बुधबारसम्म कुँवरको नाम चर्चामा आए पनि बिहीबार पुष्प ओलीको सम्भावना बढेको छ।
त्यस्तै पुलामी, शाही र ऐर पनि पछि हट्न पक्षमा नदेखिएको एक प्रतिनिधिले बताए।
‘नेतृत्वले कसलाई बनाउन चाहेको हो भनेर प्रष्ट चित्र आइसकेको छैन। छलफल चलिरहेको छ। अध्यक्ष प्रचण्डले जसलाई बनाउन भन्नुहुन्छ वा भन्नुभएको छ, अन्तिममा बन्ने त्यही हो। चुनाव हुन्छ जस्तो त हामीलाई पनि लागेको छैन,’ एक प्रतिनिधिले भने।
अध्यक्ष प्रचण्डले वाइसिएल सम्मेलनलगायत विषयमा आज पदाधिकारी बैठकसमेत राखेका थिए।
बैठकमा अध्यक्ष प्रचण्डले वाइसिएल सम्मेलनमा सहमतिका लागि प्रयास भइरहेको ब्रिफिङ गरेका थिए। अध्यक्ष प्रचण्डको जोड पनि सहमति होस् भन्ने नै रहेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए।
‘वाइसिएल सम्मेलन सहमतिमै टुंगिन्छ। लिडरसिपबारे मोटामोटी कुराकानी भयो तर नाममा ठ्याक्कै केन्द्रित भएर छलफल चलेन। योग्य, क्षमतावान, ऊर्जावान लिडरसिप हुनुहुन्छ। त्यसलाई पार्टीले निष्पक्षतापूर्वक हामीले पार्टीको सहजीकरण गर्नुपर्छ भन्ने निष्कर्ष हो,’ बैठकमा उठेका प्रसंगबारे बताउँदै सापकोटाले भने।