नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ।
उनी रौतहट–१ बाट निर्वाचित सांसद हुन्।
पतञ्जली योगपीठले जडिबुटीको खेती गर्न र आयुर्वेदिक अस्पताल खोल्न पाएको हदबन्दी छुट जग्गा बेच्न दिने निर्णय गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेपछि अध्यक्ष नेपालको सांसद पद स्वतः निलम्बनमा परेको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनको सांसद पद निलम्बन गरेको हो। उक्त ऐनको दफा ३३ मा यससम्बन्धी व्यवस्था छ।
दफा ३३ मा कुनै राष्ट्रसेवकविरूद्ध मुद्दा दर्ता भएमा र सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने प्रबन्ध छ।
अब माधवकुमार नेपालविरूद्धको मुद्दा किनारा नलागेसम्म उनको पद निलम्बनमा पर्नेछ।
यसरी सांसद पद निलम्बन हुने माधवकुमार नेपालएक्ला सांसद भने होइनन्। उनीजस्तै प्रत्यक्ष निर्वाचित अरू तीन जना संघीय सांसदहरूको पद पनि निलम्बनमा छ।
चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का सभापति रवि लामिछानेको सांसद पद पनि निलम्बनमा छ। सहकारी बचत ठगी तथा अपचलन र संगठित अपराधसमेतको मुद्दामा उनी अहिले पुर्पक्षका लागि थुनामा छन्। उनीविरूद्ध सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा छ। त्यही मुद्दा विचाराधीन रहेकाले सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार उनको सांसद पद स्वतः निलम्बनमा परेको हो।
नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद पनि निलम्बनमा छ। उनी सिन्धुपाल्चोक–२ का प्रतिनिधि सभा सदस्य हुन्।
उनीविरूद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
टेरामक्स प्रकरणमा गत जेठ १ गते उनीमाथि मुद्दा दर्ता भएकाले अख्तियार दुरूपोग अनुसन्धान आयोगसम्बन्धी ऐन २०५९ अनुसार नै उनको सांसद पद निलम्बन परेको हो।
अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीको सांसद पनि निलम्बनमा छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी २०८० असार १ गते पुर्पक्षका लागि जेल चलान भएका थिए। उनी उक्त मुद्दामा जेल चलान भएसँगै सांसद पद निलम्बनमा परेको थियो।
राप्रपाकी समानुपातिक सांसद गीता बस्नेत फरार छिन्। सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारीपछि उनी सम्पर्कविहीन बनेकी हुन्।
नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा गत वैशाखमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी भएको थियो।
उनी त्यसअघिदेखि नै प्रतिनिधि सभा बैठकमा अनुपस्थित छिन्।
वैशाख १८ गते प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनी फरार भएकी हुन्।
सांसद बस्नेतले चितवनको सनराइज सहकारीबाट २० करोड, बर्दियास्थित नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको छिपछिपे सहकारीबाट एक करोडभन्दा बढी बचत रकम ज्वाइँ नगेन्द्रबहादुर रिमाललगायतबाट निकासी परेको आरोप थियो।