हाजिरी जमानीमा छुटेर पनि अदालतमा हाजिर नभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्रीसमेत रहेका सांसद धवल शम्शेर राणा पार्टीको बैठकमा भने नियमित उपस्थित हुने गरेको पाइएको छ।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' का सदस्य सचिवसमेत रहेका मिश्र र समितिमा आन्दोलन परिचालन हेर्दै आएका राणा राप्रपाको पछिल्लो समय बसेको दुई वटै केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपस्थित थिए।
काठमाडौं उपत्यकाभित्रै रहेका मिश्र र राणा अदालत हाजिर नहुँदा हाजिरी जमानीमा छुट्दा बुझिलिने वकिल र स्वकीय सचिवलाई भने कुल ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए।
राज्यको नजरमा मिश्र र राणा फरार प्रतिवादी हुन्।
तर उनीहरू पार्टीको बैठकमा नियमितजसो जाने गरेका छन्। ‘उहाँहरूलाई फरार कायम गरिएको, अदालत हाजिर नहुँदा जरिवाना लगाइएका विषय आएका छन् तर उहाँहरू पार्टीको बैठकमा नियमित आइराख्नुभएको छ,’ स्रोतले भन्यो।
जेठ २० गते धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री धवल शम्शेर राणा उपस्थित थिए।
हेर्नुस् तस्बिर:

त्यसअघि जेठ १७ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा वरिष्ठ उपाध्यक्ष मिश्र र राणा पनि सहभागी थिए।
हेर्नुस् तस्बिर:

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको घटनापछि पक्राउ परेका मिश्र र राणा हाजिर जमानीमा छुटेका थिए। हाजिरी जमानीमा छुटेका व्यक्तिहरू प्रहरीले बोलाएको बेला र मुद्दा दर्ता गर्ने बेलामा उपस्थित हुनुपर्छ।
तर उनीहरू दुवै जना हाजिर नभएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतले जिम्मा लिएका वकिललाई जनही ५० हजारका दरले जरिवाना गरेका छन्।
धवल शम्शेरलाई वैशाख ७ गते उपचारका लागि हाजिर जमानीमा राख्ने निर्णय भएको थियो। उनी वैशाख १० गते भारतको मुम्बई गएर त्यसको चार दिनमै स्वदेश फर्किएका थिए। कमल थापा नेतृत्वको राप्रपा नेपालले रत्नपार्कमा गरेको कार्यक्रमपछि महामन्त्री राणा सार्वजनिक कार्यक्रममा भने देखा परेका छैनन्।
महामन्त्री राणालाई हाजिर जमानीमा रिहा गर्दा सरकारी वकिलको कार्यालय काठमाडौंले उनकी श्रीमती र स्वकीय सचिवको जिम्मामा छाडेको थियो। तर जेठ ११ गते मुद्दा दर्ता गर्नुपूर्व प्रहरीले राणालाई सम्पर्क गर्ने प्रयास गरेको थियो। महामन्त्री राणासँग सम्पर्क हुन नसकेपछि प्रहरीले प्रहरीले उनकी श्रीमतीसँग सोधपुछ गरेको थियो। उनले आफू काठमाडौं र महामन्त्री राणा नेपालगञ्ज रहेको बताएकी थिइन्। राणा सम्पर्कबिहीन भएपछि प्रहरीले उनको स्वकीय सचिवलाई ५० हजार रुपैयाँ जरिवाना गर्यो।
त्यसैगरी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारी वकिल र जिल्ला प्रहरी परिसर काठमाडौंले हाजिर जमानीमा राख्न मानेको थिएन। त्यसविरूद्ध मिश्रकी श्रीमती बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेकी थिइन्। सर्वोच्च अदालतले जेठ २ गते मिश्रलाई हाजिर जमानीमा राख्न आदेश दिएपछि उनी ५० दिन हिरासत बसाइँपछि हाजिरी जमानीमा रिहा भएका थिए।
हाजिर जमानीमा मिश्रलाई छाड्दा दुई जना वकिलले उनको जिम्मा लिएका थिए। मिश्रलाई अधिवक्ता श्यामबहादुर शाही र बसन्त ब्लोनको जिम्मामा छाडिएको थियो। मिश्र अदालतमा हाजिर नभएपछि उनीहरू दुवै जनालाई ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीको भनाइ छ।
जेठ ११ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्दा मिश्र र राणा उपस्थित भएका थिएनन्।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को उपदफा ४ अनुसार मुद्दा दर्ता गर्न अनुपस्थित रहे जरिवाना गर्न सकिने व्यवस्था छ।
हाल यो मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा ३९ जनाविरूद्धको मुद्दामा सुनुवाइ भइरहेको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र, राणासहित ५० जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो। त्यसमध्ये मिश्र र राणासहित ११ जना सम्पर्कमा नआएकोले फरार कायम छन्।
अदालतमा ३९ जनाको बयान सकेर बुधबारदेखि थुनछेक सुरू भएको हो। थुनछेक सकिएपछि न्यायाधीशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्ने आदेश दिनेछन्।
यस्तै चैत १५ गते भएको तीनकुनेकै घटनामा अन्य ११ जनाविरूद्ध पनि आपराधिक उपद्रव कसुरमा मुद्दा दायर भएको थियो। उक्त ११ जनाको मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शन हिंसात्मक हुँदा २ जनाको मृत्यु, सरकारी गाडी र पार्टी कार्यालय तथा जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।
मिश्र र राणा किन अदालत हाजिर भएनन् त?
पार्टी बैठकमा उपस्थित हुँदै आएका मिश्र र राणा अदालतमा हाजिर नहुनुको कारण छ।
अहिले नै अदालतमा हाजिर हुँदा फेरि हिरासतमा राख्न सक्ने भएकोले हिरासत बसाइँ छल्ने रणनीतिमा मिश्र र राणा रहेको स्रोतको भनाइ छ।
अदालतमा मुद्दा दर्ता हुँदा प्रहरीले मिश्र र राणालाई हाजिर गराउनुपर्ने हो तर सम्पर्क हुन नसकेको भन्दै उपस्थित गराएको थिएन। मुद्दा दर्ता हुँदा दुर्गा प्रसाईंसहित ३९ जना भने अदालतमा हाजिर भएका थिए। त्यसैले उनीहरूको बयान सकिएर अहिले थुनछेक बहस जारी छ।
यही बीचमा पनि मिश्र र राणा अदालतमा हाजिर हुन सक्थे। हाजिर भएको खण्डमा बयान र थुनछेक बहस अघि बढिसकेको हुन्थ्यो तर अब हाजिर हुँदा मिश्र र राणाको हकमा पनि फेरि बयान र थुनछेक हुनेछ। उनीहरू अदालतमा हाजिर भएनन् भने यो विषय अदालती प्रक्रियाअनुसार अघि बढ्छ।
यो पनि: कति बलियो छ राज्यले मिश्र र राणा विरूद्ध लगाएको राजद्रोह मुद्दा?