पार्टी अध्यक्ष माधवकुमार नेपालविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका नेताहरू छलफलकै क्रममा छन्।
यस विषयमा पार्टी बैठकपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने बताइरहेका नेताहरुले अध्यक्ष नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधेर आक्रमण भएको आरोप लगाइरहेका छन्।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको दिन बिहीबार अध्यक्ष नेपाल पार्टी कामका लागि रौतहटमा थिए। उनी काठमाडौं फर्कने क्रममा रहेको नेताहरुले जानकारी दिएका छन्।
रौतहटमा सञ्चारकर्मीसँगको कुराकानीमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पतन्जली जग्गा प्रकरणमा आफूले कुनै अनियमितता नगरेको प्रतिक्रिया दिएका छन्।
पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीको निर्देशनमा मुद्दा दायर भएको देखिन्छ भन्ने अभिव्यक्ति दिएको बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा नेपालले पाण्डेको भनाइमा समर्थन जनाएका छन्।
नेपालको दाबी छ ‘सिधा कुरा हो, उहाँ मेरो विरुद्धमा सुरूदेखि लाग्नुभएको पनि हो। मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो। पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो। उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो।’
पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै अर्का नेता बेदुराम भुसालले अध्यक्षमाथि प्रतिशोध साँधिएको दाबी गर्दै यसको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने बताए।
मुद्दाको सम्बन्धमा राजनीतिक र कानुनी पक्ष रहेको बताउँदै उनको प्रतिक्रिया थियो ‘राजनीतिक प्रतिशोध साँधेर जुन आक्रमण भएको छ, यसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं। कानुनी पक्षको कुरामा हामी कानुनी हिसाबमा नै प्रतिवाद गर्छौं।’
पार्टीका पोलिटब्युरो सदस्य अशेष घिमिरेले प्रधानमन्त्री ओली ‘विरोधीहरूलाई समाप्त पार्ने फासिवादी प्रतिशोध’ मा उत्रेको आरोप लगाएका छन्। ‘हामी न्यायिक र विश्वसनीय छानबिनका लागि तयार छौं,’ उनले भने ‘तर, आफै अनेक काण्डमा जेलिएको ओली सरकार र उसका नियन्त्रणमा रहेका राज्यका अंगले त्यसरी छानबिन गर्लान् भन्ने अपेक्षा छैन। यो सरासर प्रतिशोध हो।’
विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीसहित ९३ जना विरुद्ध मुद्दा दायर भएको हो।
अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरिएको छ।
काभ्रेमा रहेको पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाल सहितको बयान लिएको थियो। २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो। पूर्वकानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्तलगायतविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।