सत्तापक्ष र प्रतिपक्ष दलबीच दिनभरि छलफल भए पनि सहमति जुट्न नसक्दा प्रतिनिधि सभा बैठक आइतबार पनि बस्न सकेन।
दलहरूबीच सहमति जुटेपछि सुरू गर्न सभामुख देवराज घिमिरेले सूचनामार्फत दुई पटकसम्म बैठक सारेका थिए। अर्कोतर्फ दलहरूबीच संसद भवनकै शंकर हलमा छलफल भइरहेको थियो।
छलफलमा सहमति नजुटेपछि साँझ साढे ६ बजे छोटो समयका लागि बैठक बसेर सोमबार दिउँसो २ बजे बस्नेगरी स्थगित गरिएको छ।
दिनभरिको छलफलपछि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले थप समय मागेपछि आइतबार नै संसदको अवरोध हटाउने प्रयास सफल हुन सकेन।
शंकर हलमा कांग्रेसले विपक्षी दल र एमालेसँग समानान्तर छलफल गरेको थियो।
तत्काल छानबिन समिति नबन्ने विषय सभापति देउवाले शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जानकारी गराइसकेका थिए।
शंकर हलको छलफलमा कांग्रेसले सोही 'बटमलाइन'मा रहेर प्रतिपक्षी दलहरूसँग संसद खुलाउने अन्य उपायबारे छलफल गरेको थियो।
अख्तियारले छानबिन गरिरहेको विषयमा अर्को समिति नबनाउने पक्षमा एमाले पहिलैदेखि अडिग छ।
नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कांग्रेससँगको छलफल पछि समझदारीका लागि दुई बुँदे ड्राफ्ट तयार पारेका थिए। जसको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने भन्ने उल्लेख छ।
दोस्रो बुँदामा भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित नितिगत विषयमा अध्ययन गर्न संरचना/ व्यवस्था गर्न सरकारले ठोस पहल गर्ने उल्लेख छ।
बस्नेतले तयार गरेको मस्यौदामा छानबिन र समिति भन्ने शब्द नपरेपछि रास्वपाका नेताहरूले बैठक सुरू गर्न सहमति जनाएनन्।
बैठकमा संसद पनि खुलाउने प्रतिपक्षीको माग पनि सम्बोधन हुने 'मध्यमार्गी उपाय'बारे छलफल भएको थियो।
त्यो भनेको अख्तियारले अनुसन्धान सकेपछि आयोग वा अध्ययन समिति बनाएर भिजिट भिसा प्रकरणबारे छानबिन गर्ने भन्ने हो।
सत्तापक्ष त्यसमा लिखिति सहमति गर्न तयार भए प्रतिपक्षी सदन खोल्न सहमत भएका थिए।
त्यसपछि कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट शक्ति बस्नेत र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले सहमतिको ड्राफ्ट तयार पारेका थिए।
ड्राफ्ट तयार भएपछि माओवादीले अरू विपक्षी दलहरूसँग छलफल गरेको थियो।
उक्त ड्राफ्टमा 'छानबिन समिति' भन्ने उल्लेख नरहेको एक नेताले बताए। बरू भिजिट भिसा प्रकरणमा अध्ययन गर्ने 'संरचना' बनाउने भन्ने उल्लेख रहेको ती नेताले बताए।
रास्वपाले यही विषयलाई लिएर समय मागेको ती नेताको बुझाइ छ। रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आइरहेको छ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने मस्यौदा अमूर्त भएकाले थप समय मागेको बताए।
'अहिले सामान्य ड्राफ्ट बनेको छ। त्यसमा समितिको कुरा छैन। सोमबार फेरि मस्यौदा बनाउन प्रतिपक्षी दलको बैठक बस्छौं। त्यसपछि २ बजेसम्म सदन खुलाउने कोशिस छ,' उनले भने।
प्रतिनिधि सभा बैठक सोमबार दिउँसो २ बजे बस्दैछ।
'त्यसभन्दा अगाडि सहमति जुटाएर बैठक सञ्चालनको प्रयास गर्छौं,' प्रमुख सचेतक परियारले भने।
एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले छानबिनका लागि गठन गर्ने भनिएको संरचना अख्तियारको छानबिनपछि बनाउने जेन्टल एग्रिमेन्ट भएको बताए।
नेपाली कांग्रेसले माओवादीसँगको छलफलपछि संरचना निर्माणबारे एमालेसँग कुराकानी गरेको थियो।
एमाले छानबिन समिति बनाउन तयार छैन।
संरचना बनाउने विषयमा चाहिँ कांग्रेसले एमालेका विष्णु पौडेल, योगेश भट्टराई, पदम गिरि र महेश बर्तौलासँग छलफल गरेको थियो।
समानान्तर छलफल गरेको सदन खुलाउन कांग्रेसले आफै अग्रसरता लिए पनि आइतबार सदन खुल्न सकेन।
आन्तरिक छलफलमा सहकारीमाजस्तै अहिले पनि समिति बनाउन नहुने पक्षमा एमालेको अडान रहेको कांग्रेसका नेताहरू बताउँछन्।
सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलहरू लगातार लागि परिरहेकाले सोमबारदेखि बैठक चल्ने विश्वास व्यक्त गरेका छन्।