नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानको व्यवस्थाअनुसार दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय समिति बैठक राख्नुपर्ने हो तर ९ महिना हुँदा पनि केन्द्रीय समिति बैठक राखेका छैनन्।
कांग्रेस केन्द्रीय समिति २०८१ साउन २३ गतेदेखि भदौको १६ गतेसम्म बसेको थियो, त्यसपछि केही कार्यसम्पादन र दुइटा आकस्मिक केन्द्रीय समिति बैठक मात्रै बसेको छ।
सभापति देउवा विधानअनुसार चलेको भए ९ महिनाको अवधिमा चार पटक केन्द्रीय समिति बसिसकेको हुन्थ्यो भने कार्यसम्पादन ९ पटक बसेको हुन्थ्यो। कार्यसम्पादन समिति बैठक महिनामा कम्तिमा एक पटक राख्नुपर्ने हुन्छ।
विधानको धारा २५ को उपधारा १४ ले केन्द्रीय सभापतिले प्रत्येक दुई महिनामा एक पटक केन्द्रीय समिति र महिनामा एक पटक कार्यसम्पादन समिति राख्नुपर्ने व्यवस्था गरेको छ।
तर सभापति देउवाले सरकार र पार्टीका आन्तरिक गतिविधिबारे पदाधिकारी तथा पूर्वपदाधिकारीबाट सुझाव लिने र केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गराउने गर्दै आएका छन्।
विधानअनुसार केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकबीचमा कार्यसमितिले गर्नुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्ने व्यवस्था छ।
त्यसकारण सभापति देउवाले निर्णयलाई वैधानिकता दिन कार्यसम्पादन समिति बैठक राख्छन् तर कार्यसम्पादनको निर्णय केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने हुन्छ।
केन्द्रीय कार्यसमिति बैठक ९ महिनासम्म नबस्दा यसबीचमा केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन हुन सकेको छैन।
समयरेखामा हेरौं सभापति देउवाले कहिले कुन बैठक राखे;
- २०८१ साउन २३ देखि भदौ १६ गतेसम्म सानेपामा केन्द्रीय समिति बैठक, ०८० फागुन ७ देखि १० गतेसम्म चलेको महासमितिका सबै प्रस्ताव परिमार्जनसहित पारित।
- २०८१ असोज १३ गते सभापति निवासमा केन्द्रीय कार्यसम्पादन समिति बैठक, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल।
- २०८१ मंसिर ३ गते आकम्मिक केन्द्रीय समिति बैठक, पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा शोक प्रस्ताव पारित।
- २०८१ मंसिर २४ गते सभापति निवासमा केन्द्रीय कार्यसम्पादन समिति बैठक, उमेश श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेको विषयलाई अनुमोदन। साथै, गण्डकी प्रदेश सभाको रिक्त सांसद (समानुपातिक) मा सुनिता थापा मनोनयनको निर्णय। तरूण दल र किसान संघको विधान परिमार्जनसहित पारित।
- २०८१ पुस १ गते आकस्मिक केन्द्रीय समिति बैठक, पिएल सिंहको निधनमा शोक प्रस्ताव पारित।
- २०८१ चैत १० गते सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक। यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त। साथै जनसम्पर्क समिति अध्यक्ष स्वत महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुने व्यवस्था हटाउने र क्रियाशील सदस्यता प्राप्त विदेशी नागरिकको हकमा निजहरूको क्रियाशील सदस्यता जनसम्पर्क समिति सदस्यतामा रूपान्तरण हुने निर्णय।
- २०८२ वैशाख २ गते सूचना निकालेर वैशाख १७ गतेदेखि केन्द्रीय समिति बैठक आह्वान। तर वैशाख १० मा अर्को सूचना निकालेर अनिश्चितकालका लागि केन्द्रीय समिति स्थगित।
अर्को मिति तय नभएसम्म केन्द्रीय समिति बैठक स्थगित गरेको कांग्रेसले अहिले संसद बैठक देखाएर केन्द्रीय समिति बोलाउन ढिलाइ गर्ने भएको छ।
तर केन्द्रीय सदस्यहरूले भने सभापतिले केन्द्रीय समिति बैठक नराखेर विभिन्न विषयमा सहमति खोज्न शीर्ष नेताहरूसँग छलफल गर्ने गरेकोमा आलोचना गरेका छन्।
‘९ महिनादेखि केन्द्रीय कार्यसमिति बैठक बसेको छैन, पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निस्क्रिय बनाएर केही सीमित शीर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको छ,’ केन्द्रीय सदस्य नैनसिंह महरले भने।
उनले विधानले दिएको समयसीमा घर्किँदै जाँदा पनि १५ औं महाधिवेशनको प्रक्रिया सुरू नभएकोमा चिन्ता व्यक्त गरे।
कांग्रेसले २०७८ मंसिरमा महाधिवेशन गरेकोले अर्को महाधिवेशन २०८२ मंसिरमा गर्नुपर्ने हो। विधानमा पनि ४ वर्षमा महाधिवेशनको व्यवस्था छ। तर विधानले सभापतिलाई दिएको अधिकार प्रयोग गरेर एक वर्ष कार्यकाल लम्ब्याउने अभ्यास कांग्रेसभित्र छ।
‘विधानको समयसीमा घर्किँदा पनि महाधिवेशन प्रक्रिया सुरू नहुनुले पदाधिकारीको नियतमाथि शंका उत्पन्न भएको छ,’ केन्द्रीय सदस्य महरले भने।
कांग्रेसले असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न मातहत समितिलाई निर्देशन दिएको छ भने त्यसपछि नयाँ क्रियाशील सदस्यता वितरणको योजना छ।
विभिन्न जिल्लाबाट क्रियाशील सदस्यतालाई लिएर २१ सय उजुरी अनुशासन समितिमा आएका छन्। त्यो पार लगाएर क्रियाशील सदस्यता नामावली टुंगो लगाउन कांग्रेसलाई अझै समय लाग्ने देखिन्छ। क्रियाशील नटुंगिँदा महाधिवेशनको मिति धकेल्न मद्दत पुर्याउँछ भनेर कतिपय नेताहरूले विरोध गरिरहेका छन्।
साथै केन्द्रीय सदस्य महरले वर्तमान सत्ता गठबन्धनले बनाएको 'उच्चस्तरीय राजनीतिक संयन्त्र' र पार्टीभित्र पदाधिकारी बैठक का नाममा भइरहेका निर्णय प्रक्रियामाथि प्रश्न उठाए।
‘संविधानले नचिनेको संयन्त्रले सरकारलाई निर्देशित गर्ने र विधानले नचिनेको सीमित पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्ने प्रवृत्ति हाबी भएको छ। यो अभ्यासले देशमा विधिको शासन र पार्टीमा आन्तरिक लोकतन्त्र दुवैमाथि चुनौती थपिएको छ, यसलाई रोक्नुपर्छ, केन्द्रीय समितिमै छलफल गरी निर्णय लिनुपर्छ,’उनले भने।
केन्द्रीय सदस्य डिला संग्रौलाले केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बताइन्।
‘केन्द्रीय समिति बैठक डाक्नुपर्छ, दुई-दुई महिनामा बस्ने भनेको लामो समयसम्म बसेको छैन। राष्ट्रिय राजनीति चर्केको र धेरै इस्यू पनि उठिरहेकोले केन्द्रीय समिति बैठक राख्नुपर्छ,’ उनले भनिन्।
अर्का केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समिति दुई महिनाभन्दा पर धकेल्न नमिल्ने भए पनि ९ महिनासम्म बस्न नसकेको बताए।
‘राष्ट्रिय राजनीतिमा बढी से बढी सक्रिय हुनुपर्ने दलको केन्द्रीय समिति बैठक समयमा नबस्नु भनेको त्यो आफैमा अस्वाभाविक हो, यसबीचमा धेरै राजनीतिक मुद्दा ग्राउण्डमा आइरहेका छन्, त्यसमा आफ्नो दृष्टिकोण प्रष्ट गर्दै भावी कार्यदिशाहरू तय गर्दै जानुपर्नेमा कांग्रेस चुक्नु हुँदैन,’ उनले भने, ‘केन्द्रीय समिति एक पटक बोलाएर पनि स्थगित भएकोले अब छिट्टै बस्ला भन्ने त अपेक्षा छ। एउटा बैठक र अर्को बैठकबीचको समय दुई महिनाभन्दा पर लैजान नमिल्ने विधानको पनि व्यवस्था छ।’
पार्टीले महासमिति बैठक बोलाउनुपर्ने अवस्था रहेको पनि उनले बताए। विधानमा हरेक वर्ष महासमिति बैठक राख्नुपर्ने व्यवस्था छ। ‘यो वर्ष महासमिति बैठक बोलाइएको अवस्था छैन, महाधिवेशनभन्दा अगाडि विधानमा संशोधन र परिमार्जन गर्नुपर्ने कुरा पार्टीका हरेक पङ्तिमा महसुस भइराखेको छ, धेरै कुरामा काम गर्न असजिलो भइरहेको छ,’ उनले भने, ‘त्यसकारण विधान मस्यौदा समिति बनाउनेलगायत कुरा केन्द्रीय समितिबाट गर्नुपर्नेछ।’
एकपछि अर्का बैठक आवश्यक रहेको अवस्थामा केन्द्रीय समिति बैठक पनि नराख्नुलाई स्वाभाविक मान्न नसकिने उनले बताए।
प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद चलेका बेला केन्द्रीय समिति बैठक नराख्न सभापति देउवालाई आग्रह गरेका थिए।
प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसद रहेका अधिकांश केन्द्रीय सदस्य रहेकोले सदन चलेका बेला केन्द्रीय समिति बैठक गर्दा ‘हाउसमा त्यसको प्रभाव पर्ने’ घिमिरेको भनाइ थियो।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पनि सदन चलिरहेकोले केन्द्रीय समिति बैठक नराखिएको बताए।
‘वैशाखमै केन्द्रीय समिति बैठक राख्ने तय गरिएको थियो, संसद बैठकसँग जुध्छ भनेर बैठक सारियो, अधिकांश केन्द्रीय सदस्य सांसद रहेकोले सदनमै व्यस्त रहनुपर्ने भयो,’ उनले भने, ‘बजेट पारित नहुँदासम्म सदनको कारबाही अवरूद्ध गर्न मिलेन, बजेट पारित भएपछि मात्रै अब केन्द्रीय समिति बैठक बस्छ भन्ने मलाई लाग्छ।’
लामो समयदेखि केन्द्रीय कार्यसमिति बैठक नबसेकोमा पार्टीभित्रै गुनासा आउन थालेका छन्। त्यसप्रति लक्ष्य गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘धेरै कुरा केन्द्रीय कार्यसमिति बैठकबाटै निर्णय गराउनुपर्ने कुरा छन्, कार्यसम्पादन समितिका निर्णय पनि अनुमोदन गराउन बाँकी नै छ।’
कांग्रेसले गत मंसिर १६ मा भएको उपचुनाव समीक्षा पनि गरेको थिएन। ४४ रिक्त स्थानमध्ये १९ स्थान जिते पनि ०७९ को चुनावमा जितेका केही स्थानमा पार्टीका उम्मेदवार पराजित भएका थिए।
साथै असोज ७ देखि सांगठनिक गतिविधि प्रभावकारी बनाउन १०० दिने अभियान चलाएको थियो। जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि पनि खटिएका थिए। उनीहरूले प्रतिवेदन ल्याए पनि त्यो बुझेर केन्द्रीय समितिमा छलफल गरेको अवस्था छैन।
कांग्रेसमा महाधिवशेन, महासमिति र केन्द्रीय समिति सर्वोच्च निकाय हुन्।
यसअघि सभापति देउवाले एक वर्षसम्म केन्द्रीय समिति बैठक नबोलाएपछि केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समिति बैठक माग गर्दै ०८० असार ११ गते केन्द्रीय कार्यालयमा पत्र नै दर्ता गराएका थिए।
उसो त विधानअनुसार दुई महिनामा एक पटक केन्द्रीय समिति बैठक राख्ने कुरा व्यवहारिक नभएकोमा पनि पार्टीमा आवाज उठ्ने गर्छ।
२०८० असोजमा बसेको केन्द्रीय समिति बैठकमै केन्द्रीय सदस्यद्वय नारायण खड्का र रमेश रिजालले दुई महिनामा केन्द्रीय समिति राख्नु अव्यवहारिक भएको बताएका थिए।
‘काठमाडौं बस्ने केन्द्रीय सदस्यलाई दुई महिनामा एक पटक केन्द्रीय समिति ठिकै हुने भए पनि बाहिरकालाई हवाई भाडा नै चर्को पर्ने’ उनीहरूको टिप्पणी थियो, ‘एजेन्डा पनि खासै हुँदैन।’
कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ।
२०८० साउनमा बसेको केन्द्रीय समितिमा महामन्त्री गगन थापाले विधानअनुसार दुई महिनामा एक पटक केन्द्रीय समिति अनिवार्य बस्ने र वर्षमा कम्तीमा दुइटा केन्द्रीय समिति काठमाडौं उपत्यका बाहिर गर्ने प्रस्ताव गरेका थिए।
तर विधानकै व्यवस्थाअनुसार सभापतिले केन्द्रीय समिति राख्न सकेका छैनन्। त्यसो हुँदा क्रियाशील सदस्यतादेखि महाधिवेशन तयारी र कार्यतालिकासम्मका विषय ओझेलमा परेका छन्।