संघीय संसद भवन नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बसेको छ।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गरिरहेका छन्।
प्रतिनिधि सभा बैठक आज अपराह्न ३ बजेका लागि बोलाइए पनि निर्धारित समयमा सुरू हुन सकेन।
अहिले प्रतिपक्षी दलहरूको बैठक बसिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड' को कार्यकक्षमा बसेको बैठकमा रास्वपा, एकीकृत समाजवादीलगायत दलका नेताहरू उपस्थित छन्।
यसअघि आजै सिंहदरबारमा माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेबीच छलफल भएको छ।
प्रतिपक्षी दलहरूको साझा धारणा तय गर्न प्रतिपक्षी दलहरूको बैठक बसेको हो। रास्वपालाई मनाउने कोसिसमा माओवादी र एकीकृत समाजवादी छन्।
माओवादी र एकीकृत समाजवादी गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटिसकेको छ भने रास्वपाले उक्त मागलाई उठान गर्दै आएको छ।
‘रास्वपालाई मनाउन प्रतिपक्षी दलहरूको बैठककेन्द्रित छ, यसपछि सत्ता पक्षसँग पनि बैठक हुन सक्छ,’ एक नेताले भने।