प्रतिनिधि सभामा देखिँदै आएको गतिरोध अन्त्यका लागि प्रमुख तीन दलबीच सहमति जुटेको छ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) तथा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएको हो।
भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने उनीहरूबीच भएको सहमतिको पहिलो बुँदामा उल्लेख छ।
साथै दोस्रो बुँदामा भने अध्यागमन कार्यालयमा विगतदेखि देखिएका समस्याहरूलाई अध्ययन छानबिन गर्ने कुरा उल्लेख छ। यद्यपि यो सहमति औपचारिक रूपमा दलहरूले सार्वजनिक गरिसकेका छैनन्।
अध्यागमनमा देखिएका नीतिगत, संरचनागत र कानुनी समस्याहरूलाई अध्ययन छानबिन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गर्ने कुरा सहमतिको बुँदामा समावेश छ।
तर प्रतिपक्षी दलहरूले माग गर्दै आएजस्तो गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति (जाँचबुझ आयोग वा समिति) बारे तीन दलबीचको समझदारीमा केही उल्लेख छैन।
भिजिट भिसा प्रकरणमा देखिएको समस्या समाधान गर्न सरकारलाई नै जिम्मा दिन तीन दल सहमत देखिएको एमालेका एक नेताले सेतोपाटीलाई जानकारी दिए।
कांग्रेस-एमाले र माओवादीबीच दुई बुँदामा सहमति भएपछि प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफलमा छन्।
भिजिट भिसाबारे अध्ययन छानबिन भन्ने शब्द सहमतिमा उल्लेख रहेको भन्दै प्रचण्डले यही सहमतिमा आउन रास्वपालाई आग्रह गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ।
प्रतिपक्षी दलहरूको आज बसेको पहिलो बैठकले छानबिन समिति साझा धारणा रहेको निष्कर्ष निकालेको थियो।
प्रतिनिधि सभाको आजको बैठक अपराह्न ३ बजेका लागि बोलाइए पनि सहमति जुटाउन भन्दै ५:३० बजेसम्मका लागि स्थगित भएको थियो। उक्त समयमा पनि प्रतिनिधि सभा बैठक चल्न सकेको छैन।
दलहरूबीच सहमति जुटेका खण्डमा आज प्रतिनिधि सभा बैठक बस्न सक्छ।