नेपाल रिपब्लिक मिडियाले निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले धम्की दिएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ।
नागरिक र रिपब्लिका दैनिकमा पत्रकार दिलभूषण पाठकको गिरफ्तारी वारेन्ट जारीसम्बन्धी प्रकाशित भएका समाचारलाई लिएर परराष्ट्रमन्त्री राणाले निर्देशक ज्ञवालीलाई फोन गरी धम्की दिएको विज्ञप्तिमा उल्लेख छ।
यो पनि: शोभा ज्ञवालीसँग भएको कुराकानी तोडमोड गरी धम्की आयो भन्दै समाचार आउँदा अचम्म लागेको छ: परराष्ट्र मन्त्री राणा
उक्त धम्कीप्रति नेपाल रिपब्लिक मिडियाले गहिरो खेद प्रकट गरेको छ।
‘परराष्ट्र मन्त्री राणाका अभिव्यक्ति पूर्णतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरूद्ध र स्वतन्त्र प्रेसलाई ठेगान लगाउने धम्कीयुक्त रहेका थिए,’ नेपाल रिपब्लिक मिडियाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री राणाले निर्देशक ज्ञवालीलाई बिहीबार दिउँसो १:५३ बजे आफ्ना निजी सहायक कमल रावलको ह्वाट्स एपबाट टेलिफोन गरी मिडिया र यसका सञ्चालकहरूलाई धरासायी गराइदिने धम्की दिएको पनि विज्ञप्तिमा उल्लेख छ।
महिला उद्यमी महासंघका अध्यक्षसमेत रहेकी ज्ञवाली आफ्नो कार्यालय विशालनगरतर्फ गइरहेका बेला परराष्ट्र मन्त्री राणाले करिब चार मिनेट टेलिफोनमा कुराकानी गरेकी थिइन्। सो क्रममा परराष्ट्र मन्त्री राणाले धम्कीपूर्ण भाषा प्रयोग गरेको नेपाल रिपब्लिक मिडियाको भनाइ छ।
‘पत्रकार पाठकले हिल्टन होटलको सेयरसम्बन्धी समाचारमा आफूलाई मुछेको भनी परराष्ट्रमन्त्री राणा र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाले दिएको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतको पक्राउ आदेश दिएको समाचार नागरिक र रिपब्लिकामा प्रकाशित भएको थियो। यसका साथै रिपब्लिकामा प्रेस काउन्सिल नेपाल, एफएनजे मस्ट एक्ट टु रेस्टोर मिडिया-जुडिसियरी ट्रस्ट' शीर्षकमा सम्पादकीय लेखेको थियो। उहाँको आक्रोश यी समाचार सामग्रीमाथि रहेको प्रष्ट देखिन्छ,’ नेपाल रिपब्लिक मिडियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
निर्देशक ज्ञवालीले 'विनम्रतापूर्वक आफूले ती समाचार सामग्री र सम्पादकीय नपढेको र पढेपछि त्यसबारे आफ्नो धारणा बताउने भन्दा भन्दै परराष्ट्रमन्त्री राणाले एकोहोरो आक्रमण गरिरहनु भयो। परराष्ट्रमन्त्री राणाले पत्रकार पाठकमाथि उनको युट्युब च्यानल प्रेस काउन्सिल नेपालमा दर्ता नभएका कारण नेपाल प्रहरीको साइबर ब्युरोमार्फत् कारबाही अगाडि बढाइएकोसमेत बताउनुभयो। राणाका अभिव्यक्ति पूर्णतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध र स्वतन्त्र प्रेसलाई ठेगान लगाउने धम्कीयुक्त रहेका थिए’ विज्ञप्तिमा उल्लेख छ।
एकजना उदीयमान महिला उद्यमीमाथि परराष्ट्रमन्त्री स्तरबाट भएको आक्रामक अभिव्यक्तिले गम्भीररूपमा भावनात्मक प्रभाव मात्र नभई यसले सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको विश्वासमा समेत धक्का पुऱ्याएको नेपाल रिपब्लिक मिडियाको भनाइ छ।
‘संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्दा पूर्णतः तथ्यपूर्ण हुनुपर्छ भन्नेमा नेपाल रिपब्लिक मिडिया विश्वास गर्छ। मन्त्री राणाबाट भएको यो व्यवहारमाथि निष्पक्ष छानबिन भई भविष्यमा यस्तो व्यवहार नहुने सुनिश्चित गरियोस्। साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध राज्य केन्द्रमा हुने दम्भको अन्त्य होस् भन्ने माग गछौं,’ विज्ञप्तिमा उल्लेख छ।

जयवीर देउवाको फोटो राखेर हिल्टन होटलबारे स्टाटस लेखेका राप्रपा युवा संगठनका संयोजकविरूद्ध मुद्दा दायर
जयवीर देउवाले हिल्टन होटल किने भन्ने खबरमा शंकर ग्रुपको खण्डन
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी
दिलभूषणलाई साइबर ब्युरो होइन, अदालतमा उभ्याऊ!