राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा राजनीतिक गठबन्धनबाट स्वतन्त्र भएको बताएका छन्।
रास्वपा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आह्वान गरेको विपक्षी दलहरूको बैठकमा सामेल हुँदै आएको थियो।
यो पनि: सहमतिका लागि रास्वपाले कांग्रेसलाई पठायो प्रस्ताव
सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच आज भिजिट भिसा प्रकरणमा २ बुँदे सहमति भएको थियो।
त्यसपछि रास्वपा सांसद झाले भने, ‘हामीले अघि सारेका ५ बुँदे माग यथावत छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक गठबन्धनबाट स्वतन्त्र भयो। हामी सदन अवरूद्ध गर्छौं, सदनमा सुनेन भने सडकमा सुन्नेछ,’ उनले भने।
उनका अनुसार माओवादीले सहमतिका लागि रास्वपासँग आग्रह पनि गरेको थियो।
‘माओवादीले सहमतिका लागि हामीलाई पनि आग्रह गरेको थियो। तर उहाँहरूले गरेको सहमतिमा समस्याको सामाधान गर्ने ठोस प्रस्ताव उल्लेख नभएकाले हामी सहमत हुन सकेनौं। उहाँहरूले छानबिन समिति बनाउने भन्नुभएको छ, त्यो समिति गृह मन्त्रालयका कुनै सहसचिवको नेतृत्वमा बन्न सक्छ। त्यसले समस्याको कुनै समाधान गर्दैन,’ उनले भने, ‘माओवादीसँग मायाप्रीति जारी रहने गरी अहिलेलाई पारपाचुके भएका छौं। १८/२० दिन हामीसहितको विपक्षी मोर्चाको नेतृत्व गर्नुभएकोमा प्रचण्डजीलाई धनवाद दिन चाहन्छौं।’
माओवादीसहित विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति माग गर्दै आएका थिए।
अरू विपक्षी दलले यो माग छाडे पनि रास्वपा र राप्रपा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमा छन्।
प्रतिनिधि सभा बैठक आज अपराह्न ३:१५ बजेका लागि सारे पनि अहिलेसम्म बैठक बसेको छैन।
यो पनि: भिजिट भिसा प्रकरणमा सत्ता र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमतिमा हस्ताक्षर (पत्रसहित)