प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभामा अवरोध जारी राख्ने भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) संसद खुलाउन सहमति गरे पनि रास्वपा र राप्रपाले अवरोध जारी राखेपछि आइतबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
छलफलमा रास्वपा र राप्रपाले सदनमा अवरोध जारी रहने अडान लिएका हुन्।
बैठकपछि बोल्दै रास्वपा र राप्रपाका प्रमुख सचेतकले सदनको अवरोध जारी रहने बताएका छन्।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट आफूहरू पछि नहटेको बताएका छन्।
प्रमुख प्रतिपक्षले गरेको सहमति ठोस र कार्यान्वयन गर्ने र न्याय दिने हिसावमा भएन । जुन तहको छानविन हुनुपर्ने हो त्यो अनुसार हुन सकेन । झारो टार्ने काम र हामीलाई झुक्याउने काम भयो । रास्वपाले सहमति गरेन । सभामा विवेक चाहिन्छ,' उनले भने।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि सदनको अवरोध जारी रहने बताएका छन्।
'छानविन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्छ। गृहमन्त्रालय र सरकारले छानबिन समिति नबनाएसम्म छानबिन समितिको माग गर्दै विरोधका कार्यक्रम जारी राख्छौँ,' उनले भने।
आइतबार दुई प्रतिपक्षीले अवरोध गरे पनि सदन चलाउने सत्तापक्षको तयारी छ। यद्यपि ११ बजे बस्ने तय भएको बैठक पौने १ हुँदा पनि बसेको छैन।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सहमति गरेपछि शुक्रबार रास्वपाको विरोधका बाबजुद पनि संसद चलाइएको थियो।
संसदमा गृहमन्त्रीले जबाफ दिइरहँदा रास्वपाले वेल घेरेर नाराबाजी गरेको थियो।