अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाउँविकास समिति कार्यालयका तत्कालीन अध्यक्षसहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
सामाजिक सुरक्षा भत्ता वितरण हिनामिना आरोपमा तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
तत्कालीन गाविस अध्यक्ष श्रीवास्तव, सचिव सावितराय कुर्मी, अशोककुमार श्रीवास्तवविरूद्ध मुद्दा दर्ता गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
उनका अनुसार सामाजिक सुरक्षा भत्ता बुझ्नेहरू साहजिमा खातुन, अवधराम बढही, राम जिवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरीराम अहिर, बारी खाँ, मोति भुजुवा र सन्तराम बडहीविरूद्ध पनि मुद्दा दर्ता भएको छ।
२०५७ देखि २०७२ सम्म सामाजिक सुरक्षा भत्ता पाउने उमेर नपुगेका १९ जनालाई नागरिकतामा उल्लेखित जन्म मिति र जारी मिति अन्देखा गर्दै भत्ता कार्ड उपलब्ध गराएको अख्तियारको आरोप छ।
उनीहरूको नाममा ज्येष्ठ नागरिक, दलित, एकल महिला लगायत विभिन्न विषयमा अध्यक्ष र सचिवले मिलेमतोमा सामाजिक सुरक्षा भत्ताको लाभग्राही परिचयपत्र जारी गरेको देखिएको अख्तियारले जनाएको छ।
त्यसरी राज्यलाई ६ लाख ५६ हजार ७ सय रूपैयाँ नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले अध्यक्ष श्रीस्वातवसँग ६३ हजार ६ सय, सचिव कुर्मीसँग ६ लाख ५६ हजार र सचिव श्रीवास्तवसँग ५८ हजार रूपैयाँ विगो दाबी गरेको छ। भत्ता लिनेसँग पनि ३० देखि ६३ हजार रूपैयाँसम्म बिगो दाबी गरिएको अख्तियारले सहायक प्रवक्ता थपलियाले जानकारी दिए।