राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय बैठकमा सहभागी नभएको दिनको भत्ता नलिने निर्णय गरेको छ।
सोमबार संघीय संसद सचिवालयलाई पत्र लेख्दै राप्रपा संसदीय दलले आइतबार असार १ गतेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको र उक्त दिनको बैठक भत्ता फिर्ता गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो।
राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, 'हाम्रो पार्टीले उठाएका मागहरू निश्चित प्रकरणमा संसदमा अवरोध भएको समयमा पनि जबर्जस्त बैठक सञ्चालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले सो बैठक बापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरि सहयोग गरिदिनुहुन अनुरोध छ।'
राप्रपाले उक्त दिनको बैठक नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै भत्ता नलिने निर्णय गरेको जनाएको छ।
आइतबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी राखेको अवस्थामा सभामुख देवराज घिमिरेले बैठक कार्यसूचीमा अगाडि बढाएपछि राप्रपा बैठकबाट बाहिरिएको थियो।
