मोरङको ग्रामथान गाउँपालिकाको विवाद फेरि अदालत पुगेको छ।
अध्यक्ष नमोनारायण माझीले कार्यपालिका बैठकको निर्णय भन्दै एक्लै ११ वटा निर्णय गरेको भन्दै उपाध्यक्ष गुणवतीदेवी थारु उच्च अदालत गएकी हुन्।
अध्यक्षले एकल निर्णय गरेको भन्दै सोमबार उच्च अदालत विराटनगरमा रिट दायर गरेकी उपाध्यक्ष थारुको रिटमा मंगलबार सुनुवाइ भएको थियो।
न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले अध्यक्ष माझीविरुद्द कारण देखाउ आदेश जारी गरेको उपाध्यक्ष थारुले जानकारी दिएकी छन्।
'जेठ २ गते बसेको गाउँ कार्यपालिकाको बैठकका क्रममा कार्यपालिका सदस्यहरूसँग विवाद भएपछि बैठक छाडेर बाहिरिएका माझीले सोही बैठकको उपस्थिति देखाएर ११ वटा निर्णय गरेको पाएपछि म अदालत गएको हुँ,' उनले भनिन् , 'अवैधानिक निर्णय भएपछि अदालत जान बाध्य भए।'
उच्च अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने आदेश पनि दिएको छ। कार्यपालिका सदस्यहरूले बैठकको उपस्थितिमा हस्ताक्षर गरिसकेपछि अध्यक्ष माझी बैठक छाडेर रिसाउँदै बाहिरिएका थिए।
अध्यक्ष नै बैठक छाडेर हिंडेपछि उपाध्यक्ष थारूसहित कार्यपालिकाका अन्य सदस्यहरूले माइन्यूटमा ‘कुनै निर्णय हुँदा हाम्रो मान्य हुने छैन’ भन्ने लेखेर हस्ताक्षर गरी हिंडेका थिए।
कार्यपालिकाका सबै गएपछि अध्यक्ष माझीले सोही उपस्थितिलाई आधार बनाएर एक्लै ११ वटा निर्णय गरेको उपाध्यक्षको भनाइ छ।
ग्रामथानका जनप्रतिनिधिको विवाद यसअघि पनि पटकपटक अदालत पुगिसकेको छ। अध्यक्षले एकल निर्णय गरेको, आफू पालिकामा हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक अध्यक्ष दिएको लगायतका विषयमा उपाध्यक्ष थारु अदालत गइसकेकी छन्। अदालतले हरेकपटक अध्यक्ष माझीविरुद्द आदेश दिँदै आएको छ।
ग्रामथानमा गएको मङ्सिरको उपनिर्वाचनबाट माओवादीका माझी अध्यक्षमा निर्वाचित भएका थिए।
उपाध्यक्ष थारु एमालेबाट निर्वाचित भएकी हुन्। कार्यपालिकामा एमाले र काङ्ग्रेस बहुमतमा छन। अध्यक्ष माझी अल्पमतमा छन। अध्यक्ष एकलौटी रुपमा चल्न खोजेको भन्दै एमाले र काङ्ग्रेसका जनप्रतिनिधि सुरुदेखि नै माझीको विपक्षमा उभिँदै आएका छन्।
जनप्रतिनिधिको यही बेमेलले ग्रामथानमा पटकपटक तनाव पनि हुँदै आएको छ।