इसराइल–इरान युद्धमा अमेरिका पनि सहभागी हुन सक्ने संकेत देखिएको छ।
विभिन्न अमेरिकी मिडियाका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार कार्यक्रम रोक्ने इसराइली आक्रमणमा अमेरिकी सेनालाई सहभागी गराउने लक्षण देखिएको छ।
ट्रम्प इरानको आणविक भट्टीमा हमला गर्ने निष्कर्षमा पुग्दै गएको ती मिडियाहरूले जनाएका छन्।
इसराइल–इरान युद्धका कारण क्यानडामा आइतबारदेखि सुरू भएको जी–७ राष्ट्रहरूको सम्मेलन बीचमै छाडेर सोमबार ट्रम्प अमेरिका फर्किएका थिए। त्यसपछि मंगलबार उनले ह्वाइट हाउसमा रहेको 'सिचुएसन रूम' मा सरकारका उच्च अधिकारी र जनरलहरूसँग सो मामिलाबारे करीब ८० मिनेट बैठक गरेका थिए।
त्यो बैठक सकिनेबित्तिकै उनले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग टेलिफोन कुराकानी गरेका थिए। त्यसपछि अमेरिकाले इरानमाथि प्रहार गर्ने संकेत गर्दै त्यसो नहोस् भन्ने हो भने इरानले निःसर्त आत्मसमर्पण गर्नुपर्ने बताएका थिए।
अमेरिका युद्धमा सहभागी भए इरानले कडा जबाफ दिने र मध्यपूर्वमा रहेका अमेरिकी संरचनाहरूमा प्रहार गर्ने धम्की दिइरहेको छ। इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले इरानमा अमेरिकाले सैनिक हस्तक्षेप गरे अपूरणीय क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्।
'अमेरिकीहरूले थाहा पाउनुपर्छ कि इरानमा सैन्य हस्तक्षेप गरे उनीहरूले अपूरणीय क्षति बेहोर्नुपर्नेछ,' खमेनीका भनाइ उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले लेखेको छ।
तर पनि ट्रम्पले इरानी आणविक भट्टीमा प्रहार गर्ने निर्णय लिन लागेको देखिन्छ।
ट्रम्प बिस्तारै सो मामिलाको कूटनीतिक समाधान छाडेर अमेरिकी सैन्य शक्तिको प्रयोग गर्नेतर्फ ढल्किइरहेको सिएनएनले जनाएको छ।
त्यस्तै, युद्धमा सहभागी भएपछि हुने जटिल हवाघ आक्रमणका लागि अमेरिकाले बिस्तारै तयारी थालेको देखिन्छ। पछिल्ला केही दिनमा लडाकु र बमवर्षक विमान हावामा उड्दा उड्दै तिनमा तेल भर्न धेरै विमान अमेरिकाले मध्यपूर्वतर्फ पठाउन थालेको पनि समाचार आएका छन्।
अर्कोतर्फ, अमेरिका युद्धमा संलग्न हुने देखिएपछि हजारौं इरानी जनता राजधानी तेहरान छाड्न थालेका छन्। इसराइलले पहिले नै दक्षिण–पश्चिम तेहरानमा रहेका सैन्य संरचनामा प्रहार गर्ने भन्दै त्यहाँका सर्वसाधारणलाई सो इलाका खाली गर्न भनेको थियो। अमेरिका पनि युद्धमा सामेल हुने संकेत देखिएपछि जनताले तेहरान छोड्ने क्रम झन् बढेको छ।
यस्तोमा इरान सरकारले भने जनतालाई तेल (इन्धन) मा कोटा तोकेको छ। यसले तेहरान छाड्ने सर्वसाधारणलाई मुस्किल थपेको छ। पछिल्ला दिनमा आन्तरिक खपतका लागि तेल प्रशोधन गर्ने केन्द्रहरूमा इसराइलले प्रहार गरेका कारणले इरानले कोटा तोकेको मानिएको छ।
इरानको आणविक हतियार कार्यक्रम रोक्न इसराइलले गत साता हमला गरेपछि दुई देशबीच आक्रमण र प्रत्याक्रमणको शृंखला चलिरहेको छ। दुवै देशको आक्रमणको प्रभावकारितामा आकाश–जमिन फरक देखिन्छ।
गत अक्टोबरको आक्रमणमा इसराइलले इरानको धेरै एयर–डिफेन्स सिस्टम (हवाई सुरक्षा प्रणाली) इकाइ ध्वस्त पारेको थियो। गत साता पनि पहिले एयर–डिफेन्स सिस्टममै प्रहार गरेको थियो। अमेरिकामा बनेका अत्याधुनिक फाइटर–जेटहरू प्रयोग गरेर इसराइलले अहिले इरानको आकाशमाथि कब्जा जमाएको छ। जहाँ मनलाग्यो त्यहीँ प्रहार गरिरहेको छ। रातमा मात्रै नभएर दिनकै उज्यालोमा पनि बमबारी गरिरहेको छ।
इसराइलले पहिलो दिनमै इरानी सेनाको चेन–अफ–कमान्ड तोड्न इरानी सेना प्रमुख, उपप्रमुख, इस्लामिक रिभोलुसनरी गार्ड कोरका (आइआरजिसी) प्रमुख लगायत वरिष्ठ जनरलहरूको हत्या गरेको थियो। तिनको ठाउँमा नयाँ नियुक्त भएका जनरलहरूको पनि हत्या गरिरहेको छ। त्यस्तै इरानको आणविक हतियार कार्यक्रममा संलग्न धेरै वैज्ञानिक र विज्ञहरूको हत्या गरेको छ।
उता इरानले प्रहार गरेको प्रायः जसो मिसाइल भने तोड्न नसकिने जस्तो मानिने इसराइली एयर–डिफेन्स सिस्टमले खसालिरहेको छ। केही मिसाइल खसाल्न नसके पनि इसराइलमा लगभग सबै यहुदी जनताका लागि लुक्न मिल्ने निजी र सार्वजनिक बंकर छन्। त्यसैले धेरै ठूलो मानवीय क्षति हुँदैन।
अहिलेसम्म इरानमा सयौं मानिस मारिँदा इसराइलमा करिब २५ जना मारिएका छन्। यीमध्ये पनि धेरै जसो इसराइली सरकारले बंकरमा लुक्नु भनेर जारी गरेको सूचना बेवास्ता गरेर बाहिर बसेका थिए।
यसरी इसराइलले मनलाग्दी प्रहार गरिरहँदा इरानले भने इसराइलमा आक्कल झुक्कल मात्रै नोक्सान पुर्याउन सकेको छ।
इरानले सोमबार नयाँ तरिका अपनाएर, इसराइलका विभिन्न तहका एयर–डिफेन्स सिस्टमलाई एकअर्कामाथि प्रहार गर्न लगाएर सफल मिसाइल प्रहार गरेको दाबी गरेको थियो। तर उसको दाबी सही देखिँदैन। पहिले जस्तै अहिले पनि एक–दुइटा इरानी मिसाइलले मात्रै इसराइलमा नोक्सानी पुर्याइरहेका छन्।
यस्तोमा इसराइली प्रहारबाट जोगिन इरानले युद्धविरामका लागि पहल थालेको थियो। इरानले ओमान, कतार र साउदी अरबलाई युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 'लबिइङ' गरिदिन आग्रह गरेको थियो।
इसराइलले गत साता हमला गरेपछि इरानले अमेरिकासँग चलिरहेको वार्ता त्यागेको घोषणा गरेको थियो। अब युद्ध हार्ने देखिएपछि उसले फेरि अमेरिकासँग राम्रो सम्बन्ध भएका तीन देशमार्फत वार्ताका लागि सन्देश पठाएको मानिन्छ।
शनिबार ट्रम्पको ७९ औं जन्मोत्सवको शुभकामना दिन फोन गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युद्ध रोक्न आग्रह गरेका थिए। युक्रेनसँग लड्न इरानले रूसलाई ठूलो परिमाणमा आफूले बनाएको शाहिद ड्रोन दिएको थियो। अहिले ती ड्रोन रूसभित्रै उत्पादन हुन थालेका छन्। इरानले रूसलाई सस्ता गोलाबारूद पनि दिएको थियो।
गत डिसेम्बरमा सिरियामा बसर अल–असदको सत्ता ढलेपछि मध्यपूर्वमा आफ्नो प्रभाव भएको अर्को देशमा पनि सत्ता परिवर्तन नहोस् भनेर रूसले इसराइल–इरान युद्ध रोक्न लगातार ट्रम्प सरकारसँग पहल गरिरहेको मानिन्छ।
तर इरानको आणविक हतियार कार्यक्रम नरोकिइकन युद्धविराम हुने देखिँदैन।
इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम हतियार बनाउन नभएर शान्तिपूर्ण उद्देश्यका लागि हो भन्दै आएको छ। तर इसराइल, अमेरिका लगायत पश्चिमा राष्ट्रले इरानले आणविक हतियार नै बनाउन खोजेको भन्दै रोक्ने कोसिस गर्दै आएका छन्।
इरानले वार्ता गरेर आणविक हतियार कार्यक्रम नरोके इसराइल र अमेरिकाले आक्रमण गर्ने धम्की पहिल्यै दिएका थिए।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले आणविक हतियार कार्यक्रम रोक्नेबारे गरेको बहुराष्ट्रिय सम्झौता ट्रम्पले सन् २०१७ मा पहिलो पटक कार्यभार सम्हालेपछि तोडेका थिए। त्यसपछि वर्षौंसम्म अप्रत्यक्ष वार्ता भए पनि कुनै सफलता हासिल भएको छैन।
इसराइल र अमेरिकाले इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन नदिने चेतावनी दिइरहेका बेला ट्रम्पले दोस्रो कार्यकालमा अप्रत्याशित रूपमा इरानसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। ट्रम्पको नोबेल शान्ति पुरस्कार जित्ने उत्कट चाहना छ। रूस–युक्रेन युद्ध रोक्ने योजना सफल नहुने देखेपछि नोबेल पुरस्कारको आशमै ट्रम्पले इरानमाथि हमला नगरेर वार्ताको पहल गरेको कतिले अनुमान गरेका थिए।
सुरूमा त अमेरिकी वार्ता टोलीको नेतृत्व गर्ने ट्रम्पका अर्बपति मित्र स्टिभ विट्कफले झन्डै ओबामाले गरेकै खालका सर्तमा सम्झौता हुन सक्ने संकेत गरेका थिए। तर आफूले काम नलाग्ने भनेर पहिलो कार्यकालमा तोडेकै खालको सम्झौता गर्नु हुँदैन भनेर ट्रम्पलाई सल्लाहकारहरूले सम्झाए।
त्यसपछि अमेरिकाले आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने र अरू देशमा विभिन्न समूह सञ्चालन पनि नगर्ने भनेर कडा सर्त तेर्स्यायो।
अहिलेका आणविक भट्टीहरू बन्द गरेर ऊर्जा निकाल्ने लगायत गैरसैनिक प्रयोजनका लागि साउदी अरब लगायत देशहरूसँग संयुक्त आणविक कार्यक्रम चलाउनुपर्ने प्रस्ताव अमेरिकाले गरेको मानिन्छ।
केही मिडियाहरूका अनुसार अमेरिकाले प्रस्ताव गरेको संयुक्त आणविक कार्यक्रम इरानी भूमिमा सञ्चालन हुने हो भने इरानले मान्छ। कतिले त दबाब बढाउँदै लगे अरू देशमै सो कार्यक्रम चलाए पनि इरानले मान्छ भनेर अड्कल गरेका थिए।
छ दिनदेखिको इसराइली आक्रमणले कमजोर भएको इरानले अब सबैखाले आणविक कार्यक्रम पूर्ण बन्द नगरे अमेरिकासँग सम्झौता हुने देखिँदैन। सम्झौता नभइन्जेल इसराइलले प्रहार गरिरहने देखिन्छ।
अहिले इरानले चलाएको हिजबुल्लाह, हमास र असद नेतृत्वको सिरिया लगायत सम्मिलित 'एक्सिस अफ रेसिस्टेन्स' धराशायी भएको छ। इरान आफै पनि कमजोर छ। यस्तो अवस्थामा इरानले आणविक कार्यक्रम पूर्ण रूपमा बन्द नगरे इसराइल नरोकिने देखिन्छ।
इरानले आणविक हतियार बनाए आफूलाई ध्वस्त पार्छ भन्ने डरले इसराइलले उसलाई रोक्न हमला गरेको हो। अझ अहिले कमजोर भएको बेलामा कडा सर्त माने पनि बिस्तारै शक्ति सञ्चय गरेर इरानले फेरि आणविक हतियार कार्यक्रम अघि बढाउँछ भन्ने डर इसराइललाई छ। त्यसैले भरसक युद्धबाटै इरानका आणविक भट्टी ध्वस्त पार्न र सदाका लागि आणविक हतियार कार्यक्रम रोक्न चाहन्छ।
त्यसो गर्न सजिलो भने छैन।
इसराइलले पछिल्ला केही दिनमा इरानको नतान्ज लगायत अन्य केही ठाउँका आणविक भट्टीमा प्रहार गरेर नोक्सान पुर्याएको छ। तर फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाएको भट्टीमा नोक्सानी पुर्याउन सकेको छैन।
आणविक हतियार प्रयोग नगरी सो भट्टी ध्वस्त पार्ने क्षमता विश्वमा अमेरिकासँग मात्रै भएको मानिन्छ। त्यसका लागि अमेरिकासँग रहेको झन्डै १४ टनको जिबियू–५७ भनिने सबभन्दा ठूलो बम प्रयोग गर्नुपर्ने मानिन्छ। त्यो बम पनि एउटाले हुँदैन। लगातार एकै ठाउँमा धेरै वटाले प्रहार गरेर मात्रै भट्टी ध्वस्त पार्न सकिने विज्ञहरूले बताएका छन्।
सो बम बोक्न सक्ने बमवर्षक विमान पनि इसराइलसँग छैन। अमेरिकासँग भएको अत्याधुनिक बी–२ बमवर्षक विमानले मात्रै बोकेर प्रहार गर्न सक्छ। त्यसैले इसराइलले अमेरिकालाई फर्दोको भट्टी ध्वस्त पार्न मद्दत मागिरहेको छ। त्यही भट्टीमा मात्रै प्रहार गरे पनि प्राविधिक रूपमा अमेरिका युद्धमा सहभागी हुनेछ। त्यसैले ट्रम्प के गर्ने भनेर दुबिधामा थिए। तर उनले विस्तारै युद्धमा सहभागी हुने मनस्थिति बनाएको देखिन्छ।
गत साता इसराइलले इरानमा हमला गरेपछि पनि ट्रम्पले सुरूमा आइतबार हुने भनिएको अमेरिका–इरानको अर्को चरणको वार्ता नरोकिने आशा गरेका थिए। तर इरानले वार्तामा भाग नलिने भन्यो। यसपछि ट्रम्पले इरानलाई अझ धेरै क्षति बेहोर्नुअघि नै वार्तामा बस्नु भन्दै पटक पटक धम्की दिए।
ट्रम्पले इसराइलले इरानी सर्वोच्च नेता आयातुल्लाह अली खमेनीको हत्या गर्न लाग्दा आफूले रोकेको पनि भन्दै आएका छन्। उनले इरान वार्तामा बस्दा उसलाई फकाउन वा डर देखाउन पनि यसो भनेका हुन सक्छन्।
तर पछिल्लो दिनमा इसराइलले हासिल गरेको सफलताका कारण उनले कूटनीतिक छाडेर बल प्रयोग गर्ने निर्णय लिन लागेको देखिन्छ।
***
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)