प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले निजामती सेवा विधेयक प्रतिनिधि सभा बैठकको कार्यसूचीबाट हटाइएकोप्रति आपत्ति जनाएको छ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अघिल्लो बैठकमा निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची रहेको तर आजको बैठकको कार्यसूचीमा सो विषय उल्लेख नरहेको भन्दै विरोध जनाएका हुन्।
'हामीले यीसँगै अरू विधेयकहरूलाई पनि यथाशीघ्र पारित हुने परिस्थिति निर्माण होस् भनेर बैठक अगाडि बढाउने सहमति गरेका हौं,' उनले भने, 'निजामती सेवा विधेयक बैठकको कार्यसूचीमा राखियोस्।'
उनले सरकारले विधेयकहरू चाँडै पारित गर्ने भने पनि व्यवहारमा अर्कै देखाएको बताए।
मंगलबारको बैठकको कार्यसूचीमा उक्त विधेयक पारित गर्ने बुँदा उल्लेख थियो।
सो दिन बैठक नबसी सूचना टाँस गरेर बिहीबार सम्मका लागि स्थगित गरिएको थियो।
निजामती सेवा विधेयकको कुलिङ पिरियडको विषयमा सत्तासाझेदार दलहरू नेकपा (एमाले) र कांग्रेसबीच नै एकमत छैन।
संसदीय समितिले भने २ वर्षको कुलिङ पिरियडमा सहमति गरेर विधेयक प्रतिनिधि सभामा पठाएको थियो।