दुई वटा सञ्चार माध्यमविरूद्ध नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा दायर गरेको निषेधाज्ञाको निवेदन अदालतले खारेज गरिदिएको छ।
बिहीबार जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले श्रेष्ठको निवेदन खारेज गरेको बिजमाण्डुका सम्पादक विज्ञान अधिकारीले जानकारी दिए।
‘सन्तोषनारायण श्रेष्ठको निषेधाज्ञाको निवेदन खारेज भएको छ,’ अधिकारीले सेतोपाटीसँग भने, ‘थप आदेश आइसकेको छैन।’
जिल्ला अदालतको यो आदेशसँगै बिजमाण्डु र नेपालखबरले यसअघि प्रकाशित समाचार अब हटाउन नपर्ने भएको छ।
नेपालखबर र बिजमाण्डुमा समाचार प्रकाशित भएपछि समाचारले आफ्नो प्रतिष्ठामा आँच पुगेको भन्दै श्रेष्ठ अदालत गएका थिए।
उनको निवेदनमा जेठ २७ मा एकपक्षीय सुनुवाइपछि न्यायाधीश पिताम्बर शर्माको इजलासले श्रेष्ठबारे प्रकाशित समाचार हटाउन र थप समाचार नलेख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
न्यायाधीश मौर्यको इजलासले निवदेन नै खारेज गरिदिएपछि यसअघिको अल्पकालीन अन्तरिम आदेश स्वतः निष्क्रिय भएको छ। यसअघिको आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा बुधबार र बिहीबार दुई दिनसम्म सुनुवाइ चलेको थियो।
अदालतले प्रकाशित भइसकेको समाचार हटाउन भन्दै यसअघि दिएको आदेशको सर्वत्र आलोचना भएको थियो। अदालतको आदेशले प्रेस स्वतन्त्रताको आधारभूत मान्यतामाथि नै प्रहार गरेको भन्दै नेपाल पत्रकार महासंघसहितका प्रेस सम्बद्ध संस्थाहरूले चिन्ता प्रकट गरेका थिए।